काठमाडौं - विना प्रतिस्पर्धा स्वेच्छाचारी ढंगले नियुक्ति गरेको भन्दै सत्ताधारी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको नियुक्ति प्रकृया प्रति विरोध जनाएको छ । शिक्षामन्त्री रघुजी पन्त संयोजकत्वको समितिले सिफारिस गरेका तीन जना मध्ये प्रा.डा. दीपक अर्याललाई प्रधानमन्त्री केपी ओलीले बुधबार उपकुलपति नियुक्त गरेका थिए । उक्त कार्यलाई नेविसंघ विश्वविद्यालय एकाईले दुर्भाग्यपूर्ण भनेको हो ।
एकाई सभापति विष्णु बडैलाले मेरिटक्रेसी लाई लत्याएर सिफारिस प्रणाली मार्फत गरिएको नियुक्तिले विश्वविद्यालयलाई शैक्षिक संस्था नभई राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको आरोप लगाएका छन् । बुधबार साँझ जारी विज्ञप्तिमा योग्यता र क्षमताको आधारमा नभई नियुक्ति गरिएको आरोप छ ।
त्रिविमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने आफूहरुको निरन्तरको माग स्मरण गराउँदै विज्ञप्तिमा विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको उल्लेख छ । उक्त अभियानले विद्यार्थी समुदायभित्र व्यापक समर्थन पाइरहेको उल्लेख गर्दै विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु गम्भीर आपत्तिको विषय बनेको उल्लेख छ ।
स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै नियुक्ति भएको भन्दै विज्ञप्तिमा यसलाई अत्यन्त दुर्भाग्यपूर्ण भनिएको छ ।
‘यस्तो नियुक्तिले त्रिविलाई शैक्षिक संस्था होइन, राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको छ । यस्ता राजनीतिक नियुक्तिहरूलाई नेविसंघ पूर्णतः अस्वीकार गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीज्यूले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु गम्भीर आपत्तिको विषय बनेको छ ।’
विश्वविद्यालय प्रति प्रधानमन्त्रीको दृष्टिकोण शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको नेविसंघको आरोप छ । उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि अवलम्बन गर्न, पारदर्शी प्रतिस्पर्धाका आधारमा मात्र नियुक्ति गर्न माग गरिएको छ ।
यसैगरी नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अर्यालको नेमप्लेट नै फालिदिएको छ । संगठनका कार्यवाहक अध्यक्ष शिवराज भट्टले मेरिटोक्रेसीको उल्लङ्घन गर्दै राजनीतिक भागबण्डाको आधारमा उपकुलपति नियुक्ति भएको भन्दै स्विकार गर्न नसक्ने बताए ।
यस अघिका उपकुलपति प्रा.डा. केशरजंग बरालको नियुक्तिका बेला प्रतिस्पर्धाको विधि अपनाईएको थियो । दलगत राजनीतिक प्रभावले थिलथिलो बनाईएको विश्वविद्यालयमा बसिसकेको थिती शिक्षामन्त्री पन्तले भत्काईदिएका छन् ।
पढ्नुहोस् : बनिसकेको थिती 'भत्काएर' नियुक्तिको तयारी
पन्त संयोजकत्वको समितिले अर्याल सहित उपकुलपतिको जिम्मवारी पाएका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी र प्रा.डा. विनिल अर्यालको सिफारिस गरेका थिए ।
बुधबार अबेर दिउँसो ओली समक्ष पद तथा गोपनीयताको सपथ खाएर अर्याल विश्वविद्यालयमा पदभार गर्न पुगेका थिए । साँझ ६ बजे आसपास उपकुलपति कार्यालय छिरेका अर्यालले विश्वविद्यालयका जे सुकै समस्या भए पनि वार्ताबाट समाधान गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए ।
'मेरो कार्यकालमा कहीँ कतै कसैले पनि दुख पाउनु नपरोस्, जे पनि समस्या छ भने समस्या वार्ताबाट समाधान गरौं, कर्मचारीहरुको असन्तुष्टि हुन सक्छ, शिक्षक साथीहरुको असन्तुष्टि हुन सक्छ, विभिन्न संकाय विभिन्न रिसर्च सेण्टरमा काम गर्ने अनुसन्धानकर्ताहरुको हुन सक्छ, आउँ बसौं सँगै बसेर छलफल गरौं, हामी सँग एउटा बलियो टिम छ भन्ने विश्वास गरेको छु' उनले भने 'पदाधिकारी, डिनहरु परीक्षा नियन्त्रक सबै जनाको सरसहयोगबाट नयाँ ढंगले विश्वविद्यालयलाई अगाडी बढाउन सकिन्छ भन्ने आशा छ ।'
विहीबार विहानका लागि पूर्व निर्धारित सिनेटको तयारीमा जुट्नु पर्ने भएको भन्दै अर्यालले पदभार कार्यक्रम संक्षिप्त बनाउन विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका थिए ।
प्रयोग गरिएको फोटो निर्मल अर्यालबाट प्राप्त
प्रतिक्रिया