Edukhabar
शनिबार, १९ फागुन २०८०
राम्रा कसरी राम्रा

केही गर्नु पर्दैन, जम्मामा पढाए पुग्छ

शुक्रबार, २७ असार २०७१

- श्रीधर पौडेल

ललितपुरको सैँबु र बुङ्मति । दुईवटा गाउँ विकास समितको सिमानामा दुवै तिर छ, आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय । यसपाली एसएलसी नतिजामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यो विद्यालय धेरैको चासोमा परेको छ । देशका सयौं सामुदायिक विद्यालयको नतिजा शून्यमा झर्दै गरेका बेला आदर्श शौलको नतिजा प्रगतिको उकालोमा छ ।

र विद्यालयको नेतृत्व गरेर बसेका प्रधानाध्यापक सरोजभक्त आचार्य दंग होइन गम्भीर छन् । सिकाइको यही अवस्था कायम राख्नु पर्ने चुनौति उनी सामु छ । अचेल चाँहि हेडसरलाई जसले भेट्छ सोधिहाल्छ, तपाईँको स्कुल त शत प्रतिशत भएछ, सामुदायिक विद्यलाय सुधार्न के गर्नु पर्ने रैछ हँ ? विद्यालय भ्रमण र नतिजाको विश्लेषणपछि उनलाई हामीले पनि यही प्रश्न दोहोर्यायौँ । आचार्यका लागि यो प्रश्न नयाँ होइन, थिएन । अरुलाई जसरी सामान्य हिसाबले जवाफ दिन्थे उनको सदाबहार बनिबनाउन जवाफको शैली त्यही थियो । प्रश्नपछि आचार्य हल्का मुस्काए र भने, ‘विद्यालय भवन छ । विद्यार्थी छन् । शिक्षक छन् । अभिभावक छन् । म प्रधानाध्यापक छु । बस् हामी सबै मिलेर एउटा स्कुलले गर्नु पर्ने अनिवार्य र नियमित काम पढाइरहेका छौँ । अरु नयाँ केही गर्न सकिएको छैन ।’
झन्डै ३५ हजारमध्ये करिब ९ हजार सामुदायिक विद्यालयमा माध्यमिक तहको पढाइ हुन्छ । सामुदायिक विद्यलाय पढेका ४ लाख भन्दा बढी विद्यार्थी वर्षेनी विद्यलाय तहको अन्तिम परीक्षा एसएलसीमा सहभागी हुन्छन् र नतिजामा सबैभन्दा बढी उनीहरुनै अनुत्तीर्ण हुन्छन् । औँलामा गन्न सकिने सामुदायिक विद्यलाय छन् जसले आफूलाई अब्बल देखाइरहेका छन् । र सामुदायिकको साख जोगाइरहेका छन् । त्यही मध्येमा पर्छ आदर्श शौल । चुस्त व्यवस्थापन, मेहनती र काम चोर्न नजान्ने शिक्षक, सचेत अभिभावक र समुदायका कारण सामुदायिक विद्यलायमा यसले आफ्नो उपस्थितिलाई गर्विलो र दरिलो बनाउदै लगेको छ ।
‘म हाकिम हैन, शिक्षक हुँ, शिक्षकको मुख्य काम पढाउने हो, मेरा सहकर्मी साथीहरु यो कुरामा सहमत हुनुहुन्छ,’ प्रधानाध्यापक आचार्य भन्छन्, ‘ मेहनती शिक्षक, विद्यार्थीं, अभिभावक र समाज सबैको साथ सहयोगले विद्यालय यहाँसम्म आएको हो ।’


त्यसका लागि उनले गत वर्ष कक्षा १० का विद्यार्थीका अभिभावकलाई १० पटक विद्यालयमा बोलाए । प्रत्येक विद्यार्थीका बारे तिनका अभिभावकसित छुट्टा छुट्टै छलफल गरे । तिनका समस्या र समाधानका उपाय सुझाए । ‘समस्या पहिचान र सुधारका लागि यो ठूलो काम रहेछ’, उनले भने , ‘विद्यालयको प्रगति एक रात, एक दिनमा फ्याट्ट भएको हैन, हुदैंन । यो सबैको वर्षौको मिहिनेतको सिंगो रुप हो । के हो सुधारको सुत्र भनेर सोध्दा त्यसको सुत्र फ्याट्ट भन्न सकिने अवस्था छैन । एकै शब्दमा भन्दा त्यो मिहिनेत नै हो ।’
बढ्दो निजी विद्यालयको प्रभाव थेग्न यसलाई पनि हम्मे हम्मे नपरेको होइन । त्यसमा सबैभन्दा बढी शिक्षक कर्मचारी र समुदायनै चासोका साथ सुधारमा लाग्यो । स्थानीयको निजीको आकर्षण पहिचान गरेर विद्यालयले अँग्रेजी माध्यामबाट पठन पाठन शुरु गर्यो । शिक्षकले महिनेत गरिरहे । जसले निजीको प्रभावलाई त्यसै सेलाएर गयो । विद्यालयले फेरि पछाडि फर्केर हेर्नु परेको छैन । ‘अब यसलाई झन् कसरी राम्रो बनाउने हामी त्यही सोचमा छौं’ उनले सुनाए ।
सरकारले सबै विद्यालयलाई दिएको सुविधा उही हो । शिक्षक, पाठ्यपुस्तक उही हो । निरन्तर विद्यार्थी मूल्याँकन गर्न अपनाउनु पर्ने विधि प्रकृया र नियम उही हो । यस विद्यलायले यी सबै कुरालाई व्यवहारमा लागू गरेको छ । शैक्षिक स्तर सुधारका लागि भनेर विभिन्न ५ वटा विभाग बनाईएको छ । शैक्षिक विभाग, परीक्षा विभाग, अतिरिक्ति कृयाकलाप विभाग, अनुशासन विभाग र छात्रबृत्ति विभाग । विद्यलायका यी विभागले स्वायत्त तरिकाले काम गर्छन् । यसले सबै शिक्षकलाई आफूँ पनि नीति निर्माणको तहमा सहभागि भएको महशुस गराएको छ, यसले शिक्षण सिकाईमा सुधार ल्याएको छ, र त्यसको प्रभाव नतिजामा देखिएको छ । ‘कुन विभागले के काम गर्दै छ मलाई थाह नहुन पनि सक्छ, किन भने हामी सवै विद्यालय बनाउने काममा लागेका छौँ, म त निमित्त मात्र न हुँ गर्ने त सबै मिलेर हो’ आचार्य भन्छन् । 


पूर्व प्रधानाध्यापक भीम सापकोटा पनि विद्यलाय सुधारमै लागेका थिए । अचानक उनको निधन भयो । उनको निधन भएपछि २०६९ सालमा आचार्यले प्रधानाध्यापकको जिम्मा सम्हाले । विद्यालय सुधारको नेतृत्व तहमा बस्नु उनका लागि निकै चुनौति थियो । ‘सबै भन्दा पहिले मलाई विद्यालय खस्केला की भन्ने चिन्ताले खुव सतायो, तर सबै शिक्षक साथीहरुको मेहनत र विद्यार्थीको लगनले मेरो चिन्ता हरायो’, उनले सम्झिन्छन्, ‘मैले आफूलाई कहिल्यै प्रधानाध्यापक ठानिनँ । एउटा सहजकर्ता ठानेँ । म हाकिम हैन कक्षामा पढाउनु पर्ने शिक्षकनै हुँ भन्ने सधै सम्झि रहेँ । शिक्षकको मूख्य काम पढाउने हो भन्नेमा मेरा सहकर्मी साथीहरु सहमत थिए । त्यसले मलाई सुधारका कार्यक्रम अघि बढाउन झन् सजिलो भयो र नतिजा पनि देखियो ।’
राष्ट्रिय स्तरको परीक्षा हुने गरेकाले धेरैले विद्यलायको स्तर एसएलसीबाट नाप्छन् । यसपालीको नतिजाले आदर्श शौलको मिहिनेतलाई छ्यांग पारेको छ । यस बर्ष एसएलसीमा सहभागि १ सय २५ मध्ये १४ जना विशिष्ट श्रेणी, ९४ जना प्रथम श्रेणी र बाँकी बाँकी १७ जना दोश्रो श्रेणीमा उत्तिर्ण भएर विद्यालय शत प्रतिशत उत्तीर्ण हुने मा दरियो ।
बुङ्मतिका विजय तुलाधरले सबै भन्दा धेरै अँक ल्याए । ८८ दशमलव ७५ प्रतिशत ! यो बर्षको मात्रै हैन वितेका ५ बर्षको नतिजा हेर्ने हो भने विद्यालयको प्रगतिको कथा आपैmँ र्छलङ्ग हुन्छ । २०६५ सालमा एसएलसीमा सहभागि १ सय १९ जनामा १ सय १० जना नियमित र ९ जना मौका परिक्षामा पास भए । २०६६ सालमा ९४ जनामा नियमिततमा  ९० र ४ जना मौकामा, २०६७ सालमा १ सय १ जनामा सय जना नियमित र एक जनामात्रै मौका परीक्षा उत्तीर्ण भए । २०६८ सालमा १ सय २९ जनाले परीक्षा दिएकोमा कोही मौका परीक्षामा जानु परेन । गतवर्ष एसएलसीमा सहभागी १ सय १९ मध्ये नीयमितमा १ सय १३  र मौका परिक्षामा ६ जना गरी सत प्रतिशत विद्यार्थी पास भए । यसपाली कसैले मौका परीक्षा कुर्नु परेन ।
‘गुणस्तर सुधार पैसाबाट हुन्छ भन्दा अलिक नराम्रो सुनिएला तर विना पैसा कसरी प्रभावकारी काम गर्न सकिन्छ ?’ आचार्य प्रश्न गर्छन् ‘हामी हरेक विद्यार्थीको नीयमित प्रगतिको लगत राख्छौँ, चाहे जे भए पनि पेपर पेन्सिल टेस्ट नै हाम्रो मापन छ, त्यसैले समय समयमा परीक्षा लिन्छौँ, यसको खर्च कहाँबाट जुटाउने ? राज्य निःशुल्क शिक्षा भन्छ, तर विद्यालयको शैक्षिक सुधारका लागि केही श्रोत आवश्यक छ । राज्यले नदिएपछि हामी अभिभावक र ब्यवस्थापन समितिको सहमतीमा केही शुल्क लिदैँ आएका छौँ ।’
विद्यालयको प्रगति बढि रहेकाले शूल्क तिर्न अभिभावकमा नाइनास्ती छैन । निजीले लिने भन्दा कम शुल्क लिएर राम्रो स्कुल पढाउन पाउँदा अभिभावक पनि दंग छन् । ‘निजी बोर्डिङको भन्दा कम शुल्कमा उस्तै शिक्षा दिएपछि हामीलाई पनि पैसा उठाएकोमा ग्लानी छैन’ आचार्य भन्छन् ‘तिरेको पैसाको हिसाव किताव जो कोही अभिभावकले हेर्न सक्छन् । हामी विद्यलाय र शिक्षा सुधारमा लागेका छौं । पैसा कमाउने हाम्रो ध्यान छैन । पैसा कमाउने नै मन भएको भए हामी शिक्षण छाडेर अरुनै व्यवसायमा जाने थियौँ, शिक्षक हुने थिएनौँ ।’
विद्यालयमा २९ दरबन्दि छ । दुई कर्मचारी छन् । २४ जना निजी श्रोतका शिक्षक छन्, निजी स्रोतका शिक्षकलाई तलब खुवाउन विद्यलायले कक्षा १ देखि ३ सम्मका विद्यार्थीले वर्षमा १ हजार १ सय, कक्षा ४ र ५ काले १ हजार ५ सय, कक्षा ६, ७ र ८ काले २ हजार ५ सय तथा कक्षा ९ र १० काले ३ हजार १ सय वार्षिक शुल्क वापत बुझाउनु पर्ने व्यवस्था गरेको छ । विद्यालयमा रहेको दुई वटा सटरको भाडा पावत महिनामा १५ सयका दरले थप कमाई विद्यालयको खातामा जम्मा हुने गरेको पनि उनले सुनाए ।   


‘हाम्रा विद्यार्थी हामी भन्दा फरवार्ड छन्, टेक्नोलोजीको यो जमानामा विद्यार्थीलाई शिक्षकले मात्रै सिकाउँछु भन्नु मुर्खता हो । विद्यार्थीका लागि हामी सहजकर्ता मात्र हौ, हामी उनीहरु सितै सिक्छौं र पढ्छौँं’ आचार्य भन्छन्  ‘संसारमा जहाँ पुगुन् तिनले जीवन बोधको ज्ञान सिकुन् भन्ने हाम्रो मान्यता छ । संसारको जुन कुनामा पुगे पनि फर्केर नेपालमै र नेपालकै उन्नती गर भन्ने आदर्श तथा मूल्य मान्यता सिकाउने कोशिस गरेका छौं । जीवन र जगत बुझाउने तिर पनि हामी कृयाशिल र्छौ ।’ उनलाई के पनि लाग्छ भने पढ्नु भनेको अंक र अक्षर चिन्नु मात्रै होइन । समाज बुझ्नु हो । समय बुझ्नु हो र त्यही अनुसार आफूलाई बुझ्नु हो । आदर्श शौलको आदर्श त्यहीहो ।
२०२६ सालमा बुङ्मतिको मच्चछेवहालको पार्टिबाट शुरु भएको विद्यालय नासल चोक, भैरव सत्तल हुँदै शौल पुस्तकलयमा सञ्चालन भएको ईतिहास छ । २०३४ सालमा कार्यविनायकका आफ्नै भवनमा र ४२ सालमा सैंबुमा बनेको भवनमा गरी विद्यालय दुई गाविसमा छ । बुङ्मति गाविस वडा नम्बर एकमा प्राथमिक कक्षाहरु र सैंबु गाविसको वडा नम्बर १ मा माध्यामिक, उच्च माध्यामिक र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन हुँदै आएको छ । २०४१ सालबाट एसएलसीमा सहभागि विद्यालयको विद्यालय तर्फ १ हजार २ सय ५०, उच्च माविमा ४ सय २५ र क्याम्पसमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया