काठमाडौं - शिक्षाविद् केदारभक्त माथेमा र मन प्रसाद वाग्लेले शिक्षा आयोग अन्र्तगत गठित विज्ञ समुहका तर्फबाट मंगलबार शिक्षा मन्त्रीलाई बुझाईएको मस्यौदाको विषयबस्तुमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् ।
सार्वजनिक शिक्षा ध्वस्त पार्ने गरी शिक्षा ऐनमा गरिएको नवौं संशोधनमा विरोध जनाउँदै यी दुई शिक्षाविद्ले उक्त आयोगको सदस्यबाट राजिनामा गरेका थिए । तर, मंगलबार बुझाईएको आयोगको कार्य प्रगती तथा प्रारम्भिक मस्यौदाको सिफारिसमा उनीहरुको नाम विज्ञ समुहको सदस्यका रुपमा उल्लेख गरिएको छ । यस बारेमा आफूहरुलाई कुनै जानकारी नभएको उनीहरुले एडुखबरलाई बताए ।
'मायाँ गरेर नाम राख्नु भएको होला नी त' माथेमाले ब्यङ्ग्यात्मक शैलीमा भने, 'सबै युवा जोश भएका ब्यक्तिहरु मिलेर काम गरेका छन्, पक्कै राम्रै गरेका होलान्, तर मेरो कुनै कन्ट्रिब्युसन छैन ।'
सार्वजनिक शिक्षा सुधारमा कुनै पनि राजनीतिक प्रतिवद्धता नदेखेर आयोगबाट अलग्गिएको बताउँदै उनले विज्ञ समूहको मस्यौदामा आफ्नो नाम राखेर मन्त्रीलाई बुझाएकोमा 'के भन्ने के नभन्ने अन्यौलमा परेको' समेत बताए । शिक्षा ऐनको नवौं संशोधनले सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै माथेमा र वाग्ले सहितका शिक्षाविद्ले उक्त संशोधन रोक्न राष्ट्रपतिलाई समेत ध्यानाकर्षण गराएका थिए ।
'लिखित रुपमै राजिनामा गरेको हुँ, जुन सार्वजनिक नै भईसकेको विषय छ, आयोगको स्टक्चरमै सहमती छैन, कण्टेण्टमा हुने कुरै भएन' वाग्लेले भने, 'शिक्षा सुधारका लागि गर्नु पर्ने काम ब्यक्तिगत रुपमा जारी नै छन्, तर उक्त आयोगका कुनै पनि बैठकमा मेरो संलग्नता छैन, उहाँहरुले किन नाम राख्नु भयो थाह छैन ।'
गत हप्ता मात्रै शिक्षामा कार्यरत विभिन्न ३ सय ३२ संस्थाहरुका तर्फबाट आयोगलाई बुझाईएको सुझाव वाग्लेले नै तयार पारेका हुन् ।
पढ्नुहोस् : शिक्षा आयोगलाई सुझाव
शिक्षा मन्त्रीको अध्यक्षतामा मन्त्रीका पीए, निजी क्षेत्रका ब्यक्ति सहित राजनीतिक पार्टिको भागवण्डाका आधारमा गत भदौ १९ गते ६५ सदस्यीय आयोग गठन भएको थियो । ५ महिना भित्र प्रतिवेदन पेश गर्ने गरी गठित उक्त आयोगको भदौ ३० गते बसेको पहिलो बैठकले आयोगका सदस्य रहेका शिक्षाविद्हरु समेटेर प्रा.डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा १५ सदस्यीय छुट्टै विज्ञ समुह गठन गरेको मन्त्रीलाई बुझाईएको मस्यौदामा उल्लेख छ ।
माथेमा, वाग्ले र कोइराला सहित उक्त समूहमा प्रा.डा.सुरेशराज शर्मा, डा. सुशन आचार्य, प्रा.डा.बासुदेव काफ्ले, प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. टंकनाथ शर्मा, प्रा.डा. विनय कुशियत, प्रा.डा.युवराज संग्रोला, प्रा.डा. लेखनाथ शर्मा, प्रा.डा. मिनबहादुर विष्ट, डा. पशुपति रेग्मी, ईञ्जिनीयर ध्रुवराज थापा सदस्य छन् । उक्त समूहको सदस्य सचिवमा आयोगका सदस्य सचिव तथा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल छन् ।
उक्त समूहले हाल सम्म गरेको कार्य र प्रारम्भिक वाल विकास देखि विश्वविद्यालय तह सम्मको शिक्षाका लागि सुझाव दिएको छ । सुझाव विभिन्न २१ बुँदामा उल्लेख छ ।
यो पनि पढ्नुहोस् : शत प्रतिशत अंक पाउने व्यक्ति मात्रै शिक्षक, बहालवालालाई दुई विकल्प
निजी र सार्वजनिक विद्यालय एक अर्काका पूरक, निजीका शिक्षकलाई समान मान्यताको सुझाव
प्रतिक्रिया