काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा चिकित्सा शिक्षा अध्यादेश जारी भएको छ । मन्त्रीपरिषद बैठकले पारित गरेर राष्ट्रपति कार्यालयमा पुर्याएको लामो समय सम्म पनि अध्यादेश जारी नभएको भन्दै आलोचना भईरहेका बेला शुक्रबार उक्त अध्यादेश जारी भएको हो ।
सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्ने पहल गरे पनि पारित नहुँदै संसदको आयु सकिएपछि सरकारले उक्त विधेयकलाई अध्यादेश मार्फत जारी गर्ने निर्णय गरेको थियो ।
काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने अध्यादेशमा उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।
यसले गर्दा एमालेका नेताहरुको लविङ्मा अघि बढाइएको मनमोहन मेडिकल कलेजको सम्बन्धनको बाटो बन्द भएको छ । यस्तै पूर्वाधारविनै सञ्चालनमा रहेको नेशनल मेडिकल कलेजको सम्बन्धनको प्रकृया पनि रोकिएको छ ।
अध्यादेश जारी भएसँगै अब नयाँ मेडिकल कलेज खोल्न नयाँ आयोग बनाउनु पर्नेछ र त्यसले तोकेका सिमा र शर्त पुरा गरेपछि मात्रै सम्बन्धन दिइनेछ ।
उक्त अध्यादेश अब बन्ने संसदले ६ महिना भित्र पारीत गर्नु पर्छ । उक्त अवधिमा पास हुन सकेन भने स्वत खारेज हुनेछ ।
गत कात्तिक ६ गते बसेको मन्त्रीपरिषदको बैठकले पास गरेको उक्त अध्यादेश जारी गर्न ढिलाइ भएपछि मेडिकल शिक्षाको बेथिती विरुद्ध आन्दोलनरत डा गोविन्द केसीले बिहीबार मात्रै प्रधानमन्त्री शेरवबहादुर देउवालाई भेटेर असन्तोष ब्यक्त गरेका थिए ।
प्रतिक्रिया