Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

झण्डै जागिर छाडेका बराल शिक्षा सचिव

शुक्रबार, २३ चैत्र २०७४

काठमाडौं - प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललाई सरकारले शिक्षा सचिव बनाएको छ । शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

लामो समय शिक्षा मन्त्रालय अन्र्तगत कार्य गरेका बराल सचिवमा बढुवा भएसँगै शिक्षा मन्त्रालय बाहिर रहँदै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु अघि शुक्रबार विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका हुन् ।

विद्यालय निरीक्षकका रुपमा शिक्षा सेवा प्रवेश गरेका बराल २०५९ र २०६३ साल गरी दुई पटक उपसचिवका लागि लिखितमा नाम निस्केर पनि अन्र्तवार्तामा फेल भएपछि विरक्तिएर झण्डै जागिर छाडेका थिए ।
आफ्नो लागि भनसुन गरिदिने मान्छे नभएकै कारण पछि परेको महशुस गरेर उनले जागिर छाड्ने मनस्थिती बनाएको दुई बर्ष पहिले एडुखबरसँगको कुराकानीमा बताएका थिए ।

२०६४ सालमा उपसचिव खुल्ला र आन्तरिक तथा सह सचिव खुल्लामा एकै पटक भिड्ने निधो गरेर अन्तिम कोशिस गरेका बरालले लिखितमा नाम निकाले पनि लामो समय लोक सेवा आयोगमा पदाधिकारी खाली भएकोले एक बर्ष सम्म अन्र्तवार्ता नहुँदा उतिखेर दिक्क लागेको स्मरण सुनाएका थिए ।  

फागुनमा आमा वितेर किरियामा बस्दा मन र शरीर  दुवैले गलित भए पनि चैत ४ गते दिएको सहसचिवको अन्र्तवार्तामा उनी सफल भए पछि जागिर छाड्ने सोच हराएको उनले बताएका थिए ।

शुक्रबार भएको सचिव सरुवमा प्रधानमन्त्री कार्यालयमा रहेका अर्का सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ । अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ । रक्षा सचिवमा राष्ट्रिय योजना आयोगका विष्णु लम्साल र योजना आयोगमा प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेलको सरुवा भएको छ ।

त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ । नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ ।

वन सचिव डा. युवकध्वज जीसीलाई कृषि मन्त्रालय र पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ । अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । प्रदेश १ का कामु मुख्य सचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् । पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् ।

प्रतिक्रिया