Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

जिशिअको कक्षबाटै ल्यापटप गायव !

आइतबार, २६ कार्तिक २०७४

काठमाडौं - जिल्लामा सञ्चालित विभिन्न योजना र कार्यक्रमहरुबारेमा अनुगमन गर्न पुगेको शिक्षा मन्त्रालयका अनुगमनकर्ताको ल्यापटप जिल्ला शिक्षा अधिकारीको कार्यकक्षबाटै गायव भएको छ ।

शैक्षिक सत्र २०७४/७५ मा शिक्षा क्षेत्रमा गैरसरकारी संस्थाहरुबाट सञ्चालित कार्यक्रमहरुको अनुगमन गर्न मन्त्रालयबाट महोत्तरी पुगेको टोलीको ल्यापटप जिशिअ ठूलोबाबु दाहालको कार्यकक्षबाटै गायब भएको हो ।

अनुगमनका लागि मंसिर ८ गते महोत्तरी जिशिका पुगेका मन्त्रालयको कार्यक्रम अनुगमन समन्वय शाखाका उपसचिव प्रेमराज खरेल र शाखा अधिकृत हीरालाल तुलाधरले बोकेको ब्याग सहितको ल्यापटप कार्यकक्षबाटै हराएको उनीहरुले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीहरुलाई उचित कार्य जिम्मेवारी नदिने जिशिकाको कमजोरी र जिम्मेवारी पाएका कर्मचारीले उचित कार्य सम्पादन नगरेका कारण कार्यालय सञ्चालन चुस्त नभएको उक्त प्रतिवेदनमा उल्लेख छ ।  

‘कार्यालय सहयोगीहरुलाई उनीहरुको काम कर्तव्य अनुसारको कार्यालयको सरसफाइ, कार्यालयका सामानको सुरक्षा जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा रही सेवाग्राहीलाई सेवा सुविधा उपलब्ध गराउने साथै कार्यालयमा आउने जाने मानिसहरुको क्रियाकलापमा रखेदेख जस्ता जुन प्रयोजनका लािग परिचालन गर्नुपर्ने हो सो भएको देखिएन । उल्टै दर्ता चलानी गराउने जस्ता कार्यमा संलग्न गराउँदा कार्यालयको सुरक्षा कमजोर देखिन्छ । यसबाट शाखा फाँटहरुमा कार्यालय तथा व्यक्तिगत सामानहरुका अत्यधिक चोरी हुने बुझिन आयो । यसैक्रममा अनुगमनकर्ताका ल्यापटपसहितको ब्याग जिल्ला शिक्षा अधिकारीको कार्यकक्षबाट गायब हुनु पनि उक्त समस्याको प्रत्यक्ष प्रमाणको रुपमा लिन सकिन्छ ।’ उनीहरुले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअलावा प्रतिवेदनमा जिशिका परिसर अव्यवस्थित रहेको पनि जनाएको छ । आफ्नो कार्यालयबाट विभिन्न सामान हराउने गरेको आफूलाई थाहा नभएको बताउँदै जिशिअ ठूलोबाबु दाहालले अनुगमनकर्ताकै ब्याग हराउनु लज्जास्पद विषय भएको बताए । उनले अनुगमन भएको दिन आफू कार्यालयमा नभएको जानकारी दिए ।

‘झोला हराएको रहेछ, म पनि थिइँन, सबैको एक्सेस भएको ठाउँ, विभिन्न खालका मान्छेहरु आउँछन्, कार्यालयबाटै हराउनु दुःखपूर्ण छ ।’ जिशिअ दाहालले भने ।

प्रतिक्रिया