काठमाडौं - सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने सरकारको योजनामा सहयोग गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जापान सरकारलाई आग्रह गरेका छन् । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय पुगेका नेपालका लागि जापानी राजदूत मासासी ओगावा मार्फत् उनले यस्तो आग्रह गरेका हुन् ।
सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै सीप युक्त जनशक्ति तयार पार्ने गरी सबै स्थानीय तहमा दुई बर्ष भित्र प्राविधिक शिक्षालय खोल्ने योजना सार्वजनिक गरिसकेको छ । उक्त योजनामा हस्ताक्षर गरेर प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यभार सम्हालेका थिए ।
सरकारले प्राथमिकतामा राखेको उक्त योजनालाई कार्यान्वयन गर्ने काम तालुकदार मन्त्रालय भएको आधारमा शिक्षा मन्त्रीको काँधमा आएको छ । बुधबारको भेटमा मन्त्री पोखरेलले गरेको उक्त आग्रहमा जापानी राजदूत ओगावाले नेपालको संघीयता कार्यान्वयन र शिक्षा क्षेत्रको विकासको निम्ति आवश्यक सहयोग गर्न जापान सरकार तयार रहेको प्रतिवद्वता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । विगतमा गर्दै आएको सहयोलाई निरन्तरता दिने बताउँदै राजदूत ओगावाले बिज्ञान र प्रविधीको विकासको लागी नेपालको आवश्यकता अनुसार सहयोग गर्न जापान सरकार तयार रहेको पनि प्रष्ट पारे ।
शिक्षा क्षेत्रमा जापान सरकारले यस अघि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले जापानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र छात्रवृत्तिलाई व्यवस्थित गर्न ध्यानाकर्षण समेत गराए । विद्यालय क्षेत्र विकास योजनाका लागि जापान सरकारबाट प्राप्त भैसकेको १५ मिलियन यू एस डलरको प्रतिवद्धता विद्यालय शिक्षाको विकासका लागि महत्वपुर्ण हुने मन्त्रीले विश्वास व्यक्त गरे ।
भूकम्पका कारण भत्केका विद्यालयहरुको पुर्ननिर्माणमा जाईका मार्फत् जापानले गरेको सहयोग भने प्रभावकारी भएको छैन । क्षतिग्रस्त २ सय ८३ विद्यालयहरुको भौतिक संरचना निर्माण गर्ने जापानको प्रतिवद्धता थियो । हाल करीव १ सय विद्यालय भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
फोटो : मन्त्रीको सचिवालय
प्रतिक्रिया