काठमाडौं - अस्थायी शिक्षकका विषयमा ध्यानाकर्षण गर्न पुगेको शिक्षक महासंघको टोलीले प्रधानमन्त्रीको समय नपाए पछि जनसम्पर्क सल्लाहकार मार्फत् ध्यानाकर्षण पत्र बुझाएर फर्किएको छ ।
भारत भ्रमणको तयारीका शिलशिलामा विभिन्न छलफल र भेटघाट जारी रहेकोले 'समय मिलाउन' नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएपछि शिक्षक नेताहरुले जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलाई आफ्नो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासंघले यस अघि नै प्रधानमन्त्री कार्यालय सहित शिक्षा मन्त्री र शिक्षक सेवा आयोगका पदाधिकारीलाई ज्ञापन पत्र बुझाईसकेको छ ।
'कुरा त यस अघि नै जानकारी भईसकेको हो, आज चाँही बसेरै छलफल गर्ने हाम्रो तयारी थियो' महासंघका अध्यक्ष बाबुराम थापाले भने, 'हामी पुगेको बेलामा पूर्व प्रधानमन्त्रीहरुसँग भेटघाट चलिरहेको रहेछ, अच्युत मैनालीले भारतबाट फर्कना साथ समय मिलाउने बचन दिनु भए पछि हामी फर्कियौं ।'
शुक्रबार शुरु हुने प्रधानमन्त्रीको भारत भ्रमण आईतबार सकिने छ । विषयको गम्भिरता भएकोले सके सम्म २६ गते सोमबार नै भेटघाट गर्ने गरी समय मिलाउन आफूहरुले आग्रह गरेको थापाले बताए ।
परीक्षा मिति तोकेर सबै तयारी सकिईसके पछि स्थगित गर्दा आफूहरु आक्रोशित भएको उल्लेख गर्दै महासंघले उक्त ध्यानाकर्षण पत्रमा खेद प्रकट गरेको उल्लेख गरेको छ । शिक्षा ऐनको आठौं संशोधन गर्ने बेलाका प्रधानमन्त्री र शिक्षा मन्त्री नै सोही पदमा भएको बेला अस्थायी शिक्षकको समस्या समाधान हुने महासंघले अपेक्षा गरेको छ ।
'प्रचलित कानून बमोजिम बर्षौ देखि अस्थायी रहनुपरेका शिक्षकहरुको आन्तरिक परीक्षाको तालिका प्रकाशित गर्न तथा खुल्ला परीक्षाको लागि तयारी गरी यथाशिघ्र मिति तोक्न' महासंघले अनुरोध गरेको छ ।
र्याली सहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने पूर्वघोषित कार्यक्रम अनुसार महासंघको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । उक्त क्षेत्र निशेधित भएको भन्दै प्रहरीले रोकेपछि शिक्षकका केही प्रतिनिधिहरु मात्रै निवास छिरेका थिए ।
परीक्षाको सबै तयारी सकिएर अन्तिम समयमा स्थगित भएको अस्थायी शिक्षक परीक्षा तत्काल र यही शैक्षिक सत्र भित्र खुला विज्ञापन गर्न शिक्षक महासंघले लविङ् तिब्र पारेको छ । अस्थायी शिक्षकको मुद्धा शैक्षिक भन्दा ज्यादा राजनीतिक भएको निष्कर्ष पछि महासंघले सत्ताधारी र प्रमुख विपक्षी दलका मुख्य नेता सहित मन्त्रीहरु मार्फत् लविङ् शुरु गरिरहेको छ ।
पढ्नुहोस् : अस्थायी शिक्षकको परीक्षा तत्काल, यसै शैक्षिक सत्र भित्र खुला विज्ञापनको लविङ्
यो पनि पढ्नुहोस् : अस्थायी शिक्षक ब्यवस्थापन : टाढा छैन - भुईंको टिप्न खोज्दा, पोल्टाको गुम्ने दिन
फोटो : लोकनाथ बरालको फेसबुकबाट
प्रतिक्रिया