Edukhabar
मंगलबार, ०३ भदौ २०८२
खबर/फिचर

विद्यालय कर्मचारीद्धारा निजामती सरह सुविधाको माग

शुक्रबार, ०१ असार २०७५

काठमाडौं - निर्माणको चरणमा रहेको संघीय शिक्षा ऐनमा आफूहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधाको ब्यवस्था गर्न विद्यालय कर्मचारीले माग गरेका छन् ।  आफुहरु पनि राष्ट्र सेवक कर्मचारी भएको तर्क गर्दै उनीहरुले सबै राष्ट्र सेवकहरुको संरक्षण हुने गरी  संघीय शिक्षा ऐन निर्माण गर्न माग गरेका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस अघि नै सार्वजनिक तीन महिने कार्यक्रम कार्यान्वयन योजनामा जेठ महिना भित्र संघीय शिक्षा र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयार पार्ने उल्लेख गरेका थिए । तर उक्त दुवै विधेयक रायका लागि कानून मन्त्रालयमा पुर्याईए पनि कुनै प्रगती नभएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । कानूनको राय पछि उक्त विधेयक अर्थ मन्त्रालयमा पठाईन्छ । दुवै मन्त्रालयबाट प्राप्त रायका आधारमा परिमार्जन वा थपघट गरे पछि मात्रै कानून निर्माणले गति लिने छ ।

कानून निर्माणकै चरणमा आफ्ना विषयहरुलाई समाबेश गर्ने गरी नेपाल विद्यालय कर्मचारी परिषदले सघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार सकिएको परिषद्को पाँचौ राष्ट्रिय महाधिबेशनले आफ्ना हक अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम तय गरेको नवनिर्वाचित अध्यक्ष बहादुर खड्काले जानकारी दिए ।

शिक्षा ऐन आठौं संशोधनबाट विद्यालय कर्मचारी सम्बन्धि गरिएको व्यबस्थाले विभेद गरेको र आगामी ऐन न्यायपूर्ण हुनुपर्ने परिषद्को माग छ । विद्यालय कर्मचारीहरुको स्थायित्वका लागि संघीय प्रदेश तथा स्थानीय सरकारको दायित्व बोध गराउने अभियान चलाउने, संघीय शिक्षा ऐनमा निजामती कर्मचारी सरहको सेवा सुविधा प्राप्त गर्न दवाव दिन असार मसान्त भित्र ‘काठमाडौं जाउँ अभियान’ चलाउने लगायतका कार्यक्रम तय भएको खड्काले बताए ।

‘सार्वजनिक शिक्षाको गुणस्तरको बारेमा अरुलाई दोष दिएर उम्किन कसैले मिल्दैन, सबैले आफ्नो स्थानबाट शिक्षालाई माथि उठाउन प्रयास गर्नुपर्छ, पछिल्लो समयमा सार्वजनिक शिक्षाको पहुँच राम्रो हुँदैछ, यसलाई कसरी अझै राम्रो बनाउने भन्ने तर्फ लाग्नुपर्छ’ उनले भने, ‘हामी पनि राष्ट्र सेवक हौं, सबै राष्ट्र सेवकहरुको संरक्षण हुनेगरि संघीय शिक्षा ऐन निमार्ण गरिनु पर्छ, आजको आवश्यकता पनि यहि हो ।’

महाधिवेशनले खड्काको अध्यक्षतामा ४३ सदस्यीय कार्य समिति चयन गरेको छ । जस अनुसार बरिष्ठ उपाध्यक्षमा डोलराज शर्मा पौडेल र शशी कुमार के.सी., महिला उपाध्यक्षमा सपना वज्राचार्य र महासचिवमा प्रदिप श्रेष्ठ चयन भएका छन् । यस्तै अन्य ६ जना उपाध्यक्षमा राम प्रकास कुमाई, बालकृष्ण न्यौपाने, राम अधिन ठाकुर, रामशरण फुयाल, गोविन्द घर्ती र देव बहादुर भण्डारी चयन भएका छन् ।

यसैगरी उपमहासचिवमा लोकनाथ पाण्डे र लक्ष्मण दत्त भट्ट चयन भएका परिषद्ले जनाएको छ ।

प्रतिक्रिया