Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

परीक्षा अनुगमनका नाममा जारी अनुमतिपत्र रद्द

आधिकारिक व्यक्ति बाहेकका अन्य व्यक्तिहरू समेत परीक्षा केन्द्रहरूमा गए पछि विद्यार्थीको लेखन कार्यमा असुविधा भएको ठहर गर्दै उक्त निर्णय गरिएको हो ।

शुक्रबार, १६ चैत्र २०८०

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) को अनुगमनका नाममा जारी गरिएका अनुमतिपत्र रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले विज्ञप्ति जारी गर्दै त्यस्ता अनुमती पत्र रद्द गरेको जनाएको छ । आधिकारिक व्यक्ति बाहेकका अन्य व्यक्तिहरू समेत परीक्षा केन्द्रहरूमा गए पछि विद्यार्थीको लेखन कार्यमा असुविधा भएको ठहर गर्दै उक्त निर्णय गरिएको हो ।

'अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ 'प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समिति समेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ ।’

आवश्यक परेमा त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण मात्र गर्न लगाउन सकिने जनाउँदै बोर्डका अध्यक्ष महाश्रम शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा परीक्षा केन्द्रलाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाई सहज रूपमा परीक्षा दिन पाउने वातावरण सिर्जना गरी सहयोग गर्न अन्य सम्बन्धित सबै सरोकारवालाहरूसँग अनुरोध गरिएको छ । 

प्रतिक्रिया