काठमाडौं - कार्यालयको मुल ढोकामा अनसन बसेका विद्यार्थीको आन्दोलनको सम्बोधन आफ्नो क्षेत्राधिकारमा नपर्ने शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ ।
शिक्षा ऐन संशोधन तथा अस्थायी शिक्षक ब्यवस्थापनका लागि भएको विज्ञापनको विरोधमा विद्यार्थीले आईतबार देखि अनसन शुरु गरेका छन् । तर उक्त माग आयोगले पुरा गर्न नसक्ने आयोगका अध्यक्ष ताना गौतमले बताए ।
आयोगले गरेको विज्ञापन फिर्ता गर्न दिएको २४ घण्टे अल्टिमेटम पुरा भएपछि तालाबन्दीमा उत्रिएका विद्यार्थीले लगाएको ताल्चा प्रशासनको सहयोगमा फोडेपछि आक्रोशित विद्यार्थी रातभर अनसनमा बसे ।
पढ्नुहोस् : चिसो रातमा विद्यार्थीको अनसन
तर उनीहरुको आन्दोलन उपयुक्त स्थानमा नभएको अध्यक्ष गौतम बताउँछन् ।
'प्रचलित ऐनको पालना गर्ने हाम्रो जिम्मेवारी हो, हामी सोही अनुसार अघि बढेका हौं' एडुखबरसंग उनले प्रश्न गरे, 'यो विषयमा आयोग पुच्छर हो टाउको अन्तै छ, टाउकोले पुच्छर हल्लाउने की पुच्छरले टाउको ?'
उनले टाउको भनेर के संकेत गर्न खोजेका हुन् स्पष्ट पार्न चाहेनन् । तर पनि उनको संकेत मन्त्रालय अर्थात् सरकार तर्फ भएको बुझ्न कठिन छैन । किन भने शिक्षा ऐन जारी गरेको शिक्षा मन्त्रालयले हो, पारित गरेको संसदले हो ।
अहिले त उक्त विषय अदालत सम्म पुगिसकेको छ ।
पढ्नुहोस् : शिक्षा ऐन संशोधन विरुद्ध मुद्धा दायर
ऐन संशोधनका विरुद्धमा अदालतमा मुद्धा परिसकेको अवस्थामा आयोगले विज्ञापन गर्नु बलमिच्याँई भएको आन्दोलनरत विद्यार्थीको तर्क छ ।
मुद्धाका सन्दर्भमा आयोगका अध्यक्ष गौतमले अदालतमा पुगेको विषयमा नबोल्ने भन्दै कुनै प्रतिकृया दिएनन् ।
यस अघि पेशी तोकिएर पनि २ पटक सम्म सुनुवाई नभएको उक्त मुद्धा मंगलबार संवैधानिक ईजलासमा पेशी तोकिएको छ । त्यसैले यसको टुङ्गो अदालतको फैसला पछि मात्रै लाग्ने देखिन्छ ।
आन्दोलनरत विद्यार्थी पनि पहिलो चरणमा मंगलबारको फैसला सम्म कुर्ने निश्कर्षमा पुगेका छन् ।
विभिन्न कारणले गएको पुष देखि बस्न नसकेको संवैधानिक ईजलास मंगलबार बस्दै छ । जुन दिन यो मुद्धामाथि छलफल हुने छ ।
विषयको गाम्भिर्यतालाई ध्यानमा राखेर यो विषयले ईजलासमा महत्व पाएको मुद्धा दायर गरेका अधिवक्ता ज्योती बानियाँले बताए ।
प्रतिक्रिया