Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

गुरुकुल शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिवद्धता

सोमबार, ०५ चैत्र २०७४

काठमाडौं - नेपालको गुरुशिष्य परम्परामा आधारित गुरुकुलीय शिक्षालाई समय सापेक्ष बनाउदैं अन्तराष्ट्रियकरण गर्ने प्रतिवद्धता सहित दुई दिने सम्मेलन सम्पन्न भएको छ । नेपाल शिक्षण परिषद् र भारतीय शिक्षण मण्डलको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा संचालित १ सय भन्दा धेरै गुरुकुल सञ्चालक, व्यवस्थापक र प्राचार्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतीय शिक्षण मण्डलका संगठन मन्त्री मुकुल कनिटकारले गुरुकुल शिक्षा नेपालको अनुवंशिक शिक्षा रहेको बताए । भारतवर्षमा यो शिक्षाको उद्गम स्थल रहेको तर्क सहित उनले भारतमा बृटिसको आगामन पश्चात धराशयी बनाईएको आरोप समेत लगाए । बृटिस आगमन अघि सम्म यही शिक्षा पद्धतीमा आधारित रहेर सम्पूर्ण भारत वर्षमा शिक्षा प्रवाह हुने गरेको जानकारी गराउदैं नालान्दा र तक्षशिलाको शिक्षा पद्धतीलाई स्मरण गराए ।

बृटिस शासकले आफ्नो शासन टिकाउन भारतमा आफ्नो अनुकुलको शिक्षा लागु गराएर गुरुकुल शिक्षालाई तहस नहस बनाएको उनले बताए । त्यो प्रभाव नेपालको शिक्षा पद्धतीमा समेत परेकोले गुरुकुलको शिक्षा पद्धती कमजोर भएको उनले तर्क गरे । भारतमा कसरी बृटिस शिक्षा प्रणाली अपनाइएको थियो भन्न सन् १८३५ को लर्ड मैकाले आयोगले दिएको प्रतिवेदन अध्ययन गरे सम्पूर्ण जानकारी हुने उनले बताए ।

भारत बर्ष कै शिक्षा पद्धती भए पनि आज गुरुकुल शिक्षा सरकारी बेवास्ताका कारण नेपाल तथा भारतमा ओझेलमा परेको उनले गुनासो गरे । भारतमा यो शिक्षालाई जागृत गराउन भारतीय शिक्षण मण्डलले काम गरेको जानकारी उनले गराए । अन्तराष्ट्रिय स्तरमा यो शिक्षाका बारेमा अध्ययन अनुसन्धान भैरहँदा नेपाललाई पनि सहभागी गराएर यसको महत्व दर्शाउन मण्डलले शिक्षण परिषद्संग मिलेर काम गर्न चाहेको कनिटकारले बताए ।

त्यसैको शुरुवातमा यो सम्मेलन आयोजना गरिएको हो । 'अप्रिलमा भारतको उज्जैनमा हुने अन्तराष्ट्रिय गुरुकुल सम्मेलनमा नेपालका तर्फबाट शसक्त उपस्थितीको अपेक्षा गरिएको छ' उनले भने ।

शिक्षा पद्धतीमा अग्रणी मानिएको देश फिनल्याण्डले समेत यो शिक्षा पद्धतीलाई अंगिकार गर्न राजी भएको प्रसंग जानकारी गराउदैं आगामी बीस बर्षमा यो शिक्षा पद्धती विश्वव्यापी बनाउने अभियानमा भारतीय शिक्षण मण्डल लागेको उनले बताए ।

कार्यक्रममा भारत अहमदबादको हेमचन्द्राचार्य संस्कृत गुरुकुलका प्राचार्य तथा अन्तराष्ट्रिय गुरुकुल सम्मेलनका अभियन्तता डा. दिप कोइरालाले भारतमा यो शिक्षाका बारेमा जागरण आएको जानकारी गराए । त्यसैले यो शिक्षालाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ भन्ने विश्वासमा मण्डलले काम गरेको जानकारी गराए ।

नेपाल तथा भारतको वर्तमान शिक्षा प्रणाली भन्दा गुरुकुलीय शिक्षा पद्धती कम नरहेको उनले दावी गरे । उनले भने – 'यो शिक्षा कुनै जाती र समुदाय विशेषको भन्दा पनि समग्र भारत बर्षको भनेर बुझ्न आवश्यक छ ।'

कार्यक्रममा प्रधानमन्त्री कार्यलयका सचिव खगराज बरालले समय सापेक्ष बनाउदं नेपालका गुरुकुलले आफ्नो क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताए । अंग्रेजीलाई भाषाका रुपमा र विज्ञानलाई गुणका रुपमा गुरुकुलको शिक्षा प्रणालीमा समावेश गरेर अघि बढ्न आवश्यक रहेको उनले सुझाव दिए । उनले भने '२३ बर्षको शिक्षा मन्त्रालयको बसाइले नेपालका गुरुकुलको शिक्षालाई नजीकबाट नियाल्न पाएको छु, त्यसलाई समय सापेक्ष बनाउन आवश्यक छ ।'

बरालले पूर्वीय दर्शनको शिक्षा पद्धतीमा आधारित रहेर विद्यावारिधी गर्दैछन् ।

कार्यक्रममा डा.सुन्दरमणी दिक्षितले नेपालमा क्रिश्चियन मिसनरीले धर्म प्रचार गर्दै नेपालको मौलिक संस्कृतिलाई शिक्षा पद्धतीलाई घृणा उत्पन्न हुने गरी काम गरेको तथ्यांक र अनुभव सहित त्यसलाई रोक्न पनि गुरुकुल शिक्षाको आवश्यकता रहेको बताए । उनले भने –समय सापेक्ष बनाएर यो शिक्षाअभिबृद्धि गर्न ढिलाई ग¥यौ भने हाम्रो पहिचान समेत मेटिने उनले बताए । कार्यक्रममा पूर्व मन्त्री दीपक प्रकाश बास्कोटाले अन्तत नेपालको पहिचानका लागि यो शिक्षालाई जर्गेना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बाल्मीकी विद्यापीठका सहप्राध्यापक डा. श्रीराम अधिकारी, डा. बासुदेव शास्त्री, डा.रुद्र मिश्र लगायत संस्कृत शिक्षाका विद्धानले यो शिक्षासंग सम्वन्धित रहेर ७ शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 कार्यक्रमको सहभागीता र प्रस्तुतीहरुले आफुहरुलाई थप उर्जा दिएको कार्यक्रमका व्यवस्थापक अदित्य राज खनालले बताए । नेपालको शिक्षण परिषद् र भारतको शिक्षण मण्डलले यो शिक्षाको सर्वव्यापकताका लागि मिलेर काम गर्नुको विकल्प नरहेको उनले तर्क गरे ।

प्रतिक्रिया