विज्ञान, प्रविधि, अवधारणा, कला र गणितको संयोजन गरी हुने नवीन सिकाइ विधि वा पद्दतीको संक्षिप्त रुप स्टिम । अर्थात् Science, Technology, Engineering, Arts/Humanities, Math (STEAM) । यसलाई शिक्षण सिकाइको नवीनतम् विधिको रुपमा संसारका विकसित मुलुकहरूले दशकौंदेखि प्रयोग गरिरहेका छन् । यो पद्दतिमा पढाइलाई खेल जस्तै रमाइलो बनाउने र किताबको ज्ञानलाई हातले बनाएर सिक्ने तरिकाको खोजी गर्ने गरिन्छ । स्टिम विधिले विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितका विषयगत क्षेत्रलाई एकैसाथ जोडेर वास्तविक जीवनका समस्या समाधान गर्न सिकाउँछ । परम्परागत तरिका अनुसार शिक्षकले कालोपाटीमा विषयगत सिद्धान्त तथा सुत्र लेखिदिन्छन्, विद्यार्थी रट्छन् परीक्षामा लेख्छन् र बिर्सिन्छन् । परम्परागत शिक्षणका यहि कमजोरीलाई हटाउन स्टिम प्रक्रियाले रचनात्मक सिकाइलाई सिर्जनशील व्यवहारमा परिवर्तन गरी स्मरणलाई जीवन्त बनाउँछ भन्ने मान्यता छ ।
दिगो विकास लक्ष्य ४ अनुसारको गुणस्तरीय तथा जीवन पर्यन्त सिकाइ पुरा गर्न स्टिम विषयलाई एकआपसमा जोडेर समालोचनात्मक सीपबाट सिकाइलाई जीवन्त बनाइन्छ । आजको एआई प्रविधिले वृहत ज्ञानको पहुँचलाई सहज बनाएकोले शिक्षकले कुनै एक विषयको मात्र शिक्षक भइरहनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरिदिएको छ । यसलाई स्टिम प्रक्रियाले सहज पारिदियो । शिक्षालाई प्रविधिसँग र प्रविधिलाई विज्ञानसँग अनि विज्ञानलाई जीवन र जगतसँग जोड्ने व्यवहारिक उपाय नै स्टिम शिक्षा हो ।
पाठ्यपुस्तकको सीमित र साँघुरो ज्ञानको आधारमा लिइने कठोर र स्तरीकृत परीक्षाले विद्यार्थीलाई जान्ने र नजान्ने भनी प्रमाणीकरण गर्नुलाई शैक्षिक सफलता मान्न सकिँदैन । आजको प्रविधिको तिब्र विकासले विषगत ज्ञानमा जान्ने र नजान्नेको परिभाषा बदलिएको छ । विद्यार्थीको भूमिका र शिक्षकको कार्यमा रुपान्तरणको प्रतिष्पर्धा छ ।
विषयगत शिक्षकलाई स्टिम शिक्षकमा रूपान्तरण गर्दा सबैभन्दा ठूलो चुनौती छ । म निर्धारित कुनै विषयको शिक्षक हुँ मलाई गणित, विज्ञान, साहित्य वा कला वा यस्तै कुनै विषय पढाउन सक्दिन भन्ने मानसिकता हुनु हुँदैन । शिक्षकले कक्षामा पुस्तक पढाउने होइन सहजीकरण गर्ने हो । शिक्षण कार्य सह क्रियाकलापमा आधारित हुनु पर्छ ।
जब विज्ञान शिक्षकले प्रकाश पढाउँछन् तब कला शिक्षकले रङ र छायाको कुरा सिकाउँछन् । गणित शिक्षकले त्रिकोण पढाउँदा इञ्जिनियरिङ, कला शिक्षकले पुलको डिजाइन सिकाउँछन् भने भाषा शिक्षकले त्यसको व्यवहारिक प्रयोग बुझाउँछन् । भाषा विषयलाई स्टिममा जोड्दा विद्यार्थीले भाषा भनेको व्याकरण र विधा मात्र होइन यो त इञ्जिनियरले पुलको डिजाइन बुझाउने र वैज्ञानिकले आविष्कार सुनाउने मुख्य औजार हो भन्ने कुरा बुझ्छन् ।
नवीनतम प्रविधिले स्टिम शिक्षालाई सहज, प्रभावकारी र व्यवहारिक बनाउने औजारको काम गर्छ । भर्चुअल किताबको पानामा सौर्यमण्डल वा मानव शरीरको चित्र हेर्नु र भर्चुअल रियालिटीको चश्मा लगाएर अन्तरिक्षमै पुगेको अनुभव गर्नुले विज्ञान र कलाको सिकाइलाई जीवन्त बनाउँछ । विद्यार्थीले कम्प्युटरमा डिजाइन गरेको वस्तुलाई थ्रिडी प्रिण्टरले केही मिनेटमै हातमा लिन मिल्ने गरी बनाइदिन्छ । यो इञ्जिनियरिङ र प्रविधिको प्रत्यक्ष प्रयोग हो । आजको नवीनतम प्रविधि हिजोको स्टिम शिक्षाको नतिजा हो र स्टिम शिक्षाले नै भोलिको प्रविधि बनाउने जनशक्ति उत्पादन गर्छ ।
विषयगत स्तरीकृत ज्ञान र सीपमा नै विज्ञान छ । समाजका समग्र विषयहरू विज्ञान हुन् । विज्ञानले विषयगत दक्षतालाई स्टिम प्रकृयामा एकीकृत गर्छ । एकीकृत ज्ञानले नै समग्रतामा बुझ्न सिकाउँछ र वैज्ञानिक सोच र समालोचनात्मक चिन्तनको विकास गर्छ । एउटा बसलाई स्टिम विषयको समग्र रूपबाट बुझ्दा विज्ञानमा चाल, गुरुत्व, बल लगायतका विज्ञानका मिल्दाजुल्दा सबै पाठहरू समग्ररूपमा एकैपटक बुझ्न र बुझाउन सकिन्छ । गणित, कला, इञ्जिनियरिङ, भाषा एउटै बसको समग्रतामा अध्ययन गर्न सकिन्छ । यी दुबै कार्यबाट विषयगत सहसम्बन्ध जोडिन्छ । विद्यार्थीलाई एउटै अवधारणाबाट सबै विषय बुझाइने हुँदा सिकाइ जीवनपर्यन्त हुन्छ । हाम्रो वर्तमान परम्परागत शिक्षा प्रणालीले प्रत्येक विषयका प्रत्येक विषयवस्तुलाई खण्डखण्ड गरेर छोडिदियो । शिक्षकले पढाउने क्रममा ती खण्डीकृत विषयलाई पनि अझ साना साना अंशमा विभाजित गरिए । ती खण्डीकृत र विभाजित ज्ञानलाई शिक्षक र विद्यार्थी दुवैले समग्रतामा जोड्न नसक्दा गुणस्तरीय शिक्षाको अपेक्षा पूरा भएन ।
नेपालमा स्टिम शिक्षाको अवस्था
नेपाल सरकारले प्रत्यक्ष रूपमा स्टिम शब्द प्रयोग नगरे पनि विभिन्न नीतिगत प्रक्रिया मार्फत समावेश भएको पाइन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा १–३ मा पूर्ण एकीकृत पाठ्यक्रम र माथिल्लो तहमा अन्तर–विषयगत सम्बन्धलाई जोड दिएको छ । विद्यालय तहका पाठ्यक्रम सक्षमतामा आधारित भएकाले स्टिम शिक्षाको सैद्धान्तिक पक्षलाई व्यहारिक रुप दिने प्रयास गरिएको छ । विद्यालय शिक्षा क्षेत्र योजना (SESP,2021- 2030) ले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विद्यालय तहदेखि नै प्राथमिकता दिने नीति लिएको छ । यसले आईसीटी पूर्वाधारको विकास, विषयगत प्रयोगशालाको स्थापना र परियोजनामा आधारित र व्यावहारिक सिकाइलाई बढाउने जस्ता कार्यमा जोड दिएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ ले विद्यालय तहमा प्रतिभा पहिचान र वैज्ञानिक संस्कारको विकास गर्न औपचारिक कार्यक्रमहरू विज्ञान मेला, रोबोटिक्स प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ ले प्रविधिमैत्री, सीपमूलक र वैज्ञानिक शिक्षाको परिकल्पना गरेको छ । सबै तहको शिक्षामा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने उल्लेख गरिएको छ । शब्दमा स्टिम नै नभने पनि सारमा विद्यालय शिक्षालाई स्टिम पद्धतिमा रुपान्तरण गर्न नीतिगत आधार बन सक्ने देखिन्छ ।
नेपालमा छुट्टै स्टिम विषयको व्यवस्था नभए पनि पाठ्यक्रम प्रारुप २०७६ अनुसारको कक्षा १–३ को एकीकृत पाठ्यक्रम, कक्षा ४–१२ को परियोजनामा आधारित तथा गतिविधि केन्द्रित एकल पथीय सक्षमतामा आधारित पाठ्यक्रमलाई शिक्षकले चाहेमा सहजै स्टिम शैलीमा अन्तर विषय रुपान्तरण हुन सक्ने संरचना छ । अन्तर विषयगत सिकाइ अन्तर्गत एउटै परियोजना कार्यमा विज्ञान, गणित, कला, प्रविधि सबै विषयहरु मिसिन्छन् । स्टिममा पढाइ भन्दा प्रयोग गर्ने, परीक्षण गर्ने र निचोड निकाल्ने जस्ता व्यवहारिक ज्ञानमा विशेष जोड दिइन्छ । कुनै पनि विषयगत पाठ्यवस्तु एकल पथीय हुन नसक्ने भएकाले पाठ्यक्रमका विषयहरु स्टिमसँग जोडिन्छन् ।
विद्यालय शिक्षा क्षेत्र योजना (२०२२–२०३२) ले नेपालमा स्टिम शिक्षाको लागि नीतिगत आधार तयार गर्न खोजिएको देखिन्छ । तर हालसम्मको कार्यान्वयन हेर्दा यो सुस्त गतिमा अघि बढेको छ । नीति र कागजमा नेपाल विश्वकै उत्कृष्ट स्टिम देश जस्तो देखिन्छ तर कक्षाकोठामा अझै ९०% भन्दा बढी विद्यार्थी घोकन्ते विद्या र रटन्ते सिकाइमै छन् । हालका विश्वविद्यालयका पाठ्यक्रमहरुले समेत वर्तमान शैक्षिक रुपान्तरणको अवस्थालाई सम्बोधन गर्न सक्ने क्षमता राख्दैनन् । उल्टै परीक्षाका अनेक रूपबाट प्राप्त हुने स्तरीकृत अङ्कमा शिक्षालाई जोडियो । परीक्षामा पढेर होस् वा अनियमित तबरले होस् जसरी पनि प्रमाणपत्र प्राप्त गर्नु नै शैक्षिक सफलता बन्यो तर सफलतामा स्टिम खोजिएन ।
युरोप,अमेरिका, फिनल्याण्ड, सिङ्गापुर, दक्षिण कोरिया आदि देशमा परियोजना तथा समस्यामा आधारित सिकाइ अन्तर्गत पाठ पढ भन्दा यो समस्या समाधान गर भन्नेबाट कक्षा सुरु हुन्छ । सक्रिय सिकाइ पद्धति अनुसार विद्यार्थीले अनुसन्धान गर्छन्, योजना बनाउँछन्, मोडेल वा प्रोटोटाइप बनाउँछन्, परीक्षण र सुधार गर्छन् । विश्वका सफल स्टिम अभ्यासले देखाए अनुसार नेपालमा पनि पाठ्यपुस्तक केन्द्रित, रटन्ते शिक्षाबाट बाहिर निस्केर समस्या समाधान, परियोजना कार्यमा आधारित एकीकृत सिकाइमा प्राथमिकता दिइनु पर्छ । स्टिम शिक्षाको लागि पाठ्यक्रममा विषयगत भन्दा परियोजनागत एकीकरण गरिनु पर्छ । विद्यार्थीलाई विज्ञान विषयमा बल र चाल र गणित विषयमा त्रिभुज छुट्टाछुट्टै पढाउनुको सट्टा काठको बलियो पुल निर्माण भन्ने परियोजना दिने । यसमा इञ्जिनियरिङ (पुलको डिजाइन), गणित (नाप र कोण), विज्ञान (भार वहन क्षमता) र कला (सौन्दर्य) सबै समेटिन्छ । स्टिम शिक्षाको आधारभूत प्रकृयाको लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले एकीकृत र व्यवहारिक शिक्षालाई आत्मसात् गरे पनि कार्यान्वयनमा प्रशस्तै चुनौतीहरू छन् ।
नेपालमा स्टिम शिक्षाको व्यवहारिकता
स्टिम शिक्षाले विद्यार्थीलाई प्रश्न गर्न र वास्तविक जीवनका समस्याहरूलाई विज्ञान, गणित र इञ्जिनियरिङ प्रयोग गरेर समस्या समाधान गर्ने समालोचनात्मक सीप सिकाउँछ । यस प्रक्रियाले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउँछ । वास्तविक दुनियाँमा कुनै पनि समस्या एउटा विषयसँग मात्र सम्बन्धित नहुने भएकाले स्टिमले विज्ञान, गणित, कला र प्रविधिलाई अलग–अलग विषयबाट निकालेर एकै ठाउँमा जोड्छ । यसले विद्यार्थीलाई समग्रतामा सोच्ने बानीको विकास गराउँछ । स्टिमले विभिन्न कारणले सिकाइमा पछाडि परेका विद्यार्थीको समेत आत्मविश्वास बढाएर विषयगत क्षतिलाई न्यूनीकरण गर्छ । सबै विद्यार्थीले सिक्न सक्षम भएको महसुस गर्छन् । भविष्यको रोजगारीको बजार अटोमेसन, एआई र प्रविधिमा आधारित हुने भएकाले विद्यार्थीलाई आजैदेखि ती प्रविधिहरूसँग परिचित गराएर भविष्यको दक्ष जनशक्ति तयार गर्न स्टिम शिक्षाको व्यवहारिक उपयोग गरिनु पर्छ ।
स्टिमले समालोचनात्मक सोच र समस्या समाधान गर्ने सीपको विकास गर्ने भएकाले आजका विद्यार्थी भविष्यमा आर्टिफिसियल इण्टेलिजेन्स, रोबोटिक्स वा बायोटेक्नोलजीमा नयाँ आविष्कार गर्छन् । कोडिङ र एल्गोरिदमा गणित र प्रविधिको ज्ञान बिना कुनै पनि एप, सफ्टवेयर वा एआई सिष्टम बन्न सक्दैन। त्यसैले स्टीम शिक्षाको व्यवहारिक उपयोगिताले सानैदेखि कोडिङ सिकाएर प्रविधि बुझ्ने मात्र होइन, प्रविधि बनाउने पुस्ता तयार गर्छ । नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा स्टिम शिक्षालाई नीतिगत, व्यवहारिक तथा प्रक्रियागत रूपवाट शैक्षिक रुपान्तरण गर्न ढिलो गर्न हुँदैन । अब यसको कार्यान्वयनमा जति ढिलो गरिनेछ त्यति नै शैक्षिक क्षति बढ्दै जानेछ ।
निष्कर्ष
स्टिम भनेको नयाँ विषय थप्नु होइन । बोटबिरुवा पढाउँदा नाप्न लगाएमा त्यो स्टिम भयो । चाल पढाउँदा गाडी बनाउन लगाएमा त्यो स्टिम भयो । चाप पढाउँदा डोजरको नमुना डिजाइन गर्न लगाएमा त्यो स्टिम भयो । यी सबै काम नेपालको विद्यमान पाठ्यक्रम र मूल्याङ्कन प्रणाली भित्रै रहेर सहजै गर्न सकिन्छ । केही विद्यालयका स्टिम कक्षामा सहभागी विद्यार्थीले स्थानीय समस्या समाधान गर्न साना–तिना आविष्कारहरू बनाउन थालेका छन् । गणित र विज्ञानलाई गाह्रो विषय मान्ने विद्यार्थीले कला र प्रविधिको समिश्रण पछि ती विषयहरूमा रुचि बढेको बिभिन्न अध्ययनले देखाएका छन् । समूहमा काम गर्दा विद्यार्थीमा नेतृत्व, सञ्चार सीप र सहयोगात्मक भावनाको विकासले व्यवहार कुशल सीपमा गुणात्मक परिवर्तन देखिएको छ ।
प्रविधिले के गर्न सकिन्छ, भन्छ भने स्टिमले के गर्नु सही हुन्छ ? भनेर सोच्न सिकाउँछ । प्रविधि र स्टिमको यही प्रक्रियाबाट एकीकृत सिकाइको आदन प्रदान हुन्छ ।
नेपालको वर्तमान पाठ्यक्रम अनुसारका शैक्षिक प्रणालीमा छुट्टा छुट्टै विषयका छुट्टा छुट्टै शिक्षकले छुट्टाछुट्टै क्षमताका विद्यार्थी उत्पादन भइरहे । शिक्षामा वर्ग विभाजन भयो । कमजोर र उच्च वर्गको शैक्षिक प्रणाली भिन्न बन्यो । अब थरिथरिका शिक्षक, थरि थरिका विद्यार्थी र थरिथरिका विद्यालयमा अनेक विषयबाट अनेकरुप खोज्नु भन्दा अनेक विषयबाट एकैरुप खोजेर शैक्षिक रुपान्तरणमा स्टिम शिक्षालाई उपयोग गरिनु आवश्यक छ ।
विद्यालय तहमा स्टिम शिक्षा लागू गर्नु भनेको विद्यार्थीलाई भविष्यमा विज्ञान र प्रविधि हाँक्न सक्ने सक्षम बनाउनु हो । स्टिम शिक्षाले विद्यार्थीलाई एकलपथीय विषय पढाएर अल्मल्याउने शिक्षक र अल्मलिने विद्यार्थी भन्दा सिकाइमा सक्रिय सहभागी भइरहने विद्यार्थी र एकीकृत ज्ञानको सहजीकरण गरिरहने शिक्षकको अपेक्षा गरेको छ । जीवनपर्यन्त सिकाइमा शिक्षकको भूमिका जीवन्त ज्ञानको व्यवहारिक परामर्शदाता र भविष्यको मार्गदर्शकको रुपमा हुनु पर्छ । एकलपथीय बृहत सैद्धान्तिक विषयबस्तुलाई व्याख्यात्मक रूपबाट अझ कठोर बनाएर विद्यार्थीलाई सिकाइमा दुविधा उत्पन्न गर्ने र परीक्षाको छडी देखाएर झनै अव्यवहारिक बनाउने शैक्षिक कार्य अब हुनु हुँदैन । सिकाइलाई वैज्ञानिक, ज्ञानलाई व्यवहारिक र प्रविधिलाई उन्नत बनाई निरन्तर सिपको विकास गर्ने स्टिम शिक्षा आजको आवश्यकता हो । उक्त आवश्यकतालाई शिक्षा नीति, कार्यक्रम तथा योजनामा समावेश गरी गुणस्तरीय शिक्षाको लागि सबै पक्ष जिम्मेबार हुनु पर्छ ।
माध्यमिक तहका शिक्षक कोइराला, नेपाल शिक्षक महासंघ - गोलञ्जोर गाउँपालिका, सिन्धुलीका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया