Edukhabar
बुधबार, ०४ भदौ २०८२
खबर/फिचर

सिके राउतका कार्यकर्ताले शिक्षक कुटे : नेपालीमा हैन मैथिलीमा पढाउनु

शुक्रबार, २१ बैशाख २०७५

सप्तरी - विपी पब्लिक स्मारक माध्यमिक विद्यालय भारदहका शिक्षक लेखनाथ कोइराला माथि सिके राउतका कार्यकर्ताले हातपात गरेर घाईते बनाएका छन् । कोइरालाको भारदह अस्पतालमा उपचार भईरहेको छ । विहान विद्यालय शुरु हुनासाथ सिके राउतका कार्यकर्ता शंकर खड्गा भन्ने ज्ञानेन्द्र खड्गाले * कोइरालालाई हिर्काएका हुन् । घाईते कोइरालालाई शिक्षकहरुले अस्पताल पुर्याएका छन् ।

उपचार गरिरहेको ठाउँमा समेत आएर खड्गाले नेपालीमा हैन मैथिलीमा पढाउनु भन्दै धम्कि दिएको कोइरालाले बताए । राउतले तराई मधेसमा भूमिगत गतिविधि सञ्चालन गर्दै आएका छन् ।  

'विहान विद्यालय शुरु भएको केही बेरमा आएर हेडसर खै ? भनेर सोधे मैले आज हड्तालका कारण आउँदिन भन्नु भएको छ, मलाई नै विद्यालय सञ्चालन गर्न भन्नु भएको छ भन्ना साथ गाला र अनुहारमा हिर्काउन थाले' कोइरालाले भने, 'मेरो नाकबाट रगत बग्न थाल्यो, साथीहरुले हतार हतार अस्पताल ल्याए ।'

व्यवसायीको हड्तालका कारण यातायातका साधन नचल्ने भएपछि आफू आउन नसक्ने भन्दै विद्यालय सञ्चालन गर्न कोइरालालाई भनेको प्रधानाध्यापक प्रकाश गुप्ताले बताए ।

'म राजविराजबाट आउनु पर्ने गाह्रो हुने भयो त्यसैले कोइराला सरलाई सञ्चालन गर्न भनेको थिएँ, तर त्यस्तो घटना भएछ' गुप्ताले भने, 'उनीबाट यस अघि पनि पटक पटक यस्तै हैरानी हुँदै आएको छ, ब्यवस्थापन समिति सहित प्रहरी प्रशासन र वडा कार्यालयमा समेत उनको हर्कतका बारेमा जानकारी गराईसकेका छौं तर कसैले केही गर्दैन हामी के गरौं ?'

आफूहरु सरकारले दिएको आदेश र विधि अनुसार पठन पाठन गर्दै आए पनि पटक पटक यस्ता घटनाको शिकार हुनु परेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

खड्गाले झण्डै २ बर्ष देखि विद्यालयको जग्गा भित्र जिमखाना समेत सञ्चालन गर्दै आएका छन् । आफूहरुसँग कुनै अनुमति नलिईकनै उनले उक्त कार्य गर्दै आएको गुप्ताको दावी छ ।

'के गर्ने सरकारी सम्पत्तिको दुरुपयोग हुँदा समेत केही गर्न नसक्ने अवस्था छ भने पछि तपाई बुझ्नुहुन्छ उनको हैसियत' गुप्ताले भने 'यसरी विद्यालयमा कसरी पठन पाठन गर्न सकिन्छ ?'

उदयपुर गाईघाटका शिक्षक कोइराला २०६० साल देखि यस विद्यालयमा कार्यरत छन् । उनी माध्यमिक तहको नेपाली विषयका शिक्षक हुन् झण्डै नौ सय विद्यार्थी पठन पाठन गर्ने उक्त विद्यालयमा १३ जना शिक्षक कार्यरत छन् ।

* यस अघि खड्का भएकोले सच्याईएको - सं.

प्रतिक्रिया