Edukhabar
सोमबार, ०३ बैशाख २०८१
राम्रा कसरी राम्रा

विद्यार्थीको सिकाइ सुधार्न पढाएर मात्रै हुँदैन, अभिभावकसँग नजिक हुनुपर्छ

सामुदायिक विद्यालयका शिक्षकलाई पढाउनै आउँदैन निजीका शिक्षकले गएर सिकाउने भन्ने हुन्न । एकले अर्कोलाई समान रूपमा हेर्न सक्यौं भने सहकार्य सम्भव छ ।

शनिबार, ३० मंसिर २०८०

म जुन बेला प्रधानाध्यापक भए, त्यस बेला विद्यालयमा एक सय पनि  विद्यार्थी थिएन । सुकुलमा राखेर पढाउनु पर्थ्यो ।  विद्यालयमा मुस्किलले १० वटा डेस्क बेन्च थियो । शौचालय थिएन । शिक्षक पनि सार्वजनिक शौचालयमा जानु पर्थ्यो । शौचालयकै कारण महिनावारीको बेला विद्यार्थी आउँदैनथ्यो । 

यस्तो अवस्थामा प्रधानाध्यापक भएपछि कहाँबाट सुरु गर्ने ? योजना बनाउन पनि गाह्रो थियो । केही गर्नुपर्छ भन्ने हुटहुटी चाहिँ थियो । बिस्तारै सिक्दै काम सुरु गरे ।  त्यस बेला सामुदायिक विद्यालयमा इसीडी भन्ने थिएन । शिशु कक्षा भनेर कतैकतै चलाइएको थियो । मैले सुधारको पहिलो खुड्किलो रूपमा इसीडी सुरु गरे । कक्षा १ मा भर्ना भएका नानीबाबुलाई उमेर हेरेर केहीलाई इसीडीमा भर्ना गरे । कक्षा चलाउन जस्ताको टहरा बनायौ । 

सामुदायिक विद्यालयमा समुदायको विश्वास थिएन । विश्वास जित्नु मेरो लागि चुनौती थियो । मैले सुधारको सुरुवात विद्यालयमा विद्यार्थी ल्याउन होस वा कुनै योजना बनाउन पनि समुदायलाई नै परिचालन र सहभागी गराए । बिस्तारै समुदायको सहयोग पाउन थाले । सामुदायिक विद्यालयको समस्या भनेको अभिभावक विद्यालयमा नआउने हो । हाम्रा अभिभावक शिक्षक हुनुहुन्न । गरिब हुनुहुन्छ । बिहान र बेलुकाको छाक टार्नको लागि सधैँ ज्याला मजदुरी गरिरहनु हुन्छ । त्यसैले विद्यालयले बोलाएको बेला आउन सक्नुहुन्न । 

विद्यार्थीको गुणस्तर सुधार्ने हो भने अभिभावकसँग नजिक हुनुपर्छ भन्ने मैले जानेको थिए । त्यसैले अभिभावकलाई कसरी उपस्थित गराउने ? चुनौतीको रूपमा लिए । अभिभावकको फुर्सदको समयमा भेट्न थाले । अभिभावकको विश्वास जिते । एक वर्षमा धेरै परिवर्तन आयो । विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो । अभिभावकको चासो भयो । अब त गर्न सक्छु भन्ने हौसला भयो । सरकारको नीतिमा बाँधिएर योजना बनाउँदै गए । बिहान ६ बजेदेखि राती ९ बजेसम्म पनि काम गर्न सक्ने टिम थियो । साथीहरूले  सहयोग गर्नुभयो । अहिले जे जति भएको छ मैले मात्रै भन्दा पनि टिमवर्कले सम्भव भएको हो । 

महिनावारीको बेला पनि विद्यार्थीलाई कक्षामा आउने वातावरण बनाउन ०६४ देखि  स्यानिटरी प्याटको सुरुवात गर्‍यौ । विद्यार्थी र शिक्षकलाई कम्प्युटर के हो ? थाहा थिएन  । ५ वटा कम्प्युटर जोड्यौ । सिकाइमा सुधार ल्याउन काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्‍यौ । सिकाइको गुणस्तरमा सुधार भयो । विद्यार्थी र शिक्षकमा प्रविधि प्रतिको लगाव बढ्दै गयो । 

 

समान हैसियतमा निजीसँग सहकार्य 

निजी र सामुदायिक विद्यालय बिच सहकार्य गरेर अझ सिकाइमा सुधार गर्न सकिन्छ । हामीसँग विषयगत शिक्षक छन् तर, म्युजिक, खेलकुद शिक्षक प्रशिक्षक हुनुहुन्न । जुन निजी विद्यालयमा छन् । एउटा विद्यालय र अर्को बिच यस्ता कुरामा सहकार्य गर्न सक्छौ । सहकार्य गर्नु अघि कुन विद्यालयले के गर्ने भन्ने यकिन गर्नु पर्ने हुन्छ । एकले अर्कोलाई ‘ह्युमिलेशन’ गर्ने गरी चाहिँ होइन । सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पढ्ने र पढाउनै आउँदैन निजीका शिक्षकले गएर सिकाउने भन्ने हुनु हुन्न । दुवैले एकले अर्कोलाई समान रूपमा हेर्न सक्यौ भने सहकार्य गर्न सम्भव छ । निजीका शिक्षकले सामुदायिकमा गएर पढाउने, सामुदायिकले निजीमा गएर पढाउन सकिन्छ । त्यस्तै सामुदायिकका विद्यार्थीलाई निजीमा र निजीका विद्यार्थीलाई सामुदायिकमा कक्षा लिन लगाउन सकिने भने समानता हुन्छ । होइन भने एकले अर्कोलाई सम्मान गरेको ठहरिँदैन । 

निलबाराही मावि कालीमाटी काठमाडौँकी प्रधानाध्यापक पौडेलले प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त विचार । 

 

प्रतिक्रिया