चितवन - क्याम्पस प्रशासनले कर्मचारीहरु माथि अत्याधिक कार्यबोझ थोपर्दै आएकोले कार्यसम्पादन गर्न नसकिने भन्दै वीरेन्द्र बहुमुखी क्याम्पसका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको अगुवाईमा आन्दोलन शुरु भएको हो ।
क्याम्पसमा त्रि.वि.बाट स्वीकृत नियमित कार्यक्रमहरु चलाउँदा ७५ भन्दा बढी कर्मचारी भएकोमा उमेर हद, दुर्घटना, सरुवा, बढुवा तथा स्वेच्छिक राजिनामा दिई कर्मचारीको संख्या दिनानुदिन घट्दै गइरहे पनि आफूहरु निजीस्रोतका कार्यक्रम चलाउन वाध्य भएको कर्मचारीको आरोप छ ।
कार्यलयीय प्रयोजनका लागि १६ जना, विभिन्न कार्यक्रम अन्र्तगत नियमित ३ र आन्तरिक १५ तथा पाले, चौकिदार एवं कुचिकार गरी क्याम्पसमा अहिले जम्मा ४९ कर्मचारी छन् ।
क्याम्पसले आन्तरिक स्रोतबाट सञ्चालन गर्ने भन्दै स्नातक तहमा ४ वर्षे वि.एड., विविएस, कम्प्युटर विज्ञान, माइक्रोबायोलोजी, जियोलोजी, एकवर्षे वि.एड., विसिए र स्नातकोत्तर तहमा एम.ए. अंग्रेजी, नेपाली, समाजशास्त्र, मानवशास्त्र, जनसंख्या अध्ययन, एमविएस, एम.एस्सी. भौतिकशास्त्र र रसायनशास्त्रसहित १५ वटा विषयहरुको अध्ययन अध्यापन कार्य सुरु गरे पनि सो वापत कुनै कर्मचारी दरबन्दी थप गर्न सकेको छैन ।
सो विषयहरु स्वीकृत दिँदा त्रि.वि. विषय शिक्षकहरुको व्यवस्था गर्ने तर कर्मचारीहरुको बारेमा कुनै पनि व्यवस्था नगरिदिँदा यो अवस्था आएको संघको क्याम्पस ईकाई समितिका अध्यक्ष महेन्द्रप्रसाद अधिकारीले बताए ।
'हाम्रा साथीहरु कार्यबोझ तथा क्याम्पस प्रशासनले अनाहकमा प्रेसर दिएर अफिसमा कार्य गर्दागर्दै मृत्यु हुने तथा आकस्मिक विरामी पर्दै आइरहेका छन् । कोही पनि कर्मचारी परीक्षा शाखामा बसेर कार्य गर्न इच्छुक छैन' उनले भने, 'शाखा प्रमुखले चार महिना अघि नै आफू सो शाखामा बसेर कार्य गर्न नसक्ने भनी क्याम्पस प्रमुखलाई लिखित पत्र दिए पनि क्याम्पसले सो सम्बन्धमा कुनै किसिमको व्यवस्था गर्न सकेको छैन ।'
पटक पटक क्याम्पस प्रशासनले कर्मचारीहरु राख्न त्रि.वि.बाट स्वीकृत भई आए पनि विभिन्न संघ संगठनले आआफ्ना कार्यकर्ता भर्ना गर्न खोजेकाले स्थगित हुँदै आइरहेको छ । सोही आन्दोलनका कार्यक्रम अनुसार कर्मचारीहरु क्याम्पसमा उपस्थित भए पनि सेवाग्राहीलाई सेवा प्राप्त नभएकाले क्याम्पसका विद्यार्थी संघ, संगठनहरुले विज्ञप्ती प्रकाशित गरी क्याम्पस र कर्मचारीबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेका छन् । कर्मचारीको ७२ घण्टे अल्टिमेटम र उक्त दबाब पछि क्याम्पस प्रमुख गोविन्द सापकोटाले दिउँसो वार्ताका कर्मचारीलाई बोलाएका थिए । तर विना निष्कर्ष वार्ता टुङ्गिएको संघ एकाइ समितिकी सचिव सविना पौडेलले जानकारी दिईन् ।
कर्मचारीहरुले नियमित तथा आन्तरिक स्रोतका कार्यहरु गर्दै आए वापत त्रि.वि.का अन्य क्याम्पस, कार्यालयहरुमा जस्तै ३० प्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने माग राखेका छन् । भत्ता बढाउन सहमत भई सहायक क्याम्पस प्रमुख कन्हैयालाल गुप्ताको संयोजकत्वमा ११ सदस्यीय भत्ता अध्ययन प्रतिवेदन कमिटी गठन गरेपनि उक्त समतिले कुनै काम गर्न सकेन ।
गत मंसिर २५ गतेदेखि नै उनीहरुको चरणबद्ध आन्दोलन शुरु भएको छ । जस अनुसार तीन सिफ्टमा काम गर्ने कर्मचारीहरु १० ५ बजेसम्म मात्रै कार्यालय उपस्थित हुने, हातमा कालोपट्टी बाँधी धर्ना दिने लगायतका कार्य सम्पन्न भईसकेका छन् ।
प्रतिक्रिया