Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

कहाँ हराए शिक्षा मन्त्रीका मोवाईल, ल्यापटप र क्यामेरा ?

बुधबार, २८ चैत्र २०७४

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग भएका २ वटा ल्यापटप, एउटा डेक्सटप कम्युटर, एउटा भिडियो र एउटा डिजीटल क्यामेरा हराएको छ ।

अघिल्लो पटक शिक्षा मन्त्री हुँदा सार्वजनिक उनको सम्पत्तिको विवरण र अहिलेको विवरण तुलना गर्दा यी सामान हराएका हुन् । सार्वजनिक पदमा बस्ने हरेकले सम्पत्ति विवरण बुझाउने नियम अनुसार मन्त्री भएपछि उनले मंगलबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका थिए ।

अघिल्लो पटक २०७२ कात्तिक १७ गते सार्वजनिक उनको सम्पत्ति विवरणमा २ वटा ल्यापटप, एउटा डेक्सटप कम्युटर, एउटा भिडियो, एउटा डिजीटल क्यामेरा र केही फर्निचर रहेको उल्लेख थियो । ती मध्ये एउटा ल्यापटप संसद सचिवालयले दिएको र फर्निचरमा सोफा सेट लगायतका सामान भएको उल्लेख थियो ।

तर बुधबार मन्त्रालयमा आयोजित मार्गचित्र सार्वजनिक कार्यक्रममा उनले पत्रकारहरुलाई उपलब्ध गराएको आफ्नो सम्पत्तिको विवरणमा ती सामग्री बारे  उल्लेख छैन ।  

उनको नगद भने अघिल्लो पटकको तुलनामा १ लाख ४ सय १२ रुपैंया थप भएको छ । उतिखेर २ लाख ६६ हजार ५ सय ८८ रुपैंया रहेको एभरेष्ट बैंकको खातामा अहिले ३ लाख ६७ हजार रुपैंया रहेको उल्लेख छ । उक्त रकम संविधान सभा सदस्य, मन्त्री तथा ब्यवस्थापिका संसद सदस्य हुँदा प्राप्त तलब भएको उल्लेख छ ।

यस्तै खोटाङ्बाट प्रशारण हुँदैं आएको रुपाकोट एफएम मा रहेको ५ हजार रुपैंयाको शेयर यथावत रहेको छ ।

यसैगरी आफू जन एकता साप्ताहिकको प्रकाशक तथा सम्पादक हुँदा उक्त संस्थाको नाममा रहेको १३ हजार ९ सय ९३ रुपैंया नेपाल बंगलादेश बैंकको खातामा रहेको उल्लेख छ ।  

जन्म जिल्ला खोटाङ् खार्पाको उनको पैत्रिक सम्पत्ति आमाको नाममा स्थापित कनककुमारी स्मृत्ति प्रतिष्ठानलाई दिईसकेका थिए । २ कित्ता पाखोबारी उनका  बाबु चन्द्रमणि पोखरेलको नाममा थियो । उक्त विवरण यस पटक पनि समान छ ।

अविवाहित मन्त्री सामुहिक आधारशिला परिवारमा बस्छन् । पहिला सिराहमा रहेको सामूहिक परिवार अहिले महोत्तरीको गौरीडाडाँमा बस्दै आएको छ । उक्त परिवारका केही सदस्य काठमाडौंको सिनामंगलमा बस्दै आएको छ । मन्त्री भएपछि पूल्चोक स्थित मन्त्री क्वाटरमा बसे पनि उनी प्राय सिनामंगल नै जाने उनको निजी सचिवालय श्रोतले जनाएको छ ।

नीजि सम्पत्ति राख्नु हुँदैन भन्ने आधारशिला परिवारको मान्यता छ ।  

पढ्नुहोस् : सर्वहारा शिक्षा मन्त्री !

प्रतिक्रिया