Edukhabar
आइतबार, ०६ जेठ २०८१
शिक्षामा गत साता

शैक्षिक संस्थाको सम्पत्ती माथि निगरानी !

शैक्षिक संस्थाको जमिन भाडामा र पालिकाका निर्णयको साता

सोमबार, २४ बैशाख २०८१

काठमाडौं - शैक्षिक संस्थाको सम्पति केही व्यक्ति र समूहले आफ्नो फाइदा हुने गरी प्रयोग गरेको, सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, पालिकाका निर्णयहरु र आधारभूत तहको न्यून नतिजा जस्ता समाचार गत साता सञ्चार माध्यममा छाए । 

नक्साल स्थित बालसंगठनको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई वि.सं. २१३१ सालसम्मका लागि भाडामा दिने सम्झौता खारेज भएको समाचार आएको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा उक्त जग्गा निजी विद्यालय वृहस्पतिलाई भाडामा दिइएको समाचारमा उल्लेख छ । भाडामा लिएको भनेको उक्त जग्गा सो निजी विद्यालयले धितो राखेको समेत पाइएको समाचारमा उल्लेख छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अतिक्रमित एक हजार रोपनी भन्दा बढी जग्गा मध्ये करिब १८ रोपनी प्राध्यापक र कर्मचारीले गैरकानुनी रूपमा भाडामा लगाउँदै आएको समाचार गत साता प्रकाशित भएको छ । नेपाल प्राध्यापक संघले ७ रोपनी भन्दा बढी, त्रिवि प्राध्यापक संघ (त्रिविप्रासं)ले ६ रोपनी र त्रिवि कर्मचारी संघ (त्रिविकसं)ले ५ रोपनी भोगचलनका लागि लिएको जग्गा अनधिकृत रूपमा भाडामा लगाएको कान्तिपुरमा समाचार छ । त्रिविप्रासंले सुमो पार्क र नर्सरी सञ्चालन गर्न जग्गा भाडामा दिएको तथा त्रिविकसंले पेट्रोल पम्प सञ्चालन गर्न दिएर भाडा लिँदै आएको समाचारमा उल्लेख छ ।

त्रिविको एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको, अतिक्रमित जमिनमा सुमो पार्क, नर्सरी र पेट्रोलपम्प सञ्चालन भएका समाचार पहिला प्रकाशनरप्रसारण भएका थिए । त्रिविसंग सम्बन्धित संस्थाले त्रिविबाट एउटा प्रयोजनमा लिएको जमिन अर्कै प्रयोजनमा प्रयोग गरेको थप समाचार गत साता आएका हुन् ।

बाग्लुङमा विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेको समाचार आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको पत्र अनुसार समन्वय इकाइले पनि पनि सूचना जारी गरे पछि दलको सदस्यता लिएका शिक्षकहरूले दलको सदस्यबाट राजीनामा दिन थालेको समाचारमा उल्लेख छ । 

त्यस्तै शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४ सय ६२ शिक्षकको लागि विज्ञापन गरेको छ । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन गरिएको समाचारमा उल्लेख छ । बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ । 

काठमाडौंको नागार्जुन नगरपालिकाले चालु शैक्षिक सत्रदेखि नगर भित्रका सबै सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गरेको समाचार छ । संविधानले माध्यामिक तहको शिक्षा निःशुल्क भने पनि विद्यालयले शुल्क लिने गरेपछि अभिभावकसँग लिने विभिन्न शीर्षकको रकम नगरपालिकाले विद्यालयलाई अनुदान दिइ नगर भित्रका सबै सामुदायिक विद्यालय निःशुल्क बनाउन लागिएको समाचारमा उल्लेख छ । नगरपालिका भित्र १९ वटा सामुदायिक विद्यालय छन् । त्यस्तै नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नै पत्नीलाई पालिका सचिवालयमा काज दिएका छन् । सीतापाइलामा रहेको जनउद्धार माविमा कार्यरत प्रावि तहकी स्थायी शिक्षिका उर्मिला बस्नेतलाई आफ्नै सचिवालयमा खटाएको समाचारमा उल्लेख छ । 

दमक नगरपालिका (नपा)ले विद्यालय आसपासको एक सय मिटरभित्र  सुर्तीजन्य  पदार्थ  बिक्रि  भइरहेको सूचना पाएपछि अनुगमन सुरु गरेको समाचार छ । 

उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयमा यस वर्ष पनि भर्ना हुन चाहने विद्यार्थीको चाप बढेको समाचार छ । प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि इञ्जिनियरिङ विषय र विद्यालय भौतिक पूर्वाधारयुक्त भएकाले विद्यार्थीको आकर्षण बढेको समाचारमा उल्लेख छ । 

झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयले विद्यार्थी धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा पठनपाठन गराउन थालेको समाचार आएको छ । विद्यालयले ३ सय नयाँ विद्यार्थीका लागि आवेदन मागेकोमा ९ सय ५० जनाको आवेदन परेपछि विहान र दिउँसो गरी दुई चरणमा कक्षा चलाउन थालेको समाचारमा उल्लेख छ । 

विद्यार्थी संख्या घट्दै गएपछि पर्वतको जलजला गाउँपालिका (गापा)ले २५ विद्यालय समायोजन गरेको छ । गापा भित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्र्थी संख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको समाचारमा उल्लेख छ । 

गोरखाको बारपाक सुलीकोट गापामा रहेको सूर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थी सिर्जनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुनाटपरी बनाउन सिकेर आयआर्जन गर्न थालेको समाचार आएको छ । 

अत्यधिक गर्मी बढेपछि खोटाङको हलेसी तुवाचुङ नपामा रहेका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन हुने भएको छ । दुधकोशी किनारमा रहेका नौवटा सामुदायिक विद्यालयमा दिउँसो गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने÷गराउने निर्णय गरेको समाचारमा उल्लेख छ । 

हेटौँडा उपमहानगरपालिका (उमनपा)ले चालु शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको समाचार छ । 

रूपन्देहीको सिद्धार्थनगर नपाको सु–संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र राय, समितिका सदस्य अशोक श्रेष्ठ, प्रधानाध्यापक रविन्द्र यादव र शिक्षक–अभिभावक संघका अध्यक्ष विनोदकुमार खराल सहितका व्यक्तिहरूले विद्यालय भित्रै मदिरा सेवन गरिरहेको भिडिओ सार्वजनिक भएको छ ।  

नक्कली परीक्षार्थी खडा गर्ने धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपाल बहादुर महत पक्राउ परेका छन् । कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएपछि उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ । त्यस्तै, कक्षा १२ को प्रश्नपत्र  ‘आउट’ गरेको अभियोगमा कास्की प्रहरीले नारायण बाँस्तोला र रामचन्द्र बाँस्तोलालाई पक्राउ गरेको समाचारमा छ । उनीहरुको साथबाट कक्षा १२ को थप उत्तरपुस्तिका आठ थान र तीन मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरीलाई उदृत गरेर समाचार आएको छ । 

झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको समाचार आएको छ । 

शिक्षक महासंघको कार्यसमिति घोषणा स्थगित भएको समाचार छ । महासंघका मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघ बीचको विवाद मिल्न नसक्दा कार्यसमिति घोषणा स्थगित भएको समाचारमा उल्लेख छ । यी दुई संगठन बीचको विवादका कारण १०, ११ र १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा कार्यसमिति बन्न नसकेपछि १७ वैशाखमा नयाँ कार्यसमिति घोषणा गर्ने जनाइएको थियो ।
देशका विभिन्न पालिकामा आधारभूत तह (कक्षा ८)को परीक्षाको नतिजा अत्यन्त न्युन भएको समाचार पनि गत साता आए ।

००००

प्रधानमन्त्री तथा विश्वविद्यालय (विवि)का कुलपति पुष्पकमल दाहालले पूर्वाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिम विविमा उपकुलपति नियुक्त गरेको समाचार आएको छ । पूर्वाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिम विवि उपकुलपतिमा क्रमशः प्रा.डा. बिजुकुमार थपलिया, प्रा.डा. ध्रुवकुमार गौतम र प्रा.डा. हेमराज पन्तलाई नियुक्त गरेको समाचारमा उल्लेख छ । 

प्रा.डा. मनप्रसाद वाग्लेले ‘खुला विश्वविद्यालय बन्द हुन सक्ने १० आधार’ भनेर कान्तिपुरमा पाठक प्रतिक्रिया लेखेका छन् । खुला विश्वविद्यालय स्थापना भएको नौ वर्ष हुँदा यसको हालत चौपट बन्दै गएको, नेतृत्व चयन गर्दा दलहरुबीच भागवण्डा र सुरुमा संकाय प्रमुख, कर्मचारी र शिक्षक भर्नामा समेत दलीय प्रभाव तथा पहिलो उपकुलपति र रजिष्ट्रारबीचको तिक्तताले विश्वविद्यालयले गति लिन नसकी लथालिंग अवस्थामा रहेको वाग्लेले पत्रमा लेखेका छन् । 

गोरखापत्रमा हरि ज्ञवालीले यस पटकको भर्ना अभियानको नाराले  विद्यालयमा बालबालिकाको सहभागिता बढाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य जटिल भए पनि असम्भव नभएको लेख लेखेका छन् । गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भए मात्र सरकारले राखेको लक्ष्य पूरा हुन सक्ने हुनाले भर्ना अभियानलाई कर्मकाण्डी प्रक्रिया मात्र नबनाई यसको सार्थकता र प्रभावकारिता बढाउँदै परिणाममुखी बनाउनु आजको आवश्यकता रहेको उनले लेखेका छन । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारी अवकाश भएको समाचारमा उल्लेख गरिएको छ । उनको अवकास पछि मन्त्रालयमा डा. दिपक काफ्ले सरुवा भएका छन् । उनी यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव थिए । 

साता भरीका शैक्षिक विषयवस्तुको वर्गीकरण र संश्लेषण गरी तिनलाई सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट  वस्तुपरक टिप्पणी गरी नीति निर्माता एवं सरोकारवालाहरुलाई एकै स्थानमा साता भरिका शैक्षिक समाचारको  सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, अनलाइन माध्यमका अनलाईन खबर, सेतोपाटी र रातोपाटी तथा हिमालय टिभि र नेपाल टेलिभिजनमा १५ देखि २१ बैशाख २०८१ सम्म प्रकाशित तथा प्रसारित सामाग्र्री यस पटक समेटिएका छन् – सम्पादक ।

गत साताका सामग्री पढ्नुहोस्  : शिक्षामा गत साता

प्रतिक्रिया