काठमाडौं- शिक्षा ऐन–२०२८ को नवौं संशोधन भएकोमा आपत्ती जनाउँदै शिक्षक सेवा आयोगमा अनसन बसिरहेका विद्यार्थीलाई विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले साथ दिने आश्वासन दिएका छन् ।
शिक्षाको नवौं संसोधनसँगै संयुक्त आन्दोलन थाले पनि विभिन्न कारण आन्दोलनबाट ‘पछि हटेका’ विद्यार्थी संगठनले स्वतस्फूर्त रुपमा उठेको विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्दै ऐक्यवद्धता जनाए ।
शिक्षा ऐनको नवौं संसोधनले शिक्षामा दुर्दशा ल्याउने निश्कर्षसहित देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा गठन भएको विद्यार्थी संघर्ष समितिलाई नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले साथ दिने आश्वासन आज अनसनस्थलमै गएर दिएका हुन् ।
विद्यार्थीले गरेको आन्दोलन र विद्यार्थीले उठाएको माग सही भएको निश्कर्ष निकाल्दै ऐक्यवद्धता जनाउन गएका तीनवटै दल निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्यदेखि अध्यक्षसम्मले शिक्षा ऐन संसोधनविरुद्ध आन्दोलन गर्नमा आफूहरु पछाडि परेको स्वीकार्दै ‘बाध्यता’ले आन्दोलनलाई अघि सार्न नसकेको बताए ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आन्दोलनलाई सम्बोधन गर्दै भनिन्, ‘दशैंतिहार र चाडपर्व भएको र देश प्रदेश र प्रतिनीधि सभाको चुनावमा गएकाले विद्यार्थीले आन्दोलन गर्न चाहँदाचाहँदै पनि संगठनले आन्दोलन गर्न सकेन, तर यो स्वतस्फुर्त बढेको आन्दोलनलाई हाम्रो संगठनको पूर्ण समर्थन छ ।’
उनीहले सार्वजनिक शिक्षालाई ध्वस्त बनाउनका लागि आफूहरुको मातृपार्टीका नेताहरु लागेको बताउँदै शिक्षाको नवौं संसोधनलाई खारेज गराएरै छाड्ने पनि बताएका छन् ।
‘यो आन्दोलन तपाइँहरुको मात्र होइन हामी परिस्थितिले भौतिक रुपमा सहभागी हुन सकेनौं ।’ भनेर अनेरास्ववियु अध्यक्ष लामाले भने पनि कुन परिस्थिति भनेर भने उल्लेख गरिनन् ।
आन्दोलनलाई नेपाल विद्यार्थी संघको पूर्ण साथ भएको बताउँदै संघका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले नेपाली काँग्रेसका शिक्षामन्त्रीले ल्याएको संसोधन भएपनि त्यसको प्रतिकारमा आफूहरु लाग्ने उल्लेख गरे । ‘राष्ट्रपति घात र विद्यार्थीलाई धोका दिने खालको शिक्षा संसोधन जसले ल्याएको भए पनि यो घातक छ, यसलाई हामी खारेज गराउने पक्षमा छौं ।’ उनले भने ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पनि आन्दोलनलाई सफल बनाउने अभियानमा आफ्नो संगठनको पनि साथ रहेको दोहोर्याए । उनले शिक्षामन्त्रीले शिक्षा मन्त्रालयलाई अस्थायी शिक्षक मन्त्रालयको बनाउन खोजेको आरोप लगाए ।
विद्यार्थीको अनसनलाई बल दिन आएका ती विद्यार्थी नेताहरुले विद्यार्थी आन्दोलनका बाबजुद पनि शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमै आन्दोलन केन्द्रीत गर्ने चेतावनी पनि दिए । उनीहरुले विज्ञापन तत्कालै खारेजीको माग गर्दै खुला प्रतिस्पर्धा गर्न आतुर विद्यार्थीको मनोभावना शिक्षामन्त्रीले बुझ्नुपर्नेमा जोड दिए ।
विद्यार्थीको उक्त आन्दोलनलाई प्राज्ञिक विद्यार्थी परिषद् मञ्चका अध्यक्ष रुपेशसिँह बोहरा, नेविसंघ त्रिविका सम्झना खत्री, विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्माले पनि सम्बोधन गरेका थिए ।
प्रतिक्रिया