काठमाण्डौं - भुकम्पबाट भत्केका विद्यालय पुनर्निर्माणको काम ढिलो हुँदा बालबालिकाको सिकाइ वातावरण सुनिश्चित गर्ने सरकारी प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै शिक्षा मन्त्रीले सहयोग गरिदिन दातासँग अनुरोध गरेका छन् । नेपाल स्थित संयुक्त राष्ट्र संघका आवासीय संयोजक भैंलरी जुलियाण्डसंग मंगलबार भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले सयुक्त राष्ट्र संघका नेपाल स्थित निकायहरुसंग सहयोगको लागी अनुरोध गरेका हुन् । सयुक्त राष्ट्र संघीय निकायहरुले पुनर्निर्माणमा गर्दै आएको सहयोगमा वृद्धी गरिदिएमा सरकारको उक्त प्रतिबद्धता पुरा गर्न सहज हुने अपेक्षा गरेको उनले बताए ।
३ वर्ष भित्र विद्यालयहरुको पुनर्निर्माण सक्ने सरकारले लक्ष्य तय गरेको भए पनि विद्यार्थी, ४ वटा शैक्षिक सत्र तिनै चर्केका भत्केका भवन र अस्थायी टहरामा विताउन बाध्य भएका छन् । भुकम्प पछि विद्यालय पुनर्निर्माणका कार्य गर्ने जिम्मेवारी सहित गठन गरिएको केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत् गरिएका उक्त पुनर्निर्माणको सुस्त प्रगतिका कारण आगामी बर्खामा पनि लाखौं विद्यार्थीको भुक्तमान उस्तै हुने निश्चित भएको छ ।
२०७२ बैशाख १२ को भूकम्पबाट बढी प्रभावित ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय पुनर्निर्माण गर्नु पर्ने छ । यस अघि पुनर्निर्माणमा दाताले लिएको जिम्मा नै पुरा भएको छैन ।
पढ्नुहोस् : विद्यालय बनाउने जिम्मा लिएका ठूला दाताकै काम सुस्त, सरकारसँग वहानै वहाना !
यस्तो अवस्थामा मन्त्रीले फेरी दाता गुहारेका हुन् ।
उक्त भेटमा मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागी अवलम्बन गरिएको क्षेत्रगत प्रणालीको संयोजन र कार्यान्वयनमा युनिसेफले गरेको सहयोगको प्रशंसा गरेका थिए । खाद्य संकट रहेका बिभिन्न १० जिल्लामा सञ्चालित विश्व खाद्य कार्यक्रमले बालबालिकाको पोषण र शिक्षामा बिषेश सहयोग पुगको भन्दै मन्त्रीले प्रशंसा गरे । भेटमा जुलियाण्डले नेपाल सरकारको प्राथामिकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया