Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

खुल्ला विज्ञापन माग्दै मन्त्रीलाई ज्ञापन पत्र, चैत २३ को परीक्षा स्थगित गर्न माग

सोमबार, १२ चैत्र २०७४

काठमाडौं - अस्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षा ऐन नवौं संशोधनमा भएको ब्यवस्थाको विरोध गर्दै आएका विद्यार्थीले शिक्षक पदपूर्तिका लागि तत्काल खुल्ला विज्ञापनको माग गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ऐनको नवौं संशोधन हुनासाथ संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले २०७२ साल असोज पछाडि रिक्त रहेका पदहरु समेत समावेश गरी पदपूर्तिको लागि तुरुन्त खुल्ला विज्ञापन गर्न माग गरेका हुन् ।

सोमबार विहान प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सहभागी मन्त्री पोखरेललाई भेटेर उनीहरुले ज्ञापन बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्रीले विस्तृत कुरा बुझेर विद्यार्थीसँग भेट्ने आश्वासन दिएका थिए ।

तोकिएको परीक्षा तत्काल स्थगित गर्न र नवौं संशोधन खारेज गरी दशौं सशोधन ल्याउन उनीहरुले शिक्षा मन्त्रीसँग आग्रह गरेका छन् ।

विद्यार्थीले बुझाएको उक्त ज्ञापन पत्रमा निम्न माग समाबेश गरिएको छ :

- शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन राष्ट्रको हितमा नरहेकोले तत्काल खारेज गरियोस् ।

- शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन बमोजिम आन्तरिक विज्ञापन तर्फ चैत्र २३ गते तोकिएको परीक्षा तत्काल स्थगित गरियोस् ।

- २०७२ साल असोज पछाडि रिक्त रहेका पदहरु समेत समावेश गरी पदपूर्तिको लागि तुरुन्त खुल्ला विज्ञापन प्रकाशित गरियोस् ।

- प्रत्येक वर्ष खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि शिक्षक सेवा आयोग खोलियोस् ।

- प्रत्येक वर्ष अध्यापन अनुमति पत्रको परीक्षा लिइयोस् ।

- शिक्षा राजनैतिक हस्तक्षेप बन्द गरियोस् । वैज्ञानिक र प्राविधिक शिक्षाको सुनिश्चित गरियोस् ।

- सम्पूर्ण सरकारी कर्मचारी तथा शिक्षकहरुले आङ्खनो छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाइयोस् ।

यस अघि उनीहरुले आयोगले कात्तिक २१ गते आन्तरिक विज्ञापन खुला गरेको प्रति खेद प्रकट गर्दे २२ गते शिक्षक सेवा आयोग घेराउ गरेका थिए । कात्तिक २६ गते बिहान आयोगमा तालाबन्दी र रिले अनसन गरेका थिए ।

नयाँ सरकार गठन नभए सम्म अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रक्रिया स्थगित गर्न आयोग सहमत भएसँगै आठौं दिनमा अनसन तोडिएको थियो । उनीहरुले सोमबार देखि फेरी माईतीघर मण्डलामा अनसन गर्ने जानकारी समेत मन्त्रीलाई दिएका छन् ।

अनसनमा पाँच विद्यार्थी राजन लम्साल (मोरङ), मिलन बास्तोला   (भोजपुर), हेमराज थापा (बाजुरा), शुशान्त बोहोरा (हुम्ला) र रामचन्द्र कार्की (रामेछाप)  र रामचन्द्र कार्की (रामेछाप) बस्ने तयारी गरेका संघर्ष समितिका संयोजक  पुष्कर शर्माले जानकारी दिए ।

यसैविच परीक्षाको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रतिक्रिया