Edukhabar
आइतबार, ०६ पुस २०८२
गतिविधि

भद्रगोल ईमिस

हरेक विद्यार्थीको आईडी अनिवार्य गरिएकाले विद्यार्थी संख्या सहि रहेकोमा सरकार ढुक्क, तर २६ बर्ष अघि शुरु ईमिस आज सम्म पनि हुन सकेको छैन विश्वसनीय र भरपर्दो

आइतबार, ०६ पुस २०८२

काठमाडौ - सामुदायिक विद्यालयका विद्यार्थीको तथ्याङ्क व्यवस्थित गर्न बिभिन्न दातृसंस्थाहरुको सहयोगमा झण्डै तीन दशक अघि देखि शुरु गरिएको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईमिस) अहिले सम्म पनि विश्वसनीय र भरपर्दो रुपमा सञ्चालन हुन सकेको छैन । पछिल्लो समयमा विद्यार्थी भर्ना, विद्यालय स्थानान्तरण, छात्रवृत्ति लगायत विद्यालयले विद्यार्थीका टाउका गनेर पाउने गरेका विभिन्न प्रकारका सहुलियत तथा अनुदानका लागि विद्यार्थीको आईडी अनिवार्य गरिएको छ । आईडी अनिवार्य गरिएकाले विद्यार्थी संख्या सहि रहेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र ढुक्क छ । केन्द्रले ईमिस डाटा भेरिफिकेशन गर्ने भनेर विशेष कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

तर, विद्यालयमै पुगेर एक एक गरी विद्यार्थीको संख्या केलाउँदा ईमिसमा भद्रगोल फेला परेको छ । 

मधेस र बागमती प्रदेशका दुई पालिकाका २० विद्यालयहरुमा एडुखबरले गरेको अध्ययनले विद्यालयहरुको ईमिस प्रणालीमा गम्भिर त्रुटि फेला परेको हो । नमूनाका रुपमा मधेसको पर्सा स्थित बिन्दबासिनी र बागमतीको नुवाकोट स्थित लिखु गाउँपालिकाका विद्यालय केन्द्रित भएर उक्त अध्ययन गरिएको हो । बिन्दबासिनीका सात र लिखु गाउँपालिकाका सबै १३ सामुदायिक विद्यालयका पाँच देखि १२ बर्ष उमेर समूहका विद्यार्थी संख्यामा केन्द्रित रहेर अध्ययन गरिएको हो । उक्त अध्ययनको तथ्याङ्क विश्लेषण गर्दा पहाडी क्षेत्रको तुलनामा मधेसका विद्यालयमा ईमिस प्रणालीमा दोब्बर त्रुटि रहेको  तथ्य फेला परेको छ ।

EMIS_edukhabar_school list
अध्ययन गरिएका सबै २० विद्यालयको नाम / पालिका अनुसारको  सूची

भर्ना भएका विद्यार्थीको विद्यालयमा हुने नियमिमताको अवस्था केन्द्रित भएर उक्त अध्ययन गरिएको हो । ईमिस र हाजिरी कापीमा रहेका एक एक विद्यार्थीको संख्या केलाउँदै नाम भिडाएर तथ्य यकिन गरिएको हो । 

नेपालको शिक्षा क्षेत्रमा नीति विकास, योजना, बजेट र प्रमाणमा आधारित व्यवस्थापन अभ्यासहरूको लागि समय सापेक्ष तथ्याङ्क र जानकारी प्रदान गर्ने उद्देश्य साथ उक्त प्रणाली शुरु गरिएको थियो । यूनेस्को अन्तरगतको युनेस्को तथ्याङ्क संस्थान (यूआईएस) को आर्थिक तथा प्राविधिक सहयोगमा तत्कालिन शिक्षा विभाग मार्फत् (सन् १९९९ अर्थात् बि.सं. २०५६ साल) २६ बर्ष अघि उक्त प्रणाली शुरु गरिएको थियो । यूआईएस सहितको संयुक्त वित्त कोष खडा गरी सञ्चालन गरिएको उक्त प्रणाली शुरु भएको अढाई दशम बढी समय वितिसक्दा पनि विद्यार्थीको यकिन तथ्याङ्क नै तयार हुन सकिरहेको छैन ।

शिक्षा ऐनको आठौं संशोधनसँगै विभागको बदलिएको नाम, शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीले नै उक्त प्रणाली व्यवस्थापन गर्दै आएको छ ।

विद्यार्थीको संख्याका आधारमा राज्यले उपलब्ध गराउने सुविधालाई व्यवस्थित गर्न उक्त प्रणाली विकास गरी लागू गरिएको हो । विद्यार्थी संख्याका आधारमा शिक्षकको उपलब्धता र आवश्यक भौतिक पूर्वाधार सहित विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक, विभिन्न प्रकारका छात्रवृत्ति, दिवा खाजा लगायत राज्यले दिने सेवा सुविधा यही प्रणालीमा उल्लेख विद्यार्थी संख्याका आधारमा उपलब्ध गराईदैँ आएको छ । तर, उक्त प्रणालीमा प्रविष्ट गरिएको विद्यार्थी संख्या नै भद्रगोल फेला परेसँगै राज्यले प्रदान गरेको आर्थिक श्रोत कतै अनावश्यक खर्च भइरहेको त छैन भन्ने प्रश्न थप शंकास्पद भएको छ । 

ईमिस प्रणालीमा देखिएका सामान्य त्रुटिलाई मात्रै सच्याउने हो भने पनि कूल शिक्षा बजेटको १० देखि १२ प्रतिशत सम्म रकम तत्काल जोगिने शिक्षाविद् डा. विष्णु कार्की बताउँछन् । चालु आर्थिक बर्षका लागी संघीय सरकारले कूल  १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमा शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम कुल बजेटको १० दशमलब ७५ प्रतिशत हो । कार्कीले भने जस्तै उक्त रकमको न्यूनतम १० प्रतिशत मात्रै चुहावट रोकियो भने पनि २१ अर्ब ११ करोड ७० लाख रुपैंया जोगिन्छ । एकातिर शिक्षामा बजेट कम भयो भन्ने र अर्कातिर यस्ता चुहावट जारी राखेर अर्बौ रकम बेपर्वाह खर्च हुनु  विडम्बना भएको उनको भनाई छ । 

‘विद्यार्थी संख्या यकिन गर्न र सोही अनुसार राज्यले प्रदान गर्ने सेवा सुविधा वितरण गर्न शुरु गरिएको ईमिसको तथ्याङ्कमा नै त्रुटि देखिनुले सुधारको खाँचो देखाएको छ’ उनले भने ‘तत्काल विद्यार्थीको दोहोरिएको नाम मात्रै हटाउने कामबाट शुरु गर्न सकिन्छ, अरु त्रुटिहरु क्रमशः सच्याउँदै जान सकिन्छ यत्ति मात्रै गर्ने हो भने पनि थुर्पै रकम बचत हुने देखिन्छ ।’

उक्त रकम शिक्षकको नयाँ नियुक्ति लगायत अन्य आवश्यक क्षेत्रमा खर्च गर्न सकिने कार्कीको सुझाव छ ।  

श्रोतकै अभावमा सामुदायिक विद्यालयमा आवश्यक शिक्षकको प्रवन्ध गर्न कठिनाई भएको सरकारले बताउँदै आएको छ । पूर्व सचिव डा. महाश्रम शर्माको संयोजकत्वमा २०७५ सालमा सरकारले गठन गरेको कार्यदलले करिव ५५ हजार शिक्षक दरबन्दी थप गर्न सुझाव दिए पनि श्रोतकै अभावमा शिक्षक थप्न नसकिने सरकारले तर्क गर्दै आएको छ । उक्त प्रतिवेदन कार्यान्वयन नहुँदै फेरी २०८१ सालमा पूर्व शिक्षा सचिव दीपेन्द्रविक्रम थापाको अध्यक्षतामा सरकारले गठन गरेको अर्को कार्यदलले झण्डै ५७ हजार शिक्षक अभाव भएको प्रतिवेदन सरकारलाई बुझाएको बताइएको छ । यद्यपी उक्त प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।  

अध्ययनमा फेला परेको तथ्य अनुसार २० प्रतिशत विद्यार्थीको नाम ईमिसमा दोहोरिएको छ । अर्थात् कार्कीले भने जस्तै दोहोरिएको नाम मात्रै हटाउने हो भने पनि ठूलो रकम चुहावट रोकिने छ । श्रोतकै अभाव देखाएर शिक्षक अभावको डरलाग्दो अवस्था सम्बोधन गर्न पछि हट्दै आएको सरकारले विद्यार्थीको यकिन तथ्याङ्क अद्यावधिक गर्ने बित्तिकै भईरहेको श्रोतबाटै खर्च पुग्ने कार्कीको तर्क छ ।

अध्ययनका क्रममा ईमिस प्रणालीका विषयलाई विभिन्न ८ उपशिर्षकमा केन्द्रित गरिएको थियो । 

EMIS_info_edukhabar
ईमिसमा देखिएको त्रुटिको प्रतिशत

अध्ययनका क्रममा समेटिएका उक्त (५-१२ बर्ष) उमेर समूहमा लिखुका सबै १३ विद्यालयका दुई हजार दुई सय ६५ विद्यार्थी छन् । यस्तै बिन्दबासिनीका सात विद्यालयका एक हजार पाँच सय १३ विद्यार्थी अध्ययनम समेटिएका छन् । यी विद्यार्थी मध्ये लिखु गाउँपालिकाका दुई सय २७ र बिन्दबासिनीका दुई सय ९९ गरी कूल पाँच सय २६ जनाको ईमिस रेकर्डमा केही न केही त्रुटि देखिएको छ । यो भनेको लिखुमा १० र बिन्दबासिनीमा २० प्रतिशत त्रुटि हो । 

यी मध्ये विद्यार्थीको नाम सार्वजनिकमा भएका तर निजी विद्यालयमा पढ्दै गरेका विद्यार्थी ७८ जना अर्थात् १५ प्रतिशत फेला परेका छन् । यस्तै ईमिसमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थीको संख्या एक सय ३९ अर्थात् सबै भन्दा धेरै २६ प्रतिशत विद्यार्थी छन् । विद्यालयमा विद्यार्थी भए पनि ईमिसमा नाम प्रविष्ट नगरेका ६७ जना अर्थात् १३ प्रतिशत र हाजिरी कापीमा नाम भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थी संख्या १९ अर्थात् चार प्रतिशत फेला परेका छन् । यसैगरी ईमिसमा नाम नभएका तर, हाजिरी कापीमा नाम लेखिएका भए पनि त्यस्ता विद्यार्थी अरु नै विद्यालय वा टाढाका जिल्लामा गएको विद्यालयले दावी गरेको पनि फेला परेको छ । यस्ता विद्यार्थीको संख्या ३४ जना अर्थात् छ प्रतिशत छ । एउटा कक्षामा उपस्थित भएका विद्यार्थीको अर्कै कक्षाको ईमिस भरिएको पनि फेला परेको छ । यस्ता विद्यार्थीको संख्या ३७ अर्थात् सात प्रतिशत देखिएको छ । यसैगरी एउटै विद्यार्थीको ईमिसमा दोहोरो नाम उल्लेख गरेर भएको त्रुटि पनि फेला परेको छ । यस्ता विद्यार्थी एक सय पाँच जना रहेका छन् । अर्थात् २० प्रतिशत विद्यार्थीको ईमिसमा नाम दोहोरिएको फेला परेको छ । यो ईमिसमा नाम भएर पनि विद्यालयमा अनुपस्थित हुने विद्यार्थी संख्या पछि दोश्रो सबैभन्दा धरै त्रुटि भएको उपशिर्षक हो ।  हाजिरी कापीमा उपस्थित देखिएका विद्यार्थी विद्यालयमै नआउने गरेको पनि फेला परेको छ । यस्ता विद्यार्थी ४७ जना फेला परेका छन् । अर्थात् यस्ता विद्यार्थी संख्या नौ प्रतिशत हुन आउँछ । 

ईमिस भर्न ठेक्का

ईमिसमा विद्यार्थीको विवरण भर्ने मुख्य दायित्व विद्यालयका प्रधानाध्यापकको हो । तर कतिपय विद्यालयका प्रधानाध्यापकहरुले उक्त जिम्मेवारी आफूले निर्वाह नगरी तेश्रो व्यक्तिलाई दिने गरेको समेत फेला परेको छ । 

गिर्जा प्रा.वि
गिर्जा प्रा.वि.

बिन्दबासिनीको झौवा गुठि स्थित गिर्जा प्राविका प्रधानाध्यापक गोपाल जी साह ईमिस भर्ने जिम्मा अर्कैलाई दिदाँ समस्या भएको स्विकार्छन् । उक्त विद्यालयको ईमिस प्रणालीमा कुल दुई सय १४ जना विद्यार्थीको नाम प्रविष्ट गरिएको छ । तर विद्यालयमा जाँदा तीन वटा कक्षा कोठामा २९ जना मात्रै विद्यार्थी फेला परे । ती विद्यार्थी मध्ये प्रारम्भिक कक्षाका ११ जना भुईमैं थिए ।

03_girja
गिर्जा प्रा.वि. का प्रारम्भिक बाल कक्षाका विद्यार्थी

अन्य विद्यार्थीलाई दुई वटा कक्षा कोठामा राखिएको थियो । जहाँ प्रति कक्षामा आठ / आठवटा मात्रै डेक्स बेञ्च थिए । 

गिर्जा प्रा.वि. को कक्षामा विद्यार्थी
गिर्जा प्रा.वि. को कक्षामा विद्यार्थी

विद्यालयमा भेटिएकी शिक्षक मीना देवीले छिमेकी विद्यालयकी कर्मचारीको निधन भएकोले अधिकाँश विद्यार्थी त्यतै गएकाले कम उपस्थित भएको दावी गरिन् । अरु दिन विद्यार्थी आए पनि आज कम भएको शिक्षक कन्हैया प्रसाद यादवको पनि दावी थियो ।

तर, विद्यालयका दुई वटा कक्षा कोठामा राखिएका डेक्स बेञ्चको संख्या हेर्दा नै ईमिसमा उल्लेख सबै विद्यार्थी उपस्थित नहुने प्रष्ट थियो । 

सबै विद्यार्थी आउँदा कहाँ बस्छन् त ?

शिक्षकहरुसँग जवाफ थिएन ।  

ईमिसमा नाम प्रविष्ट गर्ने जिम्मा प्रधानाध्यापकको भएको भन्दै यी शिक्षकहरुले धेरै कुरा खुलेर गर्न चाहेनन् । अध्ययनका शिलशिलामा गत भदौ २३ गते विद्यालयमा पुग्दा प्रधानाध्यापक साह घरमा श्राद्ध परेकोले आफू विदामा भएको बताए । टेलिफोन सम्पर्कमा आएका उनले विद्यालयमा कम्प्युटर नभएकोले ईमिस भर्ने कामको जिम्मा अरुलाई नै दिएको र त्यसमा के कस्तो त्रुटि छ भन्ने आफूलाई पनि थाहा नभएको स्विकारे । 

‘हामीसँग कम्प्युटर छैन त्यसैले पहिला देखि नै अरुलाई भर्न दिदैं आएका छौं, हामी नाम दिन्छौं उसैले भरिदिन्छ’ उनले भने ‘धेरै वटा विद्यालयको ईमिस उसैले भरिदिन्छ, हाम्रोमा के कस्तो अवस्था छ म आएपछि अपडेट गर्छु, आज विदामा छु ।’ 

ईमिस भर्न ठेक्का दिएको व्यक्तिको परिचय खुलाउन भने उनले चाहेनन् । 

दलितलाई दोष !

बिन्दबासिनीमा प्रतिशतका आधारमा ईमिसमा सबै भन्दा धेरै त्रुटि फेला परेको विद्यालय ज्ञान सागर दलित प्रावि गर्दौल हो । 

ज्ञान सागर दलित प्रावि, गर्दौल
ज्ञान सागर दलित प्रावि, गर्दौल

यहाँ ईमिसमा भएका भन्दा ३६ जना विद्यार्थी हाजिरी कापीमा धेरै फेला परे । ईमिसमा एक सय ३१ विद्यार्थी भए पनि हाजिरी कापीमा एक सय ६७ विद्यार्थीको नाम लेखिएको छ । यी मध्ये ८० जना विद्यार्थीको तथ्याँङ्क गडबढ फेला परेको छ । यो भनेको कूल विद्यार्थीको ४८ प्रतिशत हो । 

अध्ययनका क्रममा विद्यालयमा पुग्दा १५ जना जति मात्रै विद्यार्थी थिए । 

ज्ञान सागर दलित प्रावि गर्दौलका विद्यार्थी र शिक्षक
ज्ञान सागर दलित प्रावि गर्दौलका विद्यार्थी र शिक्षक


प्रधानाध्यापक अकलेस प्रसाद जैसवाल विद्यालयमा अध्ययनरत अधिकाँश बालबालिका दलित समुदायका भएकाले पढाई प्रति रुची नगर्ने र उपस्थिती कम हुने तर्क गर्छन् । पढाई छाडेर पौडी खेल्न जाने, माछा मार्न जाने क्रम रहेकाले विद्यार्थीलाई नियमित उपस्थित गराउन कठिन भएको उनको भनाई छ । 

उनीसँग कुराकानी गर्दा गर्दै खेतमा देखिएका बालबालिकालाई उनले विद्यालयमा बोलाए । उनीहरु पौडी खेलेर आएका थिए । उनीहरुको कपाल चिसै थियो । एकछिन पछि ति विद्यार्थीकी आमा लौरी लिएरै विद्यालयमा आईपुगिन् । 

विद्यार्थी र उनकी आमा
विद्यार्थी र उनकी आमा

प्रधानाध्यापक जैसवाल छोरालाई नियमित विद्यालय पठाईदिन आमासँग आग्रह गर्दै थिए ।   

हेड सर नै झसङ्ग 

ज्ञान सागर दलित प्रावि सानो ईटियाहीको अवस्था पनि उस्तै उस्तै थियो । ईमिस रेकर्डमा एक सय ६० विद्यार्थी भए पनि हाजिरी कापीमा एक सय ७२ जनाको नाम थियो । यी मध्ये ७३ जना अर्थात् ४२ प्रतिशत विद्यार्थीको विवरणमा त्रुटि फेला पर्यो । 

ईमिस र हाजिरी कापीमा विद्यार्थीको नाम भिडाउँदै जाँदा  विद्यालयका प्रधानाध्यापक महबुव राउत गदी आफैं झसङ्ग भए । विद्यालयमा विद्यार्थीको उपस्थितीको हालत देखे पछि उनले आवेशमा आएर भने – म अब राजिनामा दिन्छु ! 

विद्यार्थी संख्या यसैगरी घटिरहने हो भने आफू बसिनरहने उनले बताए । स्थानीय एफ एम रेडियोमा समेत कार्यरत गदीले भने ‘विद्यालयमा बच्चै बस्दैन, म के गरी बसौं ?’

ज्ञान सागर दलित प्रावि सानो ईटियाहीका प्र.अ. महबुव राउत गदी
ज्ञान सागर दलित प्रावि सानो ईटियाहीका प्र.अ. महबुव राउत गदी

सोही पालिकाको गर्दौल स्थित भगवती नेपाल राष्ट्रिय बागड मैना प्राविको अवस्था पनि उस्तै छ । ईमिस रेकर्डमा एक सय ८१ भए पनि हाजिरी कापीमा एक सय ८७ विद्यार्थीको नाम छ । तर यी मध्ये ४७ जना विद्यार्थीको विवरणमा त्रुटि छ । यो भनेको कूल विद्यार्थीको २५ प्रतिशत त्रुटि हो । 

भगवती नेपाल राष्ट्रिय बागड मैना प्रावि
भगवती नेपाल राष्ट्रिय बागड मैना प्रा.वि.

विद्यालयमा उपस्थित विद्यार्थीको संख्या न्यून छ । विद्यालयका प्रधानाध्यापक छोटेलाल साहसँग उस्तै उत्तर छ : अभिभावकलाई पढाईको मतलब नै छैन, त्यसैले विद्यार्थी आउँदैन । 

विद्यार्थी नहुँदा पुगेको विद्यालयका छुट्टै कथा

नेपाल राष्ट्रिय प्रावि अमरपट्टिको ईमिसमा तीन सय २५ विद्यार्थीको नाम प्रविष्ट गरिए पनि हाजिरी कापीमा तीन सय ३० विद्यार्थीको नाम उल्लेख गरिएको छ । यी मध्ये २४ जना अर्थात् सात प्रतिशत विद्यार्थीको विवरणमा त्रुटि फेला परेको छ । यस्तै नेपाल राष्ट्रिय प्रावि मधवलको ईमिस रेकर्डमा दुई सय ३३ विद्यार्थीको नाम भए पनि आठ जना विद्यार्थीको विवरण मिलेको छैन । यस्तै नेपाल राष्ट्रिय प्रावि पर्सौनी भाठ्ठाको ईमसिमा दुईसय छ विद्यार्थी भए पनि ईमिसमा दुई सय १० विद्यार्थीको नाम समावेश छ । 

यी तिनै विद्यालयमा विद्यार्थीको हाजिरी दुरुस्त फेला परेको छ । विद्यालय बन्द भएका बेला विद्यालयमा पुगेकोले विद्यार्थीको संख्या प्रत्यक्ष देख्न सकिएन । 

नोट : काठमाडौंमा भएको जेनजी विद्रोहको भोलिपल्ट अर्थात् भदौ २४ गते बिन्दबासिनीका विद्यालयहरु पनि अकस्मात विदा गरिएका थिए । त्यसैले पछिल्ला तीन वटा विद्यालयका कक्षा कोठामा भएका विद्यार्थी संख्या प्रत्यक्ष हेर्न पाईएन । विद्यालय बन्द भए पनि प्रधानाध्यापकलाई पूर्व सूचना दिएर विद्यालयमा पुगिएको थियो । यी विद्यालयको हाजिरी कापी भने दुरुस्त देखिन्थे !

न तथ्याँङ्कमा त्रुटि न विद्यार्थी उपस्थितीमा

अध्ययनमा समावेश २० वटा विद्यालय मध्ये लिखुको महेन्द्रोदय जनसेवा आधारभूत विद्यालय चौघडा मात्रै यस्तो एक विद्यालय फेला पर्यो जहाँ विद्यार्थी विवरण सत प्रतिशत दुरुस्त थियो । 
 

महेन्द्रोदय जनसेवा आधारभूत विद्यालय, चौघडा, लिखु

महेन्द्रोदय जनसेवा आधारभूत विद्यालय, चौघडा, लिखु

ईमिसमा प्रविष्ट भएका विद्यार्थी संख्या ४५ छ । विना खबर हामी पुग्दा सबै विद्यार्थी विद्यालयमा उपस्थित थिए । हाजिरीकापीमा सबैको उपस्थिती जनाईएको थियो ।

महेन्द्रोदय जनसेवा आधारभूत विद्यालय, चौघडा, लिखुका विद्यार्थी

महेन्द्रोदय जनसेवा आधारभूत विद्यालय, चौघडा, लिखुका विद्यार्थी

नेपाल शिक्षक महासंघको आह्वानमा भएको काठमाडौं केन्द्रित सडक प्रर्दशनका कारण चालु शैक्षिक सत्रको शुरुमा कक्षा नभए पनि बैशाख २१ गते देखि विद्यालय नियमित रुपमा सञ्चालन गरिएको हाजिरी कापीमा देखिन्छ । अभिभावक र विद्यालय बिच नजिकको सम्बन्ध कायम राख्न सकेकाले विद्यार्थीको उपस्थिती नियमित हुने गरेको प्रधानाध्यापक मधु फुयाल दावी गर्छन्  । 

‘हामी त विद्यार्थीको घर घरै जान्छौं, हरेक अभिभावकलाई मैले व्यक्तिगत रुपमा चिनेको छु, उहाँहरु पनि नियमित विद्यालय आउनु हुन्छ’ उनले भने ‘जब विद्यालय र अभिभावकको सम्बन्ध सुमधुर हुन्छ त्यस पछि विद्यालय खस्कने कुरै आउँदो रहेनछ ।’ 

जीवनभर शिक्षक भएर अब रिटायर्ड हुने बेला भईसकेको बताउँदै फुयाल सरले गर्वका साथ भने – ‘विद्यार्थी संख्या तलमाथि गराएर राज्यको श्रोत खान कहिल्यै परेन, जति सकियो त्यति राम्रो गर्ने प्रयन्त गरियो ।’
विद्यालयलाई मर्ज गर्ने देखि आफूलाई सरुवा गर्ने सम्मका ‘तिकडम’ झेलेको बताउने फुयाल सर अभिभावक र विद्यालयको सम्बन्ध राम्रो रहेकै कारण विद्यालय रहेको र आफू पनि रहेको बताउँछन् । हरेक दिन झण्डै दुई घण्टा पैदल हिँडेर विद्यालय आउने फुयाल सर विद्यालय छिर्दा आफूलाई छुट्टै आनन्द आउने  भन्दै भावुक समेत बने । 

विद्यालयमा अधिकाँश राई जातीका विद्यार्थी अध्ययनरत छन् । नजिकै जिल्लाकै ठूलो क्षेत्रपाल माध्यमिक विद्यालय रहेका कारण यहाँ विद्यालय वरीपरिका बालबालिका मात्रै भर्ना भएको  प्रधानाध्यापक फुयालले बताए । 

विद्यालय नमूना, विद्यार्थी संख्या भने घट्दो

देशभरका दुई सय २० नमूना विद्यालय मध्ये एक लिखुको चौघडा स्थित क्षेत्रपाल माध्यमिक विद्यालय हो । सामुदायिक विद्यालय छिर्दा कसैले पनि रोकतोक गरेको घटना सामान्यतयाः देखिदैंन । विद्यालयमा को आयो ? किन आयो ? 

जो सुकै आओस् अधिकाँश सामुदायिक विद्यालयमा वास्ता गरेको देखिदैंन । तर क्षेत्रपालको कुरो बेग्लै छ । नाम र समय सहित किन आएको ? कसलाई भेट्ने ? जस्ता विवरण गेटमा राखिएको पुस्तिकामा टिपाए पछि मात्रै पालेले भित्र प्रवेश गर्न अनुमति दिने चलन विद्यालयले अपनाएको छ । 
 

लिखुको चौघडा स्थित क्षेत्रपाल माध्यमिक विद्यालय
लिखुको चौघडा स्थित क्षेत्रपाल माध्यमिक विद्यालय

नाम दर्ता गरेर भित्र छिर्ना साथ प्रधानाध्यापक हरीप्रसाद सुवेदी हावाले उडाएर चौरमा छरपष्ट पारेका प्लाष्टिकका खोल बटुल्दै गरेको भेटिए । 

क्षेत्रपाल माविका प्र.अ. हरीप्रसाद सुवेदी
क्षेत्रपाल माविका प्र.अ. हरीप्रसाद सुवेदी

विद्यालयले ईमिसमा कूल विद्यार्थी संख्या चार सय ९८ प्रविष्ट गरेको छ । हामीले अध्ययन गरेका उमेर समूहको संख्यामा थप एक जना फेला परे पछि विद्यालयमा कूल चार सय ९९ विद्यार्थी रहेको देखिन्छ । उमेरका आधारमा गरिएको हाम्रो अध्ययनको सिमितता बाहेक अन्य कक्षामा विद्यार्थीको संख्या थपघट हुन सक्छ । यद्यपी सोही संख्याका आधारमा ईमिसको विश्लेषण गर्दा उक्त उमेर समूहका ३५ जना विद्यार्थीको विवरण त्रुटि पूर्ण देखिएको छ । यो भनेको सात प्रतिशत हुन्छ । 

यो तथ्याँङ्कमा अन्य विद्यालयको जस्तै निजी विद्यालय जाने देखि अन्य विद्यालय जाने सम्मका विवरण समावेश भएको छ । खास गरी प्रारम्भिक बाल कक्षा पढिञ्जेल यहाँ पठाउने र अलिक ठूलो भए पछि निजी विद्यालयमा पठाउने क्रम रहेको प्रारम्भिक बाल शिक्षकहरुले गुनासो गरे । 

‘सिंगान र आची सफा गर्ने बेला सम्म हामीले गर्नु पर्ने, अलिक ठूलो भएपछि बोर्डिङ् पठाउनु पर्ने ?’ उनीहरुको गुनासो मिश्रित प्रतिकृया थियो । 

त्यसो त पछिल्लो समय विद्यालय प्रति अभिभावक विद्यार्थीको रुची कम देखिएको प्रधानाध्यापक सुवेदीको स्विकारोक्ति छ । 

‘गत बर्ष एसईईमा ६० प्रतिशत हाराहारी विद्यार्थी ग्रेडेड भए, यो बर्ष २३ प्रतिशतमा झर्यो त्यसैले विद्यालय प्रति अभिभावक विद्यार्थीको रुची घटेको प्रष्टै देखिन्छ’ उनले भने ‘हामी यसलाई यही बर्ष पुरै उल्ट्याउने गरी मेहनत गरिरहेका छौं ।’   

लिखुका विद्यालय मध्ये सबै भन्दा धेरै ईमिसमा त्रुटि देखिएको विद्यालय श्रीकृष्ण आधारभूत विद्यालय हो । यहाँ कूल विद्यार्थीको ३१ प्रतिशत विवरणमा भिन्नता देखिएको छ । ईमिसको रेकर्डमा रहेका ३९ मध्ये १२ जना विद्यार्थी विद्यालयमा अनुपस्थित छन् । प्रधानाध्यापक विष्णु कुमारी सुवेदी आर्थिक अवस्था कमजोर भएका वर्गका अभिभावकले सन्तानको पढाईमा ध्यान दिन नसक्ने हुँदा विद्यार्थीको उपस्थिती खलबलिने गरेको तर्क गर्छिन् । 

यस्तै सिद्धिगणेश आधारभूत विद्यालयमा उक्त उमेर समूहका ६० मध्ये १६ विद्यार्थीको ईमिस विवरणमा त्रुटि देखिएको छ । प्रधानाध्यापक कमला प्याकुरेल मौसमी मजदुरीका शिलशिलामा गाउँमा आउने अभिभावकहरुले यहाँ बसिञ्जेल पठाउने र यहाँ काम सकिएर अन्तै जानु पर्ने भएपछि बालबालिका पनि संगै लिएर जाने गर्दा समस्या भएको तर्क गर्छिन् । 

जम्मा ३८ जना मात्रै विद्यार्थी भएको निरञ्जना आधारभूत विद्यालय कट्टिछापमा ८ जना विद्यार्थीको ईमिसमा त्रुटि छ । यो भनेको २१ प्रतिशत हो । जम्मा ३५ विद्यार्थी भएको रतनदेउ आधारभूत विद्यालयमा पनि ८ जना विद्यार्थीको ईमिस विवरणमा त्रुटि फेला परेको छ । 

डाडाँका विद्यालयमा बसाईं सराईको प्रभाव

साविकको खानीगाउँ गाउँ विकास समिति हाल लिखु गाउँपालिका – २ भएको छ । गाउँको संरचना मात्रै बदलिएको छैन, कुनै बेला गुलजार रहेको खानीगाउँ हिजो आज सुनसान जस्तै छ । यो सुनसानको चित्र चण्डेश्वरी प्राथमिक विद्यालयमा रहेका विद्यार्थी संख्याले छर्लङ पार्छ । 

चण्डेश्वरी प्रा.वि. लिखु
चण्डेश्वरी प्रा.वि. लिखु

खानेपानीको अभावले खानीगाउँका बहुसंख्यक ढकाल परिवार बेसीका पिप्ले फाँट, सुन्दरीटार, सानीटार, ढिकुरे, चौत्राणी तिर झरे पछि गाउँ सँगै विद्यालय पनि सुनसान भयो । तल्लो खानीगाउँमा रहेको महालक्ष्मी प्रावि ४ बर्ष अघि नारायणी देवी माविमा मर्ज गरिए पनि चण्डेश्वरी भने ईमिस रेकर्डमा २५ र हाजिरी कापीमा २७ जना विद्यार्थी लिएर जेनतेन चलिरहेको छ । हामी पुग्दा विद्यालयमा १३ जना मात्रै विद्यार्थी थिए । 

चण्डेश्वरी प्रा.वि. लिखुको कक्षामा विद्यार्थी
चण्डेश्वरी प्रा.वि. लिखुको कक्षामा विद्यार्थी

एउटा भवनको चार वटै कक्षामा ताल्चा मारिएको छ ।

चण्डेश्वरी प्रा.वि. लिखुमा विद्यार्थी संख्या न्यून भएसँगै ताला लागेका कक्षाकोठा
चण्डेश्वरी प्रा.वि. लिखुमा विद्यार्थी संख्या न्यून भएसँगै ताल्चा मारिएको कक्षाकोठा

२०४५ साल जेठ १ गते स्थायी नियुक्ति लिएर पहिलो पटक विद्यालय आउँदा प्रधानाध्यापक कल्पना श्रेष्ठले एउटै कक्षामा ८५–९० जना सम्म विद्यार्थी देखेकी थिईन् । 

‘त्यतिखेर कच्चि छाना थिए, माटाको भुईं थियो, भित्तामा कमेरो माटोले पोत्नु पथ्र्यो अहिले सिमेण्टेड विल्डिङ् बने विद्यार्थी छैनन्’ श्रेष्ठ भन्छिन् ‘गाउँमा मान्छे नै छैनन्, बालबालिका कसरी हुनु र !’ 

चण्डेश्वरी प्रा.वि. लिखुकी प्र.अ.कल्पना श्रेष्ठ
चण्डेश्वरी प्रा.वि. लिखुकी प्र.अ.कल्पना श्रेष्ठ

गाउँमा स्थानीयको संख्या न्यून छ । बसाईसराई गरेर गएकाहरुको घर कुर्ने वा ढिकुरे तिर मजदुरी गर्नेहरुको बाहुल्यता छ गाउँमा  । यी मध्ये पनि कतिपयले निजी विद्यालयमा सन्तान पढाएका छन् । फलाँटेका दुईवटा निजी विद्यालयका बस डाडाँ चढेर आईपुग्छन् विद्यार्थी ओसार्न ! 

अध्ययन गरिएका  दुबै पालिकाका २० विद्यालय र विद्यार्थी संख्या सहित त्रुटि प्रतिशत
अध्ययन गरिएका  दुबै पालिकाका २० विद्यालय र विद्यार्थी संख्या सहित त्रुटि प्रतिशत

बिना खर्च तत्कालै सुधार्न सकिने काम

उक्त अध्ययनमा फेला परेको भद्रगोल मध्ये एउटै विद्यार्थीको नाम दोहोरिएको समस्या बिना खर्च तत्कालै सुधार्न सकिने समस्या हो । एउटै नाम भएका विद्यार्थी विद्यालयमा धेरै हुन सक्छन्, तर बाबु आमाको नाम पनि समान नै हुनु भनेको तथ्याङ्क प्रविष्ट गर्दा गरिएको त्रुटि हो । यो त्रुटि मानवीय हो की नियतबस भन्ने छुट्टै छलफलको विषय हुन सक्छ । तर त्यस्ता त्रुटि सच्याउन थप लागत वा जनशक्तिको जरुरी पर्दैन । केन्द्रको ईमिस शाखाका जनशक्तिबाटै हुन सक्ने सामान्य काम हो । 

दुई पालिकामा  त्यस्ता विद्यार्थी २० प्रतिशत फेला परेका छन् ।

‘संख्या र प्रतिशत तलमाथि होला तर देशैभरीका विद्यालयमा यस्तो त्रुटि छ भन्ने पक्का देखियो’ शिक्षाविद् कार्की भन्छन् ‘विद्यार्थी संख्याका आधारमा विद्यालयलाई उपलब्ध हुने रकमको चुहावट नियन्त्रण गर्न यो पहिलो पाईला हुन सक्छ ।’ 

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले अध्ययनको विस्तृत विवरण जानकारी नभई यस विषयमा प्रतिकृया दिन नसकिने बताए । 

प्रतिक्रिया