Edukhabar
बुधबार, ०४ भदौ २०८२
खबर/फिचर

भद्रगोलका बिचमा भिसि, न विद्यार्थीको नाम मिल्छ न प्रिण्टरको काम !

आइतबार, १३ जेठ २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालय कुन हद सम्म भद्रगोल छ भन्ने कुराको उदाहरण आईतबार त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा देखियो । विद्यार्थीलाई चुस्त सेवा प्रवाह गर्ने भन्दै विश्वविद्यालयले परीक्षा व्यवस्थापन सूचना प्रणाली अर्थात ‘ईएमआईएस’ को शुरुवात गर्ने कार्यक्रम तय गरेको थियो ।

तामझमका साथ उद्घाटनको तयारी गरिएको कार्यक्रममा उपकुलपति प्रा.डा. तीर्थराज खनिया तोकिएको समय भन्दा केही मिनेट ढिला सवा ११ बजे तिर उपस्थित भएका थिए । कार्यालय परिसरमा तम्बु गाडिएको ठाउँमा उपस्थित खनिया केही बेर मञ्चको सोफामा बसेका मात्रै थिए नियन्त्रक पुष्पराज जोशी हस्याङ् फस्याङ् गर्दै आईपुगे र खनियालाई केही व्रिफ गर्ने भन्दै कार्यालय भित्र लगे ।

उनीहरु गएको १० मिनेट पछि सञ्चारकर्मीलाई भित्रै आउन खबर आयो ।

विएडका विद्यार्थीलाई ट्रान्सकृप्ट उपलब्ध गराउने कोठामा थिए खनिया, रेक्टर सुधा त्रिपाठि लगायत कार्यालयका कर्मचारीहरु ।

त्यहीँबाट खनियाले कम्प्युटर प्रिण्ट गरेर सेवा शुभारम्भ गर्ने जानकारी गराईयो ।

तर भद्रगोलको नमूना त्यहीँ मञ्चन भयो !

न कुन विद्यार्थीको ट्रान्सकृप्ट दिने हो भन्ने थाह छ, न प्रिण्टरमा ट्रान्सकृप्ट कपी छ, न त प्रिण्टर र कम्प्युटरको कनेक्सन नै !

सेवा उद्घाटन गर्न उपस्थित खनिया कम्प्युटर तर्फ हेर्दै त्यसकै अघिल्तिरको कुर्चिमा अडेस लगाएर उभिईरहेका थिए । अरुहरु उनको पछिल्तिर ।

बल्ल तल्ल आएका प्राविधिकलाई एक जना महिला कर्मचारीले ट्रान्सकृप्ट लिन निवेदन दिएका कुनै विद्यार्थीको फारम दिईन् ।

प्राविधिकले कम्प्युटरमा टाईप गरे । काम गरेन ।

अर्को अर्को गर्दै ४ वटा फारम कम्प्युटरमा ईण्ट्रि गर्दा पनि कुनै मेसो नआए पछि ति कर्मचारी मात्रै हैन, नियन्त्रक जोशी समेत असिन पसिन भईसकेका थिए ।

झण्डै आधा घण्टा सम्म पनि कुनै मेसो नआए पछि खनिया पनि असजिलो मान्दै थिए । रेक्टर त्रिपाठि अघि नै बाहिरि सकेकी थिईन ।

सञ्चारकर्मीहरुका क्यामेरा कम्प्युटर तिर तेर्सिरहेका थिए ।

सेवा लिन आउने विद्यार्थीको लाम झ्याल बाहिर लम्बिदैं थियो ।

केही मेसो नआए पछि खनियाले 'स्याम्पल'का लागि कुनै एउटा प्रिण्ट गर्न भने ।

यस अघि नै नमूनाका रुपमा तयार फाईललाई प्राविधिकले प्रिण्ट गरे । र खनिया त्यही कपि बोकेर बाहिरिए । उनका पछि पछि अरु लागे ।

त्यही कपी विद्यार्थीलाई दिएर सेवा शुरुवात गर्ने खनियाको योजनाले नियन्त्रक जोशी सहितका कर्मचारीलाई आपत आईपर्यो ।

अब कसलाई थमाउने त्यो कपि ?

उनीहरु छेउतिर बसेर छलफल गरे ।

औपचारिक कार्यक्रम शुरु भयो । जोशीले उक्त प्रणालीको बखान गर्न थाले । अनी खनियाका हातबाट उक्त ट्रान्सकृप्ट विद्यार्थीलाई हस्तान्तरण गर्न जोशीले आग्रह गर्दै  बोलाए – मनोज कुमार सिंह !

विद्यार्थी भए पो आउँथे ! त्यो त प्राविधिकले बनाएको नमूना कपी थियो ।

बल्ल कुरो बुझे खनियाले ! कर्मचारीहरु अलमलिएको देखेर खनियाले नै कार्यक्रममा उपस्थित कुनै एक ब्यक्तिलाई बोलाउन जोशीलाई ईसारा गरे । आफ्नो आपत् टरेको ठानेर जोशीले त्यही भएका एक जना ब्यक्तिलाई आपत्कालिन अभिभावक बनाएर खनियाको हातबाट ट्रान्सकृप्ट दिलाए ।

उक्त ट्रान्सकृप्ट पाउना साथ ति ब्यक्तिलाई दर्शक दिर्घाबाट अन्तै जान जोशीले ईशारा गरे !

अनी कार्यक्रममा औपचारिक सम्बोधन गर्दै खनियाले विशेष उत्साहका साथ कार्यक्रम हुने अपेक्षा गरिए पनि ब्यवस्थापनमा चुस्तता नआएको भन्दै असन्तोष ब्यक्त गरे । सन् २०२० भित्र त्रिविलाई आमूल परिवर्तन गर्ने गरी यस अघिनै तय भएको योजना अनुसार यो काम शुरु भएको जनाउँदै उनले अब विद्यार्थीको गुनासो कम हुने अपेक्षा गरेको भने बताए ।

'प्रविधिले गरेको विकासका अघिल्तिर आज हामीले शुरु गरेको यो सेवा के के न गर्यौं भन्ने त हैन तर जहाँ सेवा जरुरी हो त्यहीँबाट सुधार गरिएको हो' उनले भने 'यसलाई थप विस्तार गर्दै क्याम्पस क्याम्पस पुर्याउने लक्ष्य हो, चाहिएको बेला मान्छेले एटिएम मेसिनबाट पैसा झिके जस्तै गरी विद्यार्थीले आफ्नो ट्रान्सकृप्ट आफैंले प्रिण्ट गर्न सक्ने गरी ब्यवस्थापन गर्ने लक्ष्य हो ।'

विश्व बैंकको सहयोगमा सञ्चालित १० करोड रुपैयाँको उच्चशिक्षा सुधार परियोजना अन्र्तगत यो कार्य गरिएको हो । ‘ईएमआईएस’ लाई मात्रै ५ करोड १० लाख रुपैंया छुट्याईएको नियन्त्रक जोशीले एडुखबरलाई जानकारी दिए ।

'हुन त अहिले हामीले वीएडबाट मात्रै यो काम शुरु गरेका छौं निकट भविष्यमा सबै संकाय र क्षेत्रमा विस्तार गर्ने योजना हो' उनले भने 'आज पहिलो दिन भएर केही अलमल भएको हो, यो क्रमशः विस्तार हुन्छ ।'

अहिले सम्म प्रति विद्यार्थीको ट्रान्सकृप्ट अलग अलग बनाउने प्रविधि भएकोमा अब १ मिनेटमा ४५ वटा सम्म ट्रान्सकृप्ट प्रिण्ट गर्न सकिने उनले बताए ।  

यसलाई प्रदेश स्तरमा क्षेत्रीय कार्यालयहरु मार्फत् प्रभावकारी बनाउँदै एकै पटक ट्रान्सकृप्ट र प्रोभिजिनल सर्टिफिकेट वितरण प्रिण्ट गरी फोल्डरमा राखेर विद्यार्थीलाई दिने योजना रहेको भनदै उनले सेवा शुरु भए सँगै विद्यार्थीले ट्रान्सकृप्ट  प्राप्त गर्न आवेदन दिएको २४ घण्टा भित्र उपलब्ध गराउने बताए ।

'पाईलट सर्भे'को रुपमा पहिलो चरणमा स्नताक तह पहिलो बर्षका विद्यार्थीको परीक्षाको फारम पनि अनलाईनबाट भर्ने योजना बनाएको उनले बताए । यसका लागि खाद्य प्रविधि क्याम्पस धरान, पद्मकन्या क्याम्पस, काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल र कैलाली क्याम्पस धनगढीबाट यसै बर्षबाट सेवा शुरु गर्ने योजना छ ।

दीक्षान्त लगायतका अन्य काममा पनि क्रमशः अनलाईनबाटै फारम भर्ने योजना बनाईएको छ ।

विसं १९७५ मा त्रिचन्द्र क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा अध्यापनको काम शुरु भएको हो । २०१६ सालमा त्रिविको स्थापना गरिए पछि परीक्षाको काम गर्न सोही बर्ष त्रिपुरेश्वरमा परीक्षा शाखा स्थापना गरिएको थियो । ०२९ सालमा कीर्तिपुरमा परीक्षा महाशाखा र २०३७ सालबाट परीक्षा नियन्त्रण कार्यालय स्थापना गरि त्रिविले परीक्षाका काम गर्दै आएको हो ।

छुट्टै संयन्त्र हुँदा हुँदै पनि कार्यालयको अब्यवस्थित कार्य सञ्चालनका कारण विद्यार्थीले अत्यधिक सास्ति खेप्नु परेको छ । आईतबार शुरु गरिएको प्रणाली दाताको रकम सक्न र काम भएको कुरा कागजमा देखाउन मात्रै हैन साँच्चै विद्यार्थीको हैरानी घटाउन सफल होस् शुभकामना !

प्रतिक्रिया