भक्तपुर - विद्यालयहरुमा कार्यरत कर्मचारीको बिवरण उपलब्ध गराउन शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ६ दिने म्याद दिएको छ ।
यस अघि पटक पटक निर्देशन दिए पनि अटेरी गरेपछि विभागले पुस १५ गते भित्र आआफ्नो जिल्लामा कार्यरत विद्यालय कर्मचारीको बिवरण उपलब्ध गराउन भनेको हो ।
शिक्षा ऐनको आठौं संशोधनले दरबन्दीमा कर्मचारी राख्ने ब्यवस्था गरेपछि उक्त ब्यवस्था कार्यान्वयन गर्न आवश्यक श्रोतको लेखा जोखा गर्न अर्थ मन्त्रालयले गत भदौ ५ गते कर्मचारीको यकिन बिवरण माग गरेको थियो । विद्यालय कर्मचारीलाई ६० बर्षे उमेर हद पछि अवकास हुँदा के कस्तो सुविधा दिने भन्ने बारेमा तय गर्न समेत अर्थ मन्त्रालयले उक्त प्रकृया शुरु गरेको थियो । तर, भदौ मसान्त सम्म कर्मचारी बिवरण उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएपनि सबै जिशिकाले उपलब्ध नगराएको विभागले जनाएको छ । त्यस पछि उक्त म्याद बढाएर असोज मसान्त सम्म थप गर्दा पनि बिवरण प्राप्त नभएपछि पुस १५ गतेका लागि म्याद तोकिएको विभागले जनाएको छ । यो अवधिमा पनि प्राप्त नभए जे जतिको प्राप्त हुन्छ त्यत्ति मात्रै प्रकृयामा पठाउने विभागले तयारी गरेको छ ।
यसरी बिवरण पठाउँदा कर्मचारीको नाम, शैक्षिक योग्यता सहित नियुक्ति भएको पद, मिति, तलव भत्ताको श्रोत र के कसरी सुविधा दिने गरी नियुत्तिः गरिएको हो सो कुरा स्पष्ट खुलाउन विभागले भनेको छ ।
विभागसँग भएको पछिल्लो तथ्याङ्क अनुसार विद्यालय कर्मचारीको संख्या १६ हजार ४ सय २० छ । यसमा कतिपयले जागिर छाडेको, कतिपय उमेरका कारण अवकाश भएको र कतिपयको निधन भईसकेकोले उक्त संख्या १० हजार हाराहारी मात्रै रहेको कर्मचारीका संघ संगठनका पदाधिकारी बताउँछन् ।
रामचन्द्र कुशवाह शिक्षा मन्त्री भएका बेला २०६६ सालमा विद्यालय कर्मचारी ब्यवस्थापन गर्न कर्मचारीका संघ संगठनहरुसँग सहमती भएको थियो । त्यस पछि कर्मचारीले सुविधा पाउने भए भन्ने बुझेर कतिपय विद्यालय ब्यवस्थापन समितिले अन्धाधुन्द कर्मचारी भर्ति गरेका कारण उनीहरुको संख्या के कति छ भन्ने यकिन हुन नसकेको हो ।
त्यसैले विभागले के कसरी सुविधा दिने गरी कहिले नियुत्तिः भएको हो सो कुराको यकिन गर्न तथ्याङ्क संकलन गर्न थालेको जनाएको छ ।
अहिले कार्यरत कर्मचारी मध्ये बर्षको रु. ११ हजार देखि महिनाको रु.११ हजार ५ सय तलब बुझ्दै आएका छन् । प्रारम्भिक वालविकास तहका विद्यालयमा कार्यरत कर्मचारीले बर्षको रु. ११ हजार, १–३ कक्षा पढाई हुने विद्यालयका कर्मचारीले महिनाको रु.३ हजार ५ सय, १–५ काले रु.४ हजार ५ सय, १–१२ सम्म काले रु. ७ हजार ५ सय र १–१२ सम्मका लेखापालले रु. ११ हजार ५ सय प्राप्त गर्छन् ।
प्रतिक्रिया