Edukhabar
बुधबार, ०४ भदौ २०८२
खबर/फिचर

अँग्रेजीमा पढाउने शिक्षक - प्रअलाई थप तलब, विद्यालयलाई पनि रकम

बुधबार, १९ बैशाख २०७५

मोरङ् - सुनवर्षी नगरपालिकाले अँग्रेजी माध्यामबाट पठन पाठन गराउने विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई थप तलब तथा विद्यालयलाई मासिक र एकमुष्ट रकम दिने भएको छ । पहिलो चरणमा प्रारम्भिक बाल कक्षामा अँग्रेजी माध्यामबाट पठनपाठन शुरुवात गर्ने नगरपालिकाको निर्णय अनुसार सामुदायिक विद्यालयहरुबाट प्रस्ताव माग गरिएको थियो ।

नगरपालिकाले तोकेको आधारमा रहेर तयार हुने विद्यालयको प्रस्ताव उपर छानविन गरी उपयुक्त आधार देखिएमा नगरपालिकाले आर्थिक सहयोग गर्ने योजना बनाएको छ । माग प्रस्ताव स्विकृत हुने विद्यालयहरुसँग करार सम्झौता गरी   अँग्रेजीमा पढाउने शिक्षकलाई मासिक १, प्रअलाई २ र विद्यालयलाई १० हजार रुपैंया दिईने छ । यस्तै विविध सामग्री ब्यवस्थापन, कक्षा कोठा सजावट आदिका लागि प्रति विद्यालय एकमुष्ट २५ हजार रुपैंया र कक्षा कोठा नपुग भएका विद्यालयलाई कच्ची कोठा ब्यवस्थापन वा मर्मत गर्न ५० हजार रुपैंया सम्म अनुदान दिने योजना  छ ।

यस्ता विद्यालयका बालबालिकालाई नगरपालिकाले छनौट गरेको निजी प्रकाशनको पाठ्यपुस्तक प्रदान गर्ने र पाठ्यपुस्तक ब्यवस्थापनका लागि पाउने ससर्त अनुदानमा नपुग हुने रकम नगरपालिकाले थप गर्ने योजना छ ।

विद्यालयमा कार्यरत शिक्षकबाट नै कक्षा सञ्चालन सम्भव नहुने विद्यालयहरुले ब्यवस्थापन समितिबाट निर्णय गराई उक्त १० हजार रुपैंयाबाट नै खर्च गर्ने गरी असार मसान्त सम्मका लागि नयाँ शिक्षक नियुक्ति गर्न सक्ने छन् । आगामी असार मसान्त पश्चात नगरपालिकाले नै शिक्षकको वैकल्पिक ब्यवस्थापन गर्ने छ ।

उक्त सुविधा प्राप्त गर्न विद्यालयहरुले शिक्षक, अभिभावक सहितको भेला गरी ब्यवस्थापन समितिबाट अँग्रेजी माध्याममा कक्षा सञ्चालन गर्ने निर्णय गर्नु पर्ने छ । उक्त कार्यका लागि विद्यालयको तर्फबाट गरिने योगदानको प्रतिवद्धता र नगरपालिकाबाट अपेक्षित अनुदान रकम खुलाएर प्रस्ताव पेश गर्न भनिएको थियो । साथै कुन कुन कक्षा अँग्रेजी माध्यामबाट सञ्चालन गर्ने र शिक्षक तथा कक्षा ब्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट खाका तथा विद्यार्थीको संख्यात्मक विवरण पनि बुझाउनु पर्ने भनिएको थियो ।

बैशाख १४ गते सम्मको म्याद दिएर प्रस्ताव आह्वान गरिएकोमा विद्यालयहरुबाट प्राप्त प्रस्तावहरुको छानविन गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत अनिल खनालले बताए ।

'हामीले प्रस्ताव आह्वान गरेका थियौं, तर के कतिले रुचि देखाएका छन् भन्ने यकिन भईसकेको छैन' उनले भने 'म काठमाडौं तिर भएकाले त्यसको अन्तिम विवरण तयार भएको छैन, चाँडै नै हुन्छ ।'

नगरपालिका क्षेत्र भित्र रहेका प्राय सबै विद्यालयले रुचि देखाएर प्रस्ताव पेश गरेको श्रोत ब्यक्ति पूर्णलाल ताजपुरियाले बताए ।

नगर क्षेत्रमा ३६ वटा सामुदायिक विद्यालय छन् ।

'हामीले श्रोत केन्द्र स्तरमा प्रस्ताव संकलन गरेका छौं कतिपय ठाउँको संकलन हुन बाँकी नै छ' उनले भने 'अनौपचारिक जानकारी अनुसार सबैले रुचि देखाएको पाएको छु तर सबै संकलन नभईञ्जेल यकिन गर्न सकिएन ।'

प्रतिक्रिया