Edukhabar
बुधबार, ०४ भदौ २०८२
खबर/फिचर

निजी विद्यालयको मनलाग्दीका विषयमा भएको सहमती अमान्य

आइतबार, २३ बैशाख २०७५

काठमाडौं - निजी विद्यालयहरुले गरेको मनलाग्दी शुल्क वृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले गरेको सहमतीको अरु ७ विद्यार्थी संगठनले विरोध गरेका छन् । नेकपा विप्लब निकट अखिल क्रान्तिकारी, राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु (पाँचौं), समाजवादी विद्यार्थी फोरम नेपाल र राष्ट्रवादी विद्यार्थी संघ लगायतले पत्रकार सम्मेलन गरेर शिक्षा विभाग र सत्ता पक्ष विद्यार्थी संगठनबीच भएको सहमतीको बिरोध गरेका हुन् ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले केही सत्तापक्ष विद्यार्थी संगठन र शिक्षा विभाग बिच भएको सहमति मान्य नहुने घोषणा गरेका हुन् । निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता नगरे ८ हजार निजी विद्यालयमा तालाबन्दी गर्ने उनले चेतावनी दिए ।

शनिबार प्रमुख प्रतिपक्षि काँग्रेस निकट विद्यार्थी संघ सहित सत्ताधारी दलका विद्यार्थी संगठनहरुसँग सहमती भएको थियो ।

पढ्नुहोस्  : बढाएको शुल्क फिर्ता दिन विद्यालय सञ्चालक सहमत, विद्यार्थीको आन्दोलन फिर्ता

‘केही सत्तापक्ष विद्यार्थी संगठन र शिक्षा विभागबीच भएको भनिएको सहमति हामीलाई मान्य छैन, निजी स्कूलका सञ्चालकहरुले वृद्धि गरेको मूल्य फिर्ता लिने बताएका छैनन्, शिक्षा विभाग र सत्ता पक्ष विद्यार्थी संगठनहरुले हतारमा सहमति गरेर विद्यार्थी आन्दोलन तुहाउन खोजिएको छ', ढकालले भने, 'विद्यार्थी ओन्दोलन प्रतिपक्ष हुनुपर्छ, सक्तापक्ष भएर शिक्षा र विद्यार्थीहरुका हितका बारेमा काम गर्न सकिँदैन ।’

विद्यार्थी सँगठनहरुले सोमबार चेतावनी पत्र बुझाउने, मंगलबार प्रदर्शन गर्ने, २६ गते संयुक्त अन्तरक्रिया गर्ने, २७ गते शैक्षिक हड्ताल गर्ने कार्यक्रम तय गरेको उनले बताए ।

कार्यक्रममा राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले विद्यार्थी आन्दोलनको दोस्रो अध्याय शुरु भएको बताएका छन् । पत्रकार सम्मेलनमा राजपा विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, नयाँ विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियु पाँचौंका अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई र अखिल क्रान्तिकारीका उपाध्यक्ष विष्णु नेम्वाङ लगायतले निजी विद्यालयको मनपरी विरुद्ध बोलेका थिए ।

प्रतिक्रिया