Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

शिक्षाको अधिकार स्थानीय तहमा हुँदा मन्त्रीलाई चिन्ता ! पहिले खुल्ला अनी मात्रै आन्तरिक विज्ञापन

शुक्रबार, २३ चैत्र २०७४

काठमाडौं - विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत भए पनि केही स्थानीय सरकारको कामले आफूलाई चिन्तित बनाएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गुनासो गरेका छन् । स्थानीय सरकारका जन प्रतिनिधिहरुले विद्यालय ब्यवस्थापन समितिलाई चलाएको प्रति असन्तोष ब्यक्त गर्दै मन्त्री पोखरेलले यही ढंगले अघि बढ्ने हो भने अझ खराब स्थिती सृजना हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

विभिन्न जिल्लाका सामुदायिक विद्यालयको पठन पाठन सुधारमा स्वयंसेवक शिक्षक परिचालन गर्दै आएको टिच फर नेपालको पाँचौ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सबै स्थानीय सरकारको दृष्टिकोण र क्षमता विकास नभएकोले धैयर्ता पूर्वक अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।

'अहिले मलाई चिन्ता के छ भने हामीले धेरै अधिकार स्थानीय तहमा दिएका छौं, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले विद्यालय ब्यवस्थापन समितिलाई जसरी चलाईरहनु भएको छ त्यही ढंगले अघि बढ्ने हो भने अझ खराब स्थिती सृजना हुन सक्छ, त्यसैले म अपील गर्न चाहन्छु, की जे कारणले समुदायको अपनत्व सहित बदल्न खोजेको हो, त्यही दिशामा लैजानु पर्ने छ' उनले भने, 'सबै स्थानीय तहको संस्थागत विकास भएको छैन श्रोत साधन छैन, सबैको दृष्टिकोण र क्षमता विकास भईसकेको छैन, यो बेलामा धैर्यता पूर्वक अघि बढ्नु पर्ने छ ।'

गुणस्तरीय सार्वजनिक शिक्षा आजको केन्द्रीय आवश्यकता भएकोले गुणयुक्त शिक्षक छनौट आफ्नो प्राथमिकता हुने उनले बताए ।

अस्थायी शिक्षक ब्यवस्थापनमा ऐनको नवौं संशोधन मार्फत गरिएको ब्यवस्थाले अहिलेको अवस्था आए पनि अस्थायी शिक्षकको परीक्षा स्थगित मात्रै गरेको रद्ध नगरेको उनले स्पष्ट पारे ।

'पहिला खुल्लाको विज्ञापन गरौं त्यस पछि आन्तरिकको परीक्षा गरौं तर आन्तरिक परीक्षाको नाउँमा स्कुलमा गएर विद्यार्थीलाई पढाउन नसक्ने शिक्षकरुलाई पास गराउने परीक्षा गराईदैंन' उनले भने, 'शिक्षक हुन लाईसेन्स लिएका छौं भनेर खुल्ला मात्र गर्ने भन्ने कुरा अलिक सन्तुलित पनि हुँदैन ।'

आन्तरिकबाट आए पनि खुल्लाबाट आए पनि गुणयुक्त शिक्षक हुनु पर्ने उनको भनाई छ । नेपालका ३५ हजार विद्यालयहरू बदल्नुपर्ने बताउँदै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको छवि सुधार्न टिच फर नेपालले गरेको कामको प्रसंशा पनि गरे । सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न शिक्षामा क्रान्ति नगरी नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै टिच फर नेपालको बोर्ड सदस्य समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले विकासको मानक आत्म सम्मान भएको बताउँदै त्यसको लागि टिच फर नेपालले युवामा नैतिक मूल्य र सामाजिक चेतना दिएको बताए ।

कार्यक्रममा २ वर्ष ग्रामिण समुदायका विद्यालयहरूमा आफ्नो कार्यकाल सकेका चौथो समूहका ३९ फेलोहरूको बिदाइ तथा ६ हप्ताको तालिम पश्चात नयाँ शैक्षिक सत्रदेखि विभिन्न विद्यालयहरूमा जाने छैटौँ समूहका ७० फेलोहरूको औपचारिक स्वागत गरिएको थियो ।

कार्यक्रममा टिच फर नेपालका विभिन्न फेलोहरू र विद्यार्थीको नेतृत्वमा गरिएको उद्यमशीलता, फोटोग्राफी, वातावरण, विज्ञान तथा प्रविधि सम्बन्धी परियोजनाहरूको प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा टिच फर नेपाल कार्यरत सिन्धुपाल्चोक र ललितपुरका १० विद्यालयका ५१ विद्यार्थी सहभागी थिए ।

टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले विगत ५ वर्षका उपलब्धि सुनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि देखि उनीहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा विभिन्न क्षेत्रबाट पाएको सहयोग प्रति धन्यवाद ब्यक्त गरे ।  

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले टिच फर नेपालले माटोलाई माया गर्ने र श्रमको सम्मान गर्ने शिक्षाको थालनी गरेको भन्दै प्रसंशा गरे । टिच फर नेपालको अभियानमा सघाएको भन्दै उनलाई सम्मान समेत गरियो । उनलाई शिक्षा मन्त्री पोखरेलले सम्मान गर्दै गर्दा शुक्रबार मात्रै शिक्षा मन्त्रालयमा सरुवा भएका सचिव खगराज बराल देखि कार्यक्रममा उपस्थित शिक्षा मन्त्रालयका सहसचिव र अन्य कर्मचारीहरुको 'ताँती' मञ्चमा उक्लेको थियो ।

कार्यक्रममा गत ५ वर्षमा टिच फर नेपाललाई सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई सचिव बरालले सम्मान गरेका थिए ।  

शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा टिच फर नेपालले २०७०  साल देखि  ललितपुर, सिन्धुपाल्चोक र धनुषाका सार्वजनिक विद्यालयहरूमा स्वयं सेवक शिक्षकहरु खटाउँदै आएको छ । स्वयंसेवी शिक्षकको रूपमा खटिने युवाले अंग्रेजी, गणित तथा विज्ञान अध्यापन गर्दै आएका छन् ।

यो बर्ष देखि पर्सा, लमजुङ र दाङका विद्यालयहरुमा पनि स्वयं सेवक खटिने खनालले बताए । यस अभियानको छैटौँ समूहमा ७० जना फेलोहरू विभिन्न विद्यालयमा गएर पठन पाठन गर्ने छन् ।

नयाँ वर्षको सुरुवातसँगै टिच फर नेपालका १ सय १२ फेलोहरू ६ जिल्लाका ५१ सार्वजनिक विद्यालयहरूमा हुने र यसबाट करिब १० हजार विद्यार्थी लाभान्वित हुने खनालले बताए ।

प्रतिक्रिया