Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

अस्थायी शिक्षक स्थायी भए खुलाबाट स्थायी हुनेलाई अन्याय

सोमबार, ११ मंसिर २०७४

काठामाडौं - अस्थायी शिक्षक व्यवस्थापनबाट स्थायी शिक्षकलाई मार पर्ने भन्दै केही स्थायी शिक्षकहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठको ध्यानाकर्षण गरेका छन् ।

उनीहरुले अस्थायी शिक्षक व्यवस्थापनको नाममा अस्थायी शिक्षकलाई पटक पटक सहुलियत दिई खुला प्रतियोगिताबाट स्थायी हुनेलाई अन्याय गरेको निष्कर्ष निकाल्दै शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न पनि आग्रह गरेका छन् ।

अस्थायी शिक्षक ब्यवस्थापनबाट पीडित शिक्षकहरुका नामबाट फेसबुक मार्फत् 'क्याम्पियन' शुरु गरेका उनीहरुले शिक्षामन्त्री श्रेष्ठलाई आफूहरुलाई परेको मर्काको विषयमा ध्यानाकर्षण गराएका हुन् । शिक्षा ऐनको नवौं संशोधनको आधारमा अस्थायीलाई स्थायी गरे ती शिक्षक मात्र चाँडै बढुवा हुने साथै पछिल्ला विज्ञापनहरुमा खुला प्रतियोगितामा छनौट भएका हजारौं शिक्षकहरुलाई मर्का पर्ने भन्दै उनीहरुले ऐन संशोधन गर्न पनि माग गरेका छन् ।

'शिक्षा ऐन(२०२८) को नवौं संशोधनले शिक्षा क्षेत्रमा हलचल उत्पन्न गराएको विषय सबैलाई अवगतै छ । यो संशोधनले बजारमा अध्यापन अनुमति पत्र लिएर बसेका लाखौं सक्षम युवाहरुलाई पाखा लगाएको मात्र छैन, गुणस्तरीय शिक्षा पाउने बालबालिकाहरुको अधिकारको दायरालाई पनि संकुचन गरेको छ । यसले समग्र अभिभावक, विद्यार्थी, शिक्षाविद् तथा शिक्षित जनसमुदायाई हीनताबोध गराएको छ । सरल आन्तरिक परीक्षाको माध्यमबाट अस्थायी शिक्षकलाई स्थायी गरिने व्यवस्थाले सबैभन्दा बढी पेशागत र व्यवसायिक पीडा खुला प्रतियोगताबाट स्थायी भएका शिक्षकलाई परेको छ' उनीहरुले फेसबुक मार्फत् सार्वजनिक गरेको  ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।  

आफूहरुलाई परेको असर भन्दै शिक्षकहरुले दुईवटा वुँदा उल्लेख गरेका छन् ।

'शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २२,(क) अनुसार आयोगबाट हुने खुला प्रतियोगिताको पदपूर्तिमा अस्थायी शिक्षकलाई मात्र (अन्य प्रतिस्पर्धीले कूल पूर्णाङ्कमा १२ अंक कममै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको ) अनुभव वापत १२ अंक प्रदान गरिने व्यवस्था रहेको, जसले संविधान प्रदत्त समानताको हक कुण्ठित भएको र शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम, २९ अनुसार स्थायी भैसकेपछि पनि बढुवाका लागि अस्थायी सेवा वापत प्रत्येक वर्ष १ दशमलब २५ अंकका दरले अंक प्रदान गर्ने समेत व्यवस्था रहेको जसले स्थायीलाई प्रत्यक्ष नकारात्मक प्रभाव पारेको' भन्ने वुँदा उल्लेख गरेका छन् ।

उनीहरुको शिक्षा सचिव, विभाग सहित मन्त्रालय मातहतका अन्य निकाय र शिक्षक महासंघ तथा विद्यार्थी संगठनलाई पनि फेसबुक 'क्याम्पियन' मार्फत् नै बोधार्थ दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया