काठमाडौं - मंसीर विवाहको लगनको महिना हो । ७ गतेको विहेको लगन सकियो भने १२ मंसीरदेखि २५ सम्म थप ४ वटा लगन बाँकी छ । त्यसपछि माघमा २४ गते विहेको एउटा मात्रै लगन जुरेको छ भने यो वर्षको विहेको लागि अन्तिम लगन भएको महिना फागुन हो । फागुनमा ८ वटा विहेको लगन छ । त्यसो त वडादशैंको टिका अर्थात विजयादशमीको साइत पारेर कति जोडीले घरजम नै शुरु गरिसकेका छन् ।
विहेको लगन या साइत जुर्नेहरुका लागि पति पत्निसंगै नयाँ घरबार शुरु हुन्छ । अपवाद वाहेक उनीहरु र उनीहरुका घरपरिवार विहेबारीमा खुसी नहुने कुरै हुँदैन । तर विहेको लगन या विहेको मौसममा दुःखी हुनेहरु पनि छन् भन्दा अचम्म लाग्न सक्छ । विहेको मौसममा दुःखी हुने चाँहि महिला शिक्षकलाई रोजगारी दिँदै आएका निजी विद्यालय र कलेज सञ्चालकहरु हुन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
कारण के हो भने विहेको मौसममा विद्यालयमा पढाइराखेका महिला शिक्षकहरु विहेगरी नयाँघरमा प्रवेश गरेसंगै उनीहरु शिक्षण पेशा छाड्न वाध्य हुने गरेको ले नै हो । ‘करीव एक सय जना महिला शिक्षक मध्ये विहेपछि अध्यापनमा फर्किने २५ प्रतिशतमात्रै हुन्छन्, ७५ प्रतिशत त घरमै बस्छन्’ - विद्यालय सञ्चालकहरु गुनासो गर्छन् ।
नयाँ शैक्षिक सत्रको शुरुका तीन महिना अर्थात विहे हुने लगन भएको महिनाहरु बैशाख, जेठ र असारमा विहे गर्ने महिला शिक्षकहरुलाई विद्यालय या कलेज सञ्चालकहरु जसरी सजिलोसंग विदा दिन राजी हुन्छन्, शैक्षिक सत्रको अन्तिम ताका अर्थात विहेको लगन भएका मंसीर, माघ र फागुनमा विहेको लागि विदा दिन कठिन ठान्छन् ।
पुरुष शिक्षकहरु विहेको लागि केही दिन विदा लिएतापनि उनीहरु फेरी काममा फर्किने गरेका छन्, जवकि महिला शिक्षकहरु भने पारिवारिक कारणले विवाहमा भित्रिएको नयाँघरबाट शिक्षणका लागि जाने अनुमति कमैमात्र पाउँछन् । जसले गर्दा विद्यालय र विद्यार्थी दुवैलाई घाटा हुने गरेको विद्यालय सञ्चालक गुनासो गर्छन् ।
भक्तपुर स्थित एक निजी विद्यालयका संस्थापक भुवनलाल श्रेष्ठ भन्छन् ‘शैक्षिक सत्रको अन्त्यताका विहेको कारण शिक्षिकाहरुले विद्यालय छोड्दा उनको ठाउँमा नयाँ शिक्षक पाउन कठिन हुन्छ ।’
हरेक वर्ष दोहोरिराख्ने यस्ता समस्याका कारण पठनपाठनमा समस्या देखिन थालेपछि विवाहिता महिला शिक्षकलाई मात्रै रोजगारी दिन थालेको उनी बताउँछन् । राजधानीको शान्तिनगरस्थित एक निजी विद्यालयका प्रिन्सिपल राजु राई पनि विहेको लगन भएको महिनामा कुनै महिला शिक्षकले पढाउन छोडेर विहे गर्नतिर लाग्छन् कि भन्ने चिन्ता लाग्ने गरेको बताउँछन् ।
नगर भन्न पनि नमिल्ने, तर विहेका कारण शैक्षिक सत्रको अन्त्यतिर कक्षाको अन्तिम परीक्षा सञ्चालन हुने समयमा नयाँ योग्य र अनुभवी शिक्षक पाउन समस्या हुने राई बताउँछन ।
टिकाथलीस्थित एक स्कुलकी संस्थापक प्रिन्सिपल सत्यवती थापा राना पनि अध्यापनमा दत्तचित्त भएर लाग्ने महिला शिक्षकहरु विहेपछि जागीर छोड्नेमात्रै नभई पहिलो या दोस्रो बच्चा जन्माउने बेलामा पनि ३/४ महिना गर्भवती र सुत्केरी विदा बस्नुपर्ने कारणले गर्दा अध्यापनमा निकै समस्या हुने गरेको बताउँछिन् ।
आफू पनि महिला नै भएता पनि विद्यालय सञ्चालकको रुपमा हेर्नुपर्दा विद्यार्थीको पठनपाठनलाई पहिलो प्राथमिकता दिनुपर्ने आफ्नो वाध्यता रहेको उनी बताउँछिन । ‘त्यसैले अविवाहिता र गर्भवती शिक्षिका विद्यालयको लागि अप्ठेरो विषय हो’ - उनी भन्छिन् ।
फोटो : ईण्टरनेट
प्रतिक्रिया