काठमाडौं - स्थानीय सरकारले गाउँपालिकाका वडाध्यक्षको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरेकोमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विरोध जनाएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका क्षेत्रका सबै विद्यालयका ब्यवस्थापन समिति विघटन गरी वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको घटना प्रति महासंघले विरोध जनाएको हो । संविधानले माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिए पनि स्थानीयतहहरुमा शिक्षा ऐन बनाउन छलफल चलिरहेको बेला हतारमा हस्तक्षेप गरेको भन्दै महासंघले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिकाले यही पुस तीनगते सबै विद्यालयका ब्यवस्थापन समिति विघटन गरी वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरेको थियो ।
'गाउँपालिकाका सबै विद्यालयहरुका विद्यालय ब्यवस्थापन समितिहरु विघटन गरि गाउँपालिकाको वडाध्यक्षको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्न औपचारिक पत्र मार्फत् हस्तक्षेपकारी निर्देशन दिईएको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ' उक्त ज्ञापन पत्रमा भनिएको छ, 'शिक्षा ऐन कानून र प्रदेश संगको कानूनी तालमेल प्रकृयामा नपुगी सिधै हुकुमी शैलीबाट विद्यालयहरुमा सिधै अतिक्रमण गर्ने प्रकृया ठाडै असंबैधानिक, कानुन विपरित र विद्यालयको गतिविधिमा पूर्ण अवरोध पुग्ने कार्यको थालनी भएको छ ।'
उक्त कार्यलाई 'गैह्र कानूनी' र 'अतिक्रमण शैली'को संज्ञा दिदैं महासँघका केन्द्रिय अध्यक्ष कृष्ण थापा र सिन्धुपाल्चोकका सचिव विष्णुप्रसाद सापकोटाले संयुक्त हस्ताक्षर गरी ज्ञापन पत्रबुझाएका हुन् ।
ब्यवस्थापन समितिको स्वायत्त अधिकारको संरक्षण गर्दै समितिलाई अधिकार सम्पन्न गराई अभिभावककै आधिकारिक भेलाबाट समिति गठन गर्न महासँघले माग समेत गरेको छ ।
गाउँपालिका वा नगरपालिकाका तोकिएका वडाध्यक्ष ब्यवस्थापन समितिको पदेन सदस्य हुने ब्यवस्था छ ।
प्रतिक्रिया