Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

निर्वाचन आयोगद्धारा शिक्षक माथि निगरानी, प्रधानाध्यापकसँग स्पष्टिकरण माग

बुधबार, ०६ मंसिर २०७४

काठमाडौं - चुनाव प्रचार प्रसारमा लाग्ने शिक्षकहरु प्रति निर्वाचन आयोगले निगरानी शुरु गरेको छ । निर्वाचन आचार संहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसार प्रसारमा सहभागी हुने शिक्षकको संख्या बढेसँगै आयोगले निगरानी बढाएको हो ।

सोही क्रममा बुधबार आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, वानेश्वरकी प्रधानाध्यापक डा. गीता शिवाकोटी खरेलसँग स्पष्टिकरण सोधेको छ । काठमाडौं क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा मत मागिरहेको श्रव्य दृश्य सामग्री युट्युव मार्फत सार्वजनिक भएपछि आयोगले दुई दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

'निर्वाचन आचार संहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसार प्रसारमा सहभागी भएका कारणले उहाँलाई आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो' आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'यहाँ जस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले यसरी कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने कार्य निर्वाचन आचार संहिता विपरीत देखिएको हुँदा तपाईलाई निर्वाचन आचार संहिता उल्लंघन गरेवापत कारबाही किन हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २ (दुई) दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।'

यसैविच मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७ गते बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुने छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसार प्रसार जारी रहने भएकाले पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचार जन्य सामग्रीबाट पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया