भक्तपुर - शिक्षाका कुनै पनि कार्यक्रममा विद्यार्थीलाई लाम नलगाउन तथा त्यस्ता कार्यक्रममा खादा माला वञ्देज गर्न शिक्षा विभागले ताकेता गरेको छ ।
विद्यार्थी लाममा लगाएर गोरखामा शिक्षा मन्त्रीको स्वागत गरिए पछि भएको आलोचनालाई सम्बोधन गर्दै मन्त्री गिरिराजमणि पोखरेलले यस्ता कार्यमा बञ्देज लगाउन गरेको निर्देशन पालना नभएको फेला परेपछि विभागले ताकेता गरेको हो ।
विभागका महानिर्देशक बाबुराम पौडेलले आईतबार सबै क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई र विद्यालयहरुलाई उक्त ताकेता गरेका हुन् ।
'विद्यालयहमा आयोजना हुने विभिन्न सभा र समारोहमा आमन्त्रीत अतिथिहरुको स्वागतका निम्ति विद्यार्थीहरुलाई लाइनमा राख्ने, माला खादा लगाउने, फूल गुच्छा दिने जस्ता कार्यमा संलग्न गराउने कार्य नगर्न यस विभागबाट जारी निर्देशनात्मक सूचना प्रभावकारी ढङ्गबाट कर्यान्वयन भएको नपाइएकोले अनिवार्य रुपमा कार्यान्वयन गर्न गराउनुहुन पुन जानकारी गराईएको छ' उक्त ताकेतामा भनिएको छ ।
भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सम्पन्न भएर उद्घाटन गर्न बुधबार गोरखा पुगेका शिक्षा मन्त्री पोखरेलले लाममा बसेका विद्यार्थीको हातबाट पुष्प गुच्छा लिदैं गरेको फोटो सार्वजनिक भए पछि ब्यापक आलोचना भएको थियो ।
पढ्नुहोस् : सामाजिक सञ्जालमा शिक्षा मन्त्रीको चर्को आलोचना
प्रतिक्रिया