Edukhabar
सोमबार, ३० भदौ २०८२
शिक्षामा गत साता

जेनजी विद्रोह र शिक्षा निरपेक्षता

सँधै जस्तै सरकार निर्माण प्रकृयामा शिक्षा मन्त्रालय पछाडि नै रहेकाले जेनजी विद्रोह पछि पनि शिक्षालाई समाज रुपान्तरणको अस्त्र मान्नेहरुलाई उत्साह हुने ठाउँ दिएको छैन ।

सोमबार, ३० भदौ २०८२

गत साता जेनजी विद्रोहले शिक्षा क्षेत्रमा पारेको प्रभावका बारेका आएका समाचारको बाहुल्यता थियो । 

काठमाडौं - भ्रष्टाचार, नातावाद, कृपावाद, आसेपासेवाद र बेथिति विरुद्ध नवयुवा (जेनजी Generation Z) ले सुरु गरेको विद्रोहले सत्ता नै उलटफेर हुँदा विगत दुई वर्षको छलफल पछि प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरी प्रतिनिधिसभामा बुझाएको शिक्षा विधेयकको भविष्य अन्यौलग्रस्त बनेको छ । भदौ २६ गते प्रतिनिधि सभामा पेश हुने र २७ तथा २८ गते पास गर्ने कार्यतालिका रहेको थियो । प्रतिनिधिसभा विघटन भएपपछि शिक्षा विधेयकको भविष्य अन्यौलग्रस्त बनेको हो । गत साताका सञ्चार माध्यममा आएका शिक्षाका अधिकाँश समाचार पनि सोही विद्रोहको वरीपरी केन्द्रित भए । 

दलका नेताहरु संलग्न भएका वा उनीहरुको लगानी रहेका केही निजी विद्यालयमा पनि आक्रमण भयो । नामी (NAMI) कलेज, युलेन्स स्कूलमा धेरै क्षति भएको समाचार छ । 

लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कृषि क्याम्पसमा क्रियाशील तीन विद्यार्थी सङ्गठनले जेन–जीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सामूहिक रूपमा सङ्गठन खारेज गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठनले यस्तो निर्णय गरेको समाचारमा उल्लेख छ । 

अर्को एक समाचार अनुसार मन्त्रालयको आंशिक काम केशरमहल पुस्तकालयबाट सुरु गर्ने तयारी समेत भइरहेको छ । 

यद्यपी सिंहदरबार स्थित मन्त्रालयमै नयाँ मन्त्रीको पदवहाली गराउनु पर्ने भन्दै केही कर्मचारीले सरसफाई गरेर मन्त्री बस्ने कोठा तयार पारेका छन् । ठूलो विध्वंसले भएको आर्थिक क्षतीका बेला मन्त्रालय सार्ने र नयाँ खरीद गर्दा अनावश्यक रुपमा राज्यको श्रोत दोहन हुने  छ । त्यति मात्रै हैन कस्तो अवस्थामा मन्त्री भएको छु ? भन्ने गम्भिरता बोध गर्न पनि नयाँ मन्त्री सिंहदरबारकै ध्वाँसो र खरानीको गन्धमा बस्नु पर्छ । मितव्ययी हुन जरुरी रहेको भन्दै तल्ला तहका केही कर्मचारीले सरसफाई गरेर मन्त्री, सचिव र सहसचिवहरुका कोठा बस्न लायक बनाईसक्दा पनि मन्त्रालयका उच्च कर्मचारीहरु केशरमहल ताकिरहेका छन्  ! यसको पछाडी सरसामान सार्दा लगाईने ठेक्का पट्टा र नयाँ सामान खरीद गर्दा हुने कमिसनको मोहले काम गरेको छैन भन्ने बलियो आधार देखिदैंन ।  

आन्दोलनकै कारण काठमाडौं विश्वविद्यालय (केयू), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र मध्यपश्चिम विश्वविद्यालयको पठनपाठन छठ पछि मात्रै सञ्चालन हुने निर्णय सार्वजनिक भएको छ । विद्यार्थी, शिक्षक तथा कर्मचारी आवतजावतमा असहज देखिएको भन्दै विश्वविद्यालयहरुले यस्तो निर्णय गरेको जनाइएको छ । पूर्व प्रकाशित परीक्षा तथा अन्य परीक्षाको सञ्चालनका लागि विश्वविद्यालको पठनपाठन सुचारु भएपछि मात्र सूचना प्रकाशन गर्ने भएको छ । विभिन्न स्कुलबाट सञ्चालित भइरहेका परीक्षाहरूका हकमा भने सम्बन्धित स्कुलका डीन र परीक्षा नियन्त्रकले आवश्यक समन्वय गरी निर्णय लिने समाचारमा उल्लेख छ । 

त्रिविले स्नातक र स्नातकोत्तर तहका भदौ २६ देखिका परीक्षाका कार्यक्रमहरू पनि स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको सूचना निकालेको छ । मध्यपश्चिम विश्वविद्यायलले पनि परीक्षा स्थगित गरेको समाचारमा उल्लेख छ । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को भदौ २८ र २९ मा हुने भनिएको मौका (पूरक) परीक्षा स्थगित गरेको समाचार छ । परीक्षाको संशोधित परीक्षा तालिका कम्तिमा सात दिनको समयावधि दिई पछि प्रकाशन गरिने बोर्डले जनाएको समाचारमा उल्लेख छ । 

जेनजी युवा पुस्ताले नेतृत्व गरेको आन्दोलन भनिए पनि शिक्षा, अझै छलफलको विषय भएको छैन । जलाउनु पक्कै पनि निन्दनीय कुरो हो तर युलेन्समा आगजनी भने शिक्षामा भएको निजीकरण र तिनीहरुको दादागिरीको विरोधमा भन्दा त्यस विद्यालयकी अध्यक्ष काँग्रेस नेतृ आरजु देउवाको प्रभुत्वमा रहेका कारणले भएको देखिन्छ । सँधै जस्तै सरकार निर्माण प्रकृयामा शिक्षा मन्त्रालय पछाडि नै रहेकाले शिक्षालाई समाज रुपान्तरणको अस्त्र मान्नेहरुलाई उत्साह हुने ठाउँ दिएको छैन । यत्रो समय, अर्थ र उर्जाको लगानी भएर जे जस्तो अवस्थामा भए पनि आखिरी चरणमा रहेको विद्यालय शिक्षा विधेयक पक्कै पनि अन्तरिम सरकारको कार्यक्षेत्रमा पर्ने कुरा भएन । चुनाव भयो भने नयाँ संसदले यो विधेयकलाई के गर्छ भन्ने अहिल्यै यकिन गर्न सकिने कुरा भएन । शिक्षाकर्मीहरुलाई फेरि पनि चुनाव लक्षित छलफलमा शिक्षा सार्वजनिक चासोको विषय बनाउन त्यत्तिकै प्रयत्न गर्नु पर्ने देखिन्छ । केही दिनमा सत्ता हन्तारणको प्रक्रियामा शिक्षाले महत्व पाएन भने यसको पटाक्षेप पनि दीर्घकालीन परिवर्तन संस्थागत गर्ने विषयमा विचार गर्ने जाँगर, सुझबुझ र क्षमता नभएका व्यक्तित्वहरु महत्वपूर्ण निर्णायक पदमा आसीन हुने र गराउने अर्को कडीका रुपमा नै लिनु पर्ने हुन्छ । जेनजीले यस तर्फ विचार पुर्‍याउन चाहे र प्रयत्न गरे भने उनीहरुका प्रयत्न सार्थक हुन सक्छन् । कलिलो रगतको बलिदानको अर्थ पाको हुन सक्छ । 

रमेशप्रसाद गौतमले गोरखापत्रमा शिक्षा नै मानव विकासको पूर्वाधार तथा मानव इतिहास सभ्यता र संस्कृतिको आधार हुनाले  शिक्षा प्रणालीलाई प्रभावकारी सिर्जनशील जीवनोपयोगी र उत्पादनमूलक बनाउनु पर्ने लेखेका छन् । 

चीन सरकारले  भूकम्पले पूर्ण रूपमा क्षति गरेको विद्यालय एक अर्ब ३९ करोड ३८ लाख ५२ हजार रुपियाँको लगानीमा पुनर्निर्माण गरेको छ । भूकम्पले ध्वस्त विद्यालयको भवन पुनर्निर्माण हुन करिब एक दशक लागेको भए पनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा कोठा सहितको विद्यालय भवन खडा भएको समाचारमा उल्लेख छ । 

साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ भदौ २१ देखि २७ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।

गत साताका सामग्री पढ्नुहोस्  : शिक्षामा गत साता 

प्रतिक्रिया