काठमाडौं - सत्तारुढ र प्रमुख विपक्षी दल निकट तीन विद्यार्थी सँगठनले शिक्षा ऐन विरुद्ध जारी शिक्षा शास्त्र संकायका विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । विद्यार्थीले शिक्षक सेवा आयोगमा धर्ना सहित अनसन शुरु गरेको तीन दिन पछि बल्ल मुख्य दलका विद्यार्थी संगठनले उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै वार्ताको माध्यामद्धारा समस्या समाधान गर्न माग गरेका हुन् ।
सत्तारुढ काँग्रेस निकट नेपाल विद्यार्थी सँघका अध्यक्ष नैनसिंह महर, सत्ताधारी दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ् र प्रमुख प्रतिपक्षी दल एमालेको विद्यार्थी सँगठन अनेरास्ववियुका अध्यक्ष नविना लामाले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यवद्धता जनाएका हुन् ।
यस अघि संसदले ऐन पारित गरिसकेपछि बल्ल झारा टार्ने पारामा आन्दोलनमा उत्रिएका उनीहरुको गतिविधि पछिल्लो समय शुन्य थियो । अस्थायी शिक्षक समस्या समाधानका नाममा शिक्षा ऐनमा गरिएको नवौं संशोधनले आफूहरुको शिक्षक बन्ने चाहनामा कुठाराघात भएको निष्कर्ष निकाल्दै लामो समय देखि आन्दोलनमा उत्रिएका शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीको प्रदर्शनमा उनीहरुको सहभागिता थिएन । केही समय प्रदर्शन गरेर उनीहरु सेलाएका थिए ।
आफूहरु चुनावको वातावरण तयार गर्न ब्यस्त हुँदा यस तर्फ ध्यान दिन नसकेको भन्दै उनीहरुले लाज बचाउने प्रयास गरेका छन् ।
'युगान्तकारी परिवर्तनलाई संस्थागत गर्दै स्वास्थ्य, शिक्षा र रोजगार जस्ता मौलिक हकको कार्यान्वयन सहित स्थिर सरकार, पुर्वाधार विकास र आर्थिक समृद्धिका लागि निर्वाचन प्रकृयमा सहभागी बन्न आम मतदातालाई अपील गर्दै हामी विद्यार्थी संघ संगठनहरु निर्वाचनको वातावरण तयार गर्न लागि परेको कुरा विदितै छ' यीन्ताका सम्म चुप बसेको कुराको बचाउ गर्दै विज्ञप्तिमा भनिएको छ ।
तै पनि विद्यार्थीको आन्दोलन र चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको प्रवेश परीक्षाको विषयमा गम्भिर ध्यानाकर्षण भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
'शिक्षा ऐन नवौं संशोधनका विरुद्ध आन्दोलनरत शिक्षा शास्त्रका विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दछौं, साथै आन्दोलनरत विद्यार्थीहरुको मागलाई वार्ताको माध्यामद्धारा यथाशिघ्र सम्बोधन गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्छछौं' विज्ञप्तिमा भनिएको छ, 'चिकित्सा शास्त्र अध्ययन संस्थानले यस शैक्षिक सत्रमा लिएको प्रवेश परीक्षामा उत्पन्न गम्भीर त्रुटीलाई सच्याउँदै तत्काल पुन परीक्षाको मिति तोक्न माग गर्दछौं । साथै उक्त परीक्षाको छानवीन गरी दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी परीक्षाको मर्यादा कायाम गर्न पनि माग गर्दछौं ।'
आफूहरुले उठाएका माग अविलम्ब सम्बोधन गर्न उक्त विज्ञप्ति मार्फत तिन विद्यार्थी संगठनले माग पनि गरेका छन् ।
प्रतिक्रिया