Edukhabar
आइतबार, ११ असोज २०८३
अन्तैवाट

पूर्वउपकुलपति प्रा डा शर्माको स्मरण

शनिबार, ०६ चैत्र २०७२

काठमाडौँ, ६ चैत । नेपाल बुद्धिजीवी परिषद्ले त्रिविका पूर्वउपकुलपति प्रा डा माधवप्रसाद शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।  परिषद्ले शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा डा शर्माले मुलुकको शिक्षा क्षेत्रको विकास तथा प्राज्ञिक आन्दोलनमा खेलेको भूमिकाको स्मरण गरियो । 

 परिषद्का अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले डा शर्माले नेपालमा भूगर्भशास्त्रको अध्ययनअध्यापनमा र विज्ञानमा आधारित विकास अनुसन्धानमा ठूलो योगदान गरेकाले प्राज्ञिक क्षेत्रले उहाँलाई कहिल्यै बिर्सन सक्दैन भने । 

त्रिविका पूर्वउपकुलपति प्रा डा कमलकृष्ण जोशीले आफैँले पढाएका विश्वविद्यालयका विद्यार्थीले कालोमोसो लगाउँदा समेत प्रा डा शर्माले संयताका साथ जे सिके त्यही गरे भन्दै दिएको अभिव्यक्ति नयाँ पुस्ताका लागि स्मरणीय रहेको बताए ।  परिषद्का उपाध्यक्ष प्रा डा मदन कोइरालाले विज्ञानको विकासले मात्र मुलुकको शिक्षा क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने डा शर्माको विचार अनुकरणीय भएको बताए । 

उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले डा शर्माको सरल व्यक्तित्व र विद्वता मुलुकका लागि सम्झनायोग्य रहेको बताए । प्रा डा शर्मा सो परिषद्को सल्लाहकार परिषद्को पूर्वसभापति थिए । उनको निधन गत फागुन २३ गते निमोनियाका कारण भएको थियो ।

रासस 

 

प्रतिक्रिया