Edukhabar
बुधबार, २५ असार २०८२
खबर/फिचर

त्रिविको नयाँ उपकुलपतिमा अर्याल

२०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्यव्यङ्यकार एवं साहित्यकार स्व.भैरव अर्यालका जेठा छोरा हुन् ।  उनी त्रिवि सेवा प्रवेश गरे देखि अहिले सम्म लगातार जल तथा मौसम विज्ञान केन्द्रीय विभाग मै कार्यरत छन् ।

बुधबार, २५ असार २०८२

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले बुधबार अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको तीन जनाको नाम मध्येबाट प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् । सिनेट बैठकको अघिल्लो दिन ओलीले अर्याललाई नियुक्त गरेका हुन् । 

'शिक्षामन्त्रीको संयोजकत्वको सिफारिस समितिले गरेको तीन जनाको नाम मध्ये प्रधानमन्त्रीले उहाँलाई नियुक्तिको औपचारिक निर्णय गर्नु भएको हो' प्रधामन्त्रीको सचिवालय श्रोतले भन्यो । 

२०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्यव्यङ्यकार एवं साहित्यकार स्व.भैरव अर्यालका दुई भाई छोरा मध्ये जेठा हुन् ।  उनी त्रिवि सेवा प्रवेश गरे देखि अहिले सम्म लगातार जल तथा मौसम विज्ञान केन्द्रीय विभाग मै कार्यरत रहेका छन् ।

विश्वविद्यालयको सिनेट बिहीबारका लागि तय भएकोले नियुक्तिको सबै प्रकृया बुधबार नै सक्ने प्रधानमन्त्रीको निर्देशन भएको उक्त श्रोतले जनायो । 

गत २२ गतेका लागि तोकिएको सिनेट बैठक रोकेर प्रधानमन्त्री ओली सडक उद्घाटन गर्न हुम्ला गएका थिए । सिनेट रोकिँदा आगामी बर्षको बजेट पास गर्ने र दिक्षीत हुने ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्य रोकिएको बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तोकिएको सिनेटले  त्रिविको नीति तथा कार्यक्रम र बजेट पारितको औपचारिकता पुरा गर्ने छ । 

प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्ने दुई बर्ष अघिको थितीलाई वेवास्ता गर्दै मन्त्री पन्तले अर्याल सहित अहिले कुलपतिको जिम्मेवारी सम्हाली रहेका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र विज्ञान तथा प्रविधि संकायका पूर्व डिन प्रा डा विनिल अर्यालको नाम सिफारिस गरेका थिए । 

दुई बर्ष अघि नियुक्त प्रा.डा केशरजंग बरालले दलगत राजनीतिक हस्तक्षेपले स्वतन्त्रता पूर्वक काम गर्न नपाएको गुनासो गर्दै गत चैत १६ गते राजिनामा दिएर बाहिरिएपछि विश्वविद्यालय नेतृत्व विहीन थियो । नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा मन्त्री पन्त संयोजकत्वमा गत जेठमा गठन गरिएको सिफारिस समिति सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव सदस्य  थिए । प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट गर्ने थिती बिगारेर सिफारिस समितिले यस पटक अपनाएको शैली प्रति आलोचना भईरहेको छ । उक्त आलोचनाका बिच मन्त्री पन्तले गत सोमबार तीन जनाको नाम प्रधामन्त्री एवं कुलपति समक्ष सिफारिस गरेका थिए ।   

बनिसकेको थिती 'भत्काएर' नियुक्तिको तयारी

प्रतिक्रिया