Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

अन्यौलमा शिक्षकको आन्तरिक बढुवा, विभाग नेतृत्वमाथि असक्षमताको आरोप

शुक्रबार, १२ माघ २०७४

काठमाडौं - शिक्षा विभागले बिवरण यकिन नगरिदिदाँ शिक्षकको आन्तरिक बढुवा अन्यौलमा परेको छ । विभागले अहिले सम्म ३६ जिल्लाको बिवरण मात्रै शिक्षक सेवा आयोगलाई बुझाएको छ, बाँकी ४१ जिल्लाको बिवरण संकलनको काम कहाँ पुगेको छ भन्ने बारेमा विभागकै कर्मचारी जानकार नभएको विभाग श्रोतले जनाएको छ ।

आयोग आफैले संकलन गर्दै आएको शिक्षकको बिवरणको कामलाई शिक्षा ऐनको आठौं संशोधनले विभागले संकलन गर्ने ब्यवस्था गरेको हो । सोही अनुसार संकलित बिवरण प्राप्त नहुँदा विज्ञापन गर्न नसकिएको आयोगका अध्यक्ष ताना गौतमले बताए ।

'आन्तरिक बढुवाका लागि आबश्यक शिक्षकको बिवरण आयोगलाई उपलब्ध गरार्ईदिने विभागको काम हो, विभागबाट बिवरण नआईञ्जेल हामीले केही गर्न सक्दैनौं' उनले भने, 'हामी पनि विभागकै बाटो कुरेर बसेका छौं ।'

शिक्षकको यकिन बिवरण संकलनको सामान्य काम समेत हुन नसक्नुलाई विभागको नेतृत्वको असक्षमताका रुपमा बुझ्नु पर्ने भन्दै बढुवाको परीक्षा कुरेका शिक्षकहरुले आक्रोश ब्यक्त गरेका छन् ।  तल्लो तह सम्म फैलिएको आफ्नो संयन्त्रको प्रभावकारी परिचालन गर्न समेत नसक्नु भनेको विभाग नेतृत्वको असक्षमता भएको उनीहरुको आरोप छ ।

'शिक्षा विभाग मातहत क्षेत्रीय शिक्षा निर्देशनालय छ, जिल्ला शिक्षा कार्यालय छ, विद्यालय निरीक्षक छन्, श्रोत ब्यक्ति छन्, र पनि भएका शिक्षकको बिवरण एक बर्ष सम्म संकलन गर्न नसक्ने विभाग नेतृत्वलाई कसरी सक्षम भन्ने ?' एक जना शिक्षकले प्रश्न गर्दै भने, 'शिक्षा विभागका हाकिमहरु कता पैसा पाहिन्छ, विदेश भ्रमणको मौका कता छ ? कसरी बढुवा हुने भन्ने चक्करमा मात्रै बस्दा रहेछन् हाम्रो कुरा सुन्ने कस्ले ?'

गत साल फागुनमा पछि शिक्षक बढुवाको परीक्षा हुन सकेको छैन । यसले गर्दा आफूहरुको वृत्ती विकासमा असर पुगेको भन्दै बढुवाको परीक्षा कुरेका अर्का एक शिक्षकले चिन्ता ब्यक्त गरे ।

माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय तह मातहत भएको अवस्थामा अब के कसरी बढुवा हुन्छ भन्ने अन्यौल छ । त्यस अघि नै परीक्षा भईदिए कमसेकम एक तह प्रमोशन हुन्थ्यो भन्ने आशा गरेको एक जना शिक्षकले बताए ।

'विभागले अहिले सम्म आयोगलाई बिवरण नै नदिएका कारण परीक्षा नभएको रहेछ' शिक्षक महासंघका महासचिव तिलक कुवँरले भने, 'शिक्षाका मुद्धामा विभाग मात्रै हैन समग्र मन्त्रालय नै निकै गैह्र जिम्मेवार हुँदै गएको आभाष भएको छ, शिक्षा क्षेत्रका लागि यो निकै दुर्भाग्य हुने अनुभूती भईरहेको छ ।'

आगामी चैत २८ गते देखि जिल्ला शिक्षा कार्यालय नै नरहने तय भईसकेको अवस्थामा त्यस अघि नै शिक्षकको बढुवा परीक्षा मिती तय पाए आ-आफ्ना कार्यकर्ताबाट जस पाईने महासंघलाई लोभ छ । त्यसैले महासंघ पनि त्यस अघि नै शिक्षक बढुवाको काम सक्ने लविङ्मा लागेको छ ।

प्रतिक्रिया