आजको एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो - युवा आत्महत्या । नेपालमा आर्थिक वर्ष २०८० / ०८१ मा मात्र सात हजार दुई सय २२ युवाले आत्महत्या गरेका थिए । यो भनेको औसत दैनिक २० जनाको ज्यान गुम्नु हो । ती मध्ये १५ दशमलब ४ प्रतिशत विद्यार्थी थिए भन्ने तथ्यले नेपालको युवा पुस्ता गम्भीर मानसिक संकटको चपेटामा रहेको संकेत गर्दछ (The Kathmandu Post, September 10, 2024) ।
यी केवल गुमाएका जीवन मात्र होइनन् । यी अधुरा सपना, अपूरो प्रेम, अपरिचित परिवेशको बोझ र पढाइको असह्य दबाबले किशोर किशोरीहरूलाई थिचेको दुखद कथाहरू हुन् । यहाँ प्रश्न उठ्छ ः के असफलता नै यसको कारण हो ? वा यो हाम्रो युवा पुस्तामा झन्झन् कमजोर हुँदै गएको भावनात्मक सहनशीलताको परिणाम हो ? वा जीवनका कठिन मोडहरूमा लड्न, उठ्न र अगाडि बढ्न प्रेरणा दिने भावनात्मक सहनशीलता सङ्कटमा परेको हो ? यसको कारण बुझ्न हामीले आजको युवापुस्ता हुर्किरहेको वातावरणलाई अध्ययन गर्नुपर्छ ।
शैक्षिक दबाब र सामाजिक प्रभाव
आजका किशोर किशोरीहरू एक यस्तो यथार्थमा बाँचिरहेका छन् जहाँ असफलताका लागि कुनै पूर्वतयारी छैन तर सफलताका लागि असीम अपेक्षा र दबाब छ । शिक्षण संस्था, प्रतिस्पर्धात्मक वातावरण, सामाजिक सञ्जाल सबै पक्षबाट किशोर किशोरीहरू निरन्तर मूल्याङ्कन र तुलनाको चक्रमा घुमिरहेका छन् ।
काठमाडौं उपत्यकामा १४ देखि १९ वर्ष उमेर समूहका चार सय ११ विद्यार्थीमाथि गरिएको एक अध्ययन अनुसार २७ दशमलब ५५ प्रतिशत तनाव, ५६ दशमलब ९५ प्रतिशत चिन्ता र ४१ दशमलब ६५ प्रतिशतमा अवसादको लक्षण देखिएको थियो । यसको प्रमुख कारणमध्ये अत्यधिक शैक्षिक दबाब अग्रपंक्तिमा रहन्छ र यो विशेषगरी छात्राहरूमा उच्च देखिएको छ (Shrestha, Shrestha, & Thapa, 2022) ।
यस्तै कर्णाली प्रदेशमा गरिएको अर्को समुदाय आधारित चार सय २४ किशोर किशोरीहरूलाई समेटिएको अध्ययनमा १९ दशमबल ८५ प्रतिशत विद्यार्थीले मध्यम स्तरको शैक्षिक तनाव भोगिरहेका छन् भने २ दशमलब ४५ प्रतिशतलाई उच्च स्तरको तनाव देखिएको छ । छात्राहरूमा यो तनाव छात्रको तुलनामा तीन गुणासम्म बढी देखिएको थियो । यस अध्ययनमा विशेष गरी कक्षा १० मा अध्ययनरत, कम उपलब्धि भएका र शिक्षित आमा भएका विद्यार्थी बढी जोखिममा देखिए (Bhandari, Maharjan, & Yadav, 2023) ।
सामाजिक सञ्जालले “पूर्णता” को भ्रम दिन्छ, तर पर्दा पछाडिको असन्तोष र पीडालाई यसले लुकाउँछ । नेपालका कलेज स्तरका विद्यार्थीमा गरिएको एक हालैको अध्ययनले “शारीरिक सौन्दर्यको पूर्णता खोज्ने प्रवृत्ति” र “अवसाद”बीच गहिरो सम्बन्ध देखाएको छ, जसमा छात्राहरू बढी प्रभावित देखिएका छन् (Sharma & Shrestha, 2025)।
बढ्दो दबाब र मानसिक चुनौतीबीच युवाहरूलाई विपत्तिसँग जुध्न सक्षम बनाउने एउटा उपाय हो भावनात्मक सहनशीलताको विकास ।
भावनात्मक सहनशीलताको सुदृढीकरण
जीवन आफैँमा एक संग्राम हो जहाँ अनेक मोडहरू, अप्ठ्यारा र निर्णायक घडीहरू आउँछन् । महाभारतका अर्जुन समेत धर्म र माया बीच च्यापिएर रणभूमिमा पंगु भएका थिए । त्यस अवस्थामा उनलाई रणनीति सिकाउने विशेषज्ञको आवश्यकता थिएन बरु भावनात्मक सहनशीलता दिने मित्र, सारथी र मार्गदर्शकको आवश्यकता थियो ।
भावनात्मक सहनशीलता भनेको जीवनका उफ्रिँदो छालाहरूबीच स्थिर रहन सक्ने क्षमता हो । निरन्तर तनाव, दबाब र चुनौतीहरूको आँधीमा पनि यसले डुङ्गा जस्तै अडिग बनाउँछ जहाँ छालाहरूले डगमगाए पनि डुङ्गाको थामिने हिम्मत कहिल्यै मर्दैन । यसले मानसिक असन्तुलन, निराशा र विक्षिप्तताको खाल्डोबाट जोगाउँदै, कठिन परिस्थितिमा पनि आशा र दृढता कायम राख्न सक्षम बनाउँछ ।
भावनात्मक सहनशीलता एकै छिनमा विकास हुने कुरा होइन । यो न त कुनै एकल कक्षाको पाठ हो, न त कुनै कार्यक्रममा समेटिने विषय । यो एक बिरुवा जस्तै हो, जसले गहिरो जराहरू जमाउन समय लिन्छ । यसलाई बढ्नका लागि निरन्तर माया, अर्थपूर्ण सम्बन्ध र विश्वासिलो तथा अनुभवी वयस्कहरूको साथ चाहिन्छ । समय, संवेदना र उपस्थितिका ती साना तर गहिरा क्षणहरूले मात्र भावनात्मक सहनशीलताको जरा गाढा बनाउँछन् ।
शिक्षक, अभिभावक र समाजले भावनात्मक सहनशीलताको विकासलाई प्राथमिकता दिन आवश्यक छ, किनभने यही क्षमताले नै युवाहरूलाई तनावमाथि विजय प्राप्त गराउँछ र उनीहरूलाई जीवनका चुनौतीहरू सामना गर्न सशक्त बनाउँछ । यसले युवा पुस्तालाई नकारात्मक परिस्थितिबाट पुनःउत्थान गराउन र जीवनलाई सकारात्मक दृष्टिले हेर्न प्रेरित गर्छ ।
मार्गदर्शकका रूपमा शिक्षक
शिक्षकको भूमिका केवल पाठ्यपुस्तकका पानाहरू पढाउनुमा सीमित रहनु हुँदैन । उनीहरू किशोर किशोरीहरूको जीवनका जीवनदायिनी सेतु हुन् । जब उनीहरू अँध्यारोमा हराइरहेका हुन्छन्, त्यतिबेला मार्ग देखाउने ज्योति हुन् । शिक्षकले केवल ज्ञानको बीउ छर्ने मात्र होइन, विद्यार्थीको मनमा विश्वास र आत्मबलको माटो पनि तयार पार्नुपर्छ ।
के मेरा विद्यार्थीले आफूलाई देखिएको र सुनेको महसुस गर्छन् ? के उनीहरू मलाई केवल सफलताका क्षणमा मात्र होइन, सङ्घर्षका क्षणहरूमा पनि अनुभूत गर्छन् ? शिक्षकले आफैंलाई सोध्नै पर्छ ।
आजको सूचना–भीडमा किशोर किशोरीहरूलाई ‘थप तथ्य’ होइन, ‘गहिरो सम्बन्ध’ चाहिएको छ । भौतिक उपस्थितिलाई मात्र होइन भावनात्मक उपस्थितिलाई पनि महत्व दिने अनि आँखा र मन दुबै खोली दिने शिक्षक आजका किशोर किशोरीहरूको जीवनका साँच्चिकै सारथी हुन् ।
सामग्री भन्दा सम्बन्धलाई प्राथमिकता
हामीले बुझ्न जरुरी छ आजका किशोर किशोरीहरूलाई आदर्श र सम्पूर्ण व्यक्तित्व भएका पात्र चाहिएको होइन, उनीहरूलाई अहिलेको घडीमा संवेदनशील साथ दिने वयस्कहरू चाहिएको हो । यस्ता वयस्क, जसले भन्न सक्छन् “म पनि यस्ता कठिन घडीहरूबाट गुज्रेको छु । म पनि लडेको हुँ । हामी सँगै अघि बढौं ।”
फरक ल्याउने कुरा सुझाव होइन, साथ हो । प्रभावशाली बनाउने कुरा प्रदर्शन होइन, उपस्थिति हो । यही उपस्थितिले युवाको पीडामा मलम लगाउन सक्छ ।
कक्षाको परिकल्पना यस्तो स्थानको रूपमा गर्न जरुरी छ, जहाँ विद्यार्थी केवल अंकले मापन गरिने उत्पादन होइनन्, तर चिनिने, बुझिने र सुन्ने पात्र हुन् । जहाँ असफलता डरको विषय होइन, सिकाइको एउटा चरण हो । जहाँ शिक्षक पाठ मात्र होइन, आशा र प्रेरणाका संरक्षक हुन्छन् । यस्तो वातावरणमा विद्यार्थीले आफ्ना मानसिक बोझ एक्लै बोक्नु पर्दैन । प्रत्येक सच्याइको पछाडि चिन्ता छ, प्रत्येक मौनताको पछाडि सुनिने अपेक्षा छ भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ ।
यस्तो शैक्षिक वातावरण बनाउन कुनै ठूलो बजेट वा संरचनागत पुनर्निर्माण आवश्यक छैन । यसको सुरुवात विद्यार्थीलाई नामबाट बोलाउने, व्यवहारमा आएको परिवर्तनलाई ध्यान दिने, “तिमी ठीक छौ ?” भनेर साँचो चासोका साथ सोध्ने जस्ता सामान्य तर अर्थपूर्ण अभ्यासहरूबाट हुन्छ । यो हो प्रतिस्पर्धामूलक संस्कारबाट सम्बन्धमूलक संस्कृति तर्फको आवश्यक रूपान्तरण ।
शाश्वत सारथी
आजको जटिल सामाजिक परिवेशमा शिक्षक, अभिभावक र सल्लाहकारहरूमाथि किशोर किशोरीहरूको केवल मार्गदर्शक होइन, संवेदनशील सारथी बन्ने एक गम्भीर आह्वान आएको छ । उनीहरूका अघि होइन, छेउमा सँगै हिंड्ने साथीको उपस्थिति नै आजको आवश्यक भूमिका हो । सबै समस्याको उत्तर हाम्रै हातमा नहुन सक्छ, तर हामी उनीहरूलाई उत्तर खोज्ने यात्रामा साथ र आँट दिन सक्छौं ।
हाम्रो धार्मिक कथाहरूले यस जिम्मेवारीबारे गहिरो अर्थ दिन्छ । अर्जुनलाई कुरुक्षेत्रको रणभूमिमा समाधान भन्दा बढी आत्मबल चाहिएको थियो । त्यो बेला श्रीकृष्णले तर्क वा रणनीति होइन, मौन विश्वास र साथ दिए । एकलव्यले गुरुको प्रत्यक्ष उपस्थितिको अभावमा पनि, मूर्ति बनाएर निरन्तर अभ्यास गरिरहे र एक कुशल धनुर्धर बने । मच्छिन्द्रनाथले बाटो बिर्सिदाँ गुरु गोरखनाथले मौन उपस्थिति मार्फत मार्ग देखाए । सीता लङ्कामा उद्धारको प्रतीक्षामा रहँदा हनुमानको आत्मीय स्वर नै भरोसाको संकेत बन्यो ।
यी कथाहरू आज पनि उतिकै सान्दर्भिक छन् । किशोर किशोरीहरूलाई आज ‘पाठ’ होइन, ‘साथ’ चाहिएको हो । समाधानहरूले समस्या त हटाउँछन्, तर मानवीय उपस्थितिले मात्रै मनलाई निको पार्छ ।
आजको मनोवैज्ञानिक रणभूमिमा, हरेक किशोर किशोरीलाई अर्जुनलाई जस्तै एक सारथी चाहिएको छ जो सुन्छ, बुझ्छ, अनि मौनतामा पनि साथ दिन जान्दछ । यस घडीमा हाम्रो कर्तव्य स्पष्ट छ केवल शिक्षण होइन, सहयात्रा ।
भविष्य निर्माणमा मानवीय स्पर्शको अपरिहार्यता
आजको डिजिटल युगमा एउटा बटन थिच्नासाथ सबै उत्तर पाइन्छ । यो कृत्रिम बुद्धिमत्ता (एआई)को युग हो । एआईले ज्ञान दिन सक्छ, केही हदसम्म सीप पनि सिकाउन सक्छ । तर के यसले जीवन्त अनुभवको गहिराइ दिन सक्छ ? के यसले आत्माको सारथी बन्न सक्छ ? जति नै विकसित किन नहोस्, एआईले त्यो टुटेको मनको कोमलता महसुस गर्न सक्दैन । त्यो आँखाभित्र लुकेको मौन पीडा पढ्न असमर्थ छ । मानवीय स्पर्शको सौम्य उष्मा दिन पनि सक्दैन । प्रविधिले युग परिवर्तन गरिरहेको छ तर ती युवाहरूका हृदयमा मानवीय उपस्थितिको आवश्यकता कहिल्यै मेटिने छैन । एआईले भूमिकाहरू फेरिदिन सक्छ, तर यसले संवेदनशील मनहरूको महत्त्व मेटाउँदैन बरु झन आवश्यक बनाउँछ ।
धेरैलाई एआईले आफ्नो भविष्यमा असर पार्ने चिन्ता छ । तर भविष्यसँग डराउने होइन, हृदयको ताप, आशाको उज्यालो र मानवीय स्पर्शको शक्तिसँग भविष्यलाई आकार दिनुपर्छ । किनभने एआईले मानवीय भूमिकामा परिवर्तन ल्याउन सक्छ, तर यसले कहिल्यै मानिसको स्थान लिन सक्दैन । नदेखिएका आँसुहरू पुछ्न, मौन आँखा भित्रको सन्देश बुझ्न र मन छुने साथ दिन एआई होइन संवेदनशील मनहरू नै चाहिन्छन् ।
राई, नेपाल जेसुइट संस्थाका अध्यक्ष हुन् । जेसुइट संस्थाले शैक्षिक र सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।
प्रतिक्रिया