काठमाडौं - सत्ताधारी दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षक बढुवाको विषयमा अड्को थापे पछि सांसदहरु बिच भएको रस्साकस्सीकै बिच संसदीय समितिको बैठक स्थगित भएको छ । शिक्षक महासंघले शिक्षक बढुवामा आवश्यक पर्ने अंक हटाउन दिएको दबाबमा सत्ताधारी दल कांग्रेसका प्रमुख सचेतक घिमिरेले अड्को थापे पछि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पाँच दिन भित्र सहमती गर्न सरकारलाई समय दिएका छन् । त्यस अघि उनले समितिलाई खेलौना जस्तो बनाएको भन्दै आक्रोश पोखेका थिए ।
'आजको बैठकमा विधेयक पारित गर्ने कार्यसूची थियो, तर कहिले बैठक स्थगित गर्ने भन्ने कहिले बोलाउने यस्तो गरेर हुन्छ ?' प्रश्न गर्दै उनले भने 'पाँच दिन भित्र सहमती जुटाएर मलाई दिनु पर्यो । पाँच दिनको समय दिएँ ।'
मन्त्री रघुजी पन्तले समय नतोक्न आग्रह गरेका थिए ।
'चार दिन पनि हुन सक्छ । सात दिन पनि हुन सक्छ ।' उनले भनेका थिए ।
त्यस अघि बैठकमा शिक्षक पदपूर्तिका विषयमा ६०/४० गर्न शिक्षक नेताहरुले सहमती जनाएको दावी गरेका सत्ताधारी दल नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेले शिक्षक बढुवाको विषयलाई अड्को थापे पछि सांसदहरु बिच भनाभन भएको थियो ।
एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ । यसको लागि शिक्षकले पाँच वर्षमा औषत ९० अंक ल्याउनु पर्ने प्रावधान राखिएकोमा शिक्षक महासंघले अंक हटाएर तोकिए बमोजिम राख्नु पर्ने भन्दै सरकारलाई दबाब दिएपछि समितिको आइतबारको विधेयक पारितको कार्यसूची नै प्रभावित भएको हो ।
कांग्रेस सांसद घिमिरेले बैठकको सुरुवातमा बैठक स्थगितको प्रस्ताव गरेका थिए । यसमा मन्त्री पन्तले समर्थन जनाउँदै अझै छलफल गर्न समय माग गरेका थिए ।
यो बैठक बस्नु अघि परामर्श समितिको बैठक बसेको थियो । बैठकमा शिक्षा मन्त्रीले ८० अंकको प्रस्ताव ल्याएका थिए भने समिति सभापति थापाले ८५ अंक राख्नु पर्ने प्रस्ताव ल्याएका थिए । कांग्रेस सांसद घिमिरेले भने शिक्षकको माग अनुसार नै तोकिए बमोजिम राखेर सरकारले पछि नियमावली बनाउने क्रममा समावेश गर्ने गरी सहमती जटाउनु पर्ने प्रस्ताव गरेका थिए ।
गत १६ गतेको बैठकमा शिक्षक पदपूर्तिको विषयमा घिमिरेले नै अड्को थापे पछि बैठक स्थगित गरिएको थियो । आईतबारको बैठकको शुरुमै शिक्षक पदपूर्तिका विषयमा ६०/४० गर्न शिक्षक नेताहरुले सहमती जनाएको दावी गरेका थिए । तर, ६०/४० को विषय टुङ्ग्याउदै गर्दा बढुवाको विषय मान्नु पर्ने उनको कुरा पछि बैठकमा एक किसिमको तनाव सृजना भएको थियो ।
पढ्नुहोस् : ६० /४० पछि बढुवाको अड्को सांसदहरु बिच भनाभन
बैठकमा सांसदले व्यक्त गरेका धारणा पढ्नुहोस् : शिक्षक महासंघ ६०/४० मा सहमत : कांग्रेस प्रमुख सचेतक
प्रतिक्रिया