काठमाडौं - शिर्षकमा लेखिएको वाक्य पूर्व राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार समेत रहेका शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले गरेको ट्वीट हो ।
विद्यार्थी संगठनले मंगलबार गरेको प्रदर्शन प्रति सामाजिक सञ्जालमा कटाक्ष जारी छ । शैक्षिक मुद्धामा कम राजनीतिक गतिविधिमा धेरै संलग्न हुँदै आएका विद्यार्थी संगठनलाई अर्का पत्रकार अनील गिरीले पनि विद्यार्थी संगठनको लाजनीतिको संज्ञा दिदैं पेट्रोलमा रु.१ बढ्दा आन्दोलन ! नीजि शैक्षिक संस्थाले करोडौं फी बढाऊँदा समर्थन !! भन्दै सामाजिक सञ्जाल मार्फत् व्यङ्य गरेका छन् ।
सीयुअभिषेक ट्विटर ह्याण्डलबाट अभिषेक राज सिंहले ट्विट गरेका छन् - 'अनि कि तोकीएको शुल्कभन्दा लाखौ बढी मेडीकल कलेजहरुले असुल्दा पनि उनीहरूको मुद्दा बन्दैन ।'
शैक्षिक मुद्धामा विद्यार्थी संगठनहरु कति सम्म गैह्र जिम्मेवार छन् भन्ने कुराको पछिल्लो उदाहरण गत असोजमा संसदले पारित गरेको शिक्षा ऐन संशोधन विधेयक नै काफि छ । योग्य शिक्षकलाई सेवा प्रवेशमा बञ्देज गर्दै पारित ऐनको विरोधमा उनीहरु चुईक्क सम्म बोलेनन् । सार्वजनिक शिक्षा ध्वस्त पार्ने गरी भएको ऐन संशोधनका विरुद्ध नबोल्नुको पछिल्तिर उनीहरुको माउ पार्टिको 'विरोध नगर्नु' भन्ने निर्देश्नले काम गरेको बुझ्न कुनै कठिन छैन । शिक्षक बन्न हातमा लाईसेन्स लिएर बसेका सात लाख युवाका पक्षमा उनीहरुलाई कुनै चासो भएन ।
पढ्नुहोस् : शिक्षा ऐन पारित भएपछि बल्ल ब्यूँझे विद्यार्थी संगठन, झारा टार्दै ठिक्क !
तर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता मंगलबार अकस्मात सडकमा उत्रिए । माग थियो – निर्वाचन आयोगले मत परिणाम तुरुन्त सार्वजनिक गर्नु पर्ने, प्रधानमन्त्रीले जनमतको कदर गर्र्दै सत्ता छाड्नु पर्ने र सरकारले ईन्धनमा गरेको मूल्य वृद्धि फिर्ता हुनु पर्ने ।
शैक्षिक सवालमा मौनता साँधेको सम्झेरै होला शिक्षा विटमा कार्यरत पत्रकार मकर श्रेष्ठले स्टाटस लेखे - 'सामुदायिक विद्यालयमा २६ हजार अस्थायी शिक्षकलाई सहजै स्थायी बनाउने गरी ऐन संशोधन गर्दा, त्रिविमा १४२० लाई प्रतिष्पर्धा बिना करारमा नियुक्ति गर्ने निर्णय गर्दा सुत्ने विद्यार्थी संगठनहरुलाई, समानुपातिकको मतपरिणाम सार्वजनिक र पेट्रोलियम पदार्थको मूल्य वृद्धि चाँहि मुद्धा बन्दो रहेछ ।'
प्रदर्शनमा प्रहरी हस्तक्षेपले केही विद्यार्थी घाईते समेत भएका छन् ।
पढ्नुहोस् उक्त खबर : विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेप
विद्यार्थीले प्रहरीलाई हिर्काएको ईट्टाका टुक्रा र बालेको टायरको धुँवाले सडक र वातावरणमा नराम्रो प्रभाव पार्यो ।
वातावरण संरक्षणमा कृयाशिल भुषण तुलाधरले ट्वीट गरे - 'आज केहि युवाले काठमाडौँको सडकमा फेरी टायर बल्दै गर्दा, एक महिना अघि मात्र कलेज सकाएका अर्को एक समूह “टायर ट्रेजर“ नामक कम्पनि खोलि पुरानो टायरबाट आय आर्जन गर्दै छन् ( टायर जलाउने होइन स्रोतको रुपमा सदुपयोग गरौँ ।)'
विद्यार्थी प्रदर्शन पछि मंगलबार दिनभर काठमाडौंका ट्राफिक ब्यवस्थापन अस्तब्यस्त भयो ।
जरुरी कामका लागि निस्केका नागरिकले वित्थामा हैरानी पाए ।
यो हैरानी पछि थुर्पै ब्यक्तिले विद्यार्थी संगठनको कार्य प्रति आक्रोश ब्यक्त गर्दै विरोध जनाए ।
'विद्यार्थीले जुलुश निकाले रे ! त्योपनि टायर बालेर ? धुलोधुवाँले यसैपनि ग्रस्त काठमाण्डौंमा टायरको धुवाँ पनि थपिदिनुभयो । धन्यबाद । सुधार्ने त कोइ छैन बिगारौं जत्ति सकिन्छ बिगारौं । प्रबिधिको युगमा पनि डेट एक्सपायर बिरोध गर्ने शैली परिवर्तन गरे हुन्न अब ? यो जुलुशमा प्रहरी दमन चै मुर्दाबाद । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना' पत्रकार दुर्गा कार्कीले स्टाटस लेखिन् ।
सामाजिक सञ्जालमा जे जति कटाक्ष भए पनि संगठनले बुधबार दिउँसो पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।
यसैविच मंगलबारको प्रदर्शनमा घाईते संगठनका उपाध्यक्ष महेश बर्तौला , महासचिव ऐन महर र कार्यकर्ता शेखर वोहोराको उपचार जारी छ । बागबजारमा रहेको मोडल अस्पतालमा उनीहरुको उपचार जारी रहेको संगठनका सचिव आरसी लामिछानेले जानकारी दिए ।
फोटो : तुलाधरको ट्वीटरबाट
प्रतिक्रिया