Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

विद्यालयमै चुनावी सभा !

आइतबार, १० मंसिर २०७४

ललितपुर - विद्यालयमा राजनीतिक गतिविधि गर्न वञ्देज लगाईए पनि गोटीखेल स्थित महाँकाल माध्यमिक विद्यालयमा नेपाली काँग्रेसले चुनावी सभा गरेको छ । शनिबार आयोजित उक्त चुनावी सभामा क्षेत्र नम्बर १ का उम्मेद्वार उदयशम्सेर राणाले सम्बोधन गरेका थिए ।  

विभिन्न क्षेत्रबाट आएका काँग्रेस कार्यकर्ताले विद्यालय भरिएको थियो । उनीहरुले विद्यालयमा नाचगान र नारावाजि समेत गरेका थिए ।

विद्यालयमा राजनीतिक गतिविधि गर्न वञ्देज लगाईएको छ । तर सत्ताधारी दलले नै विद्यालयमा चुनावी सभा गरेर कानूनको खिल्लि उडाएको छ । त्यसमाथि बहालवाला मन्त्रीकै चुनावी सभा विद्यालयमा हुनुले कानून कार्यान्वयनमा राज्य कुन हद सम्म कमजोर छ भन्ने कुराको पुष्टि गरेको भन्दै स्थानीय अभिभावकले आपत्ति जनाएका छन् ।

'विद्यालय शान्ति क्षेत्र हो, विद्यालयमा राजनीतिक कार्यक्रम गर्न हुन्न भन्ने कुरा त सुनिएको थियो, तर मन्त्री जीकै कार्यक्रम भएसी कसले के बोल्नु ?' स्थानीय एक अभिावकले भने, 'जसले कानून कार्यान्वयन गर्नु पर्ने हो उसैले उलंघन गरेपछि अरुलाई के भन्नु ?' राणा अर्थ राज्य मन्त्री हुन् ।

२०२० सालमा स्थापना भएको उक्त विद्यालय भारतीय दुतावासको १ करोड ६७ लाख सहयोगमा पुर्ननिर्माण गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमसेन घिमिरे नेपाली काँग्रेस जिल्ला समितिका सचिव हुन् । सबैले विद्यालयमै कार्यक्रम गर्ने चलन चलिआएकोले कार्यक्रम गरिएको उनले बताए । गाउँमा अन्य खुल्ला ठाउँ नभएकोले विद्यालयसँग जोडिएको खेलकुद मैदानमा यस्ता कार्यक्रमहरु गरिने उनको भनाई छ ।  

'जसका पनि कार्यक्रम गर्ने ठाउँ यहीँ हो' उनले भने, 'यो विद्यालयको मात्रै हैन सार्वजनिक ग्राउण्ड हो, यहाँ कार्यक्रम गर्न मिल्छ ।' विद्यालयका प्रधानाध्यापक केशव घिमिरे पनि काँग्रेस निकट हुन् ।

गोटीखेलका श्रोत ब्यक्ति योगनिधि तिमिल्सिना विदाको दिन भएकोले उक्त कार्यक्रमले विद्यार्थीको पठनपाठनमा कुनै असर नपरेको तर्क गर्छन् ।

'म पनि कार्यक्रमको अन्तिम तिर पुगेको थिएँ, स्कुलको तल्लो ग्राउण्डमा कार्यक्रम भएको थियो' उनले भने, 'पठन पाठन नभएको दिन भएकोले विद्यालयमा खासै केही असर भएको मैले देखिन ।'

तर विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्नु पर्ने ब्यवस्था सहित सरकारले निर्देशिका समेत जारी गरेको छ ।

सशस्त्र द्वन्द्वकालमै गैरसरकारी क्षेत्रबाट विद्यालय शान्ति क्षेत्रको अवधारणा उठाइए पनि २०६८ साल जेठ ११ मा सरकारले ‘विद्यालयलाई शान्ति क्षेत्र’ घोषणा गरी कार्यान्वयन निर्देशिका समेत जारी गरेको छ ।
उक्त अवधारणामा विद्यालयलाई शसस्त्र गतिविधि र अन्य हिँसाबाट मुक्त राख्ने, विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने र विद्यालयलाई भेदभाव, दुव्र्यवहार, वेवास्ता र शोषणबाट मुक्त राख्ने उल्लेख छ  ।

उक्त अवधारणा कार्यान्वयन गर्न नेपाली काँग्रेस सहित विभिन्न राजनीतिक दलले प्रतिवद्धता समेत जनाईसकेका छन् ।  तर, यसको कार्यान्वयनको अवस्था भने फितलो र चुनौती पूर्ण छ ।

प्रतिक्रिया