Edukhabar
आइतबार, ०४ माघ २०८२
खबर/फिचर

एसएलसी ग्रेडिङ्मा परिवर्तन

शनिबार, ०६ चैत्र २०७२

काठमाण्डौं - यस अघि निर्धारण गरिएको एन ग्रेडलाई हटाउँदै एसएलसीको ग्रेडिङ्मा परिवर्तन गरिएको छ । ग्रेडिङ्मा विद्यार्थीको क्षमता मापन गर्दा अँकलाई आधार नबनाउने मान्यता भए पनि एन ग्रेडले अँककै आधारमा मापन गर्ने भन्दै आलोचना भएपछि शिक्षा मन्त्रालय पहिलेको निर्णयबाट पछि हटेको हो ।

यसै बर्षबाट शुरु गर्न लागिएको एसएलसी ग्रेडिङ्मा शुन्य अंक ल्याउनेले एन अर्थात् नन् ग्रडेड पाउने ब्यस्था गरिएको थियो । तर, कुनै पनि विद्यार्थीको क्षमता शुन्य नहुने भन्दै आलोचना भएको थियो ।

'विद्यार्थीको क्षमता मापन ग्रेडिङ्मा गर्ने भन्ने तर, विद्यार्थीको क्षमता शुन्य हुन्छ पनि भन्ने गर्दा लाजै मर्दो भएको थियो' मन्त्रालय श्रोतले भन्यो, 'विना तयारी ग्रेडिङ्मा जाने हतार गर्दा यस्तो भएको ठहर गर्दै अन्तिम समयमा भए पनि परिवर्तन गरेर मन्त्रालयले लाज जोगाएको छ ।'

परीक्षा आउन १२ दिन मात्रै बाँकी रहदाँ शिक्षा मन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम तथा मूल्याँकन परिषद्को शनिबारको बैठकले ग्रेडिङ्मा परिवर्तन गरेको हो ।

यस अघि तय गरिएको डी ग्रेडलाई डी प्लस र डी गरी दुई भागमा विभाजन गरिएको छ । ३० देखि ४० भन्दा कम अंक ल्याउनेले डी प्लस र २० देखि ३० भन्दा कम ल्याउनेले डी पाउने छ । यस्तै ० देखि २० भन्दा कम ल्याउनेले ई ग्रेड ल्याउने छ । यस अघि २० देखि ४० भन्दा कम ल्याउनेले डी ग्रेड पाउने ब्यवस्था थियो ।

यसरी परिवर्तन गर्दा हरेक ग्रडको अन्तर १० हुने भएकोले विद्यार्थीको मूल्याँकन न्यायोचित तवरबाट हुने ठहर गर्दै ग्रेडिङ्मा परिवर्तन गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले बताए । 'यो निर्णयले समग्र ग्रेडको बर्गान्तरमा एकरुपता समेत ल्याएको छ जसले गर्दा विद्यार्थीको मूल्याँकन प्रभावकारी हुने पक्का छ' उनले भने ।

यस्तै सैद्धान्तिक र प्रयोगात्मकको नम्बर छुट्टा छुट्दै दिने यस अघिको ब्यवस्थालाई हटाएर समग्रमा मूल्याँकन गर्ने विधि अपनाईएको पनि पौडेलले बताए । यस्तै ८ वटै विषयमा आउने औसत ग्रेडको स्तरीकृत अंकलाई विद्यार्थीको ब्यक्तिगत औसतका आधारमा निर्धारण गर्ने निर्णय भएको पनि पौडेलले बताए ।

प्रकाशित मिति २०७२ चैत ६ गते

प्रतिक्रिया