सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।
युगकवि सिद्धिचरण श्रेष्ठरचित ‘किसान’ शिर्षकको कविताको भावजस्तै अहिले पनि नेपालका करिब एक तिहाइ मानिसको हातमुख जोड्ने काममा किसानी अर्थात् कृषि कर्मले नै सहयोग गरेको छ । यो वास्तविकता गाउँको चियापसल, चौतारीदेखि लिएर देशको सरकार चलाइरहेका दलका नेता र सिँहदरबारमा पुग्ने सबैलाई थाहा छ । यही भएर उनीहरु बेलाबेलामा कृषिको कुरा गर्छन् तर कृषिलाई कसरी उकास्ने भन्ने विषयमा गहन रुपले र गम्भीर तरिकाले छलफल गर्दैनन् । कृषिमा जनतादेखि सरकारसम्मको गम्भीरता नहुँदा पुर्खाले भन्दै आएको उत्तम खेती आज आएर खत्तम भएको छ ।
कृषिलाई वैज्ञानिक ढंगले रूपान्तरण गरी उत्पादनमूलक तथा व्यावसायिक बनाउन र कृषि प्राविधिक उत्पादन गर्ने लक्ष्यअनुरूप विद्यालयस्तरमै कृषि प्राविधिक (जेटीए) उत्पादन गर्न कृषि शिक्षा (बाली विज्ञान) पढ्न पाउने व्यवस्था गरिएको छ । यो ज्यादै राम्रो सराहनीय काम हो ।
शिक्षाविना दक्ष जनशक्ति सम्भव छैन । अतः विद्यालय तहमै कृषि विषय समावेश गरेर थोरैमात्र भए पनि देखिने गरी गरेको प्रयासले कृषिमा पनि क्रमशः सम्भावनाको किरण देखिन थालेको छ । पहिला कृषि पनि पढ्ने हो र ? भन्ने सोचका अभिभावकहरु पनि कृषि पढेर पनि केही गर्न सक्ने रहेछन्, कृषि पढ्नुको मतलब पढेर पनि सन्तानले कुटो कोदालो समायो भन्नेमा नाक खुम्च्याउनुको सट्टा नाक फुलाउने क्रम पनि तीब्र बनेको छ ।
तर अहिलेसम्म पनि स्पष्ट पाठ्यक्रम तथा विषयवस्तुसम्बन्धी पर्याप्त पुस्तक, नमूना प्रश्नोत्तर र प्राविधिक ज्ञान दिने ल्याबको सुविधा उपलब्ध हुन सकेको छैन । कृषि प्राविधिक बन्न चाहने विद्यार्थीको संख्या उत्साहजनक भए पनि भौतिक संरचना तथा छात्रावासको अपर्याप्तता र विषयगत शिक्षकको चरम अभाव छ । उपयुक्त भौतिक संरचना, फिल्डमा काम गर्नका लागि चाहिने जग्गा पनि अभाव छ । कृषि विषय पनि प्राविधिक विषय नै भएकोले सैद्धान्तिक ज्ञानका अलावा प्रयोगात्मक कक्षा पनि अत्यावश्यक छ । तर कृषिमा गर्नुपर्ने प्रयोग खेतबारीमा गर्न नपाउने असुविधाले अझै पनि कृषि विषयलाई कसरी व्यवहारमुखी बनाउने ? भन्ने चुनौती छ ।
सरकारले कृषिका लागि भनेर बनाइएको पाठ्यक्रममा कृषिका भन्दा बढी विज्ञानका विषयवस्तुहरु हुँदा पाठ्यपुस्तकका विषयहरु पनि झारा टार्ने प्रवृत्तिका मात्र छन् । व्यावसायिकको सट्टा गुजारामा मात्र केन्द्रीत भइरहेको कृषि पेशाजस्तै कृषि पढाइ हुने विषयका पाठ्यक्रममा पनि त्यति गहनता भेटिँदैन । यस्तो अवस्थाले विद्यार्थीले सहजै परीक्षा उत्तीर्ण त गर्छन् तर ती विद्यार्थी पूर्ण रुपमा दीक्षित हुन पाउँदैन, त्यसको असर फेरि कृषिमै पर्ने भएकोले त्यतातिर सरकारको ध्यान जानुपर्छ ।
कृषि विषयलाई अनिवार्य विषयका रुपमा लग्नु जरुरी छ । किनभने हामी पुरानै ढंगले, तरिकाले, जानी नजानी, कृषि सम्बन्धी पेशा गरिरहेका छौं । त्यसमा व्यवहारिक रुपले, प्राविधिक रुपले नयाँ सिपहरु भित्र्याउन सक्यौं, त्यही अनुसारको पाठ्यक्रम बनाउन सक्यौं भने रोजगारका लागि युवाहरु विदेशिने क्रम कम हुने थियो । सिप भएपछि मान्छे स्वरोजगार हुन्छ, त्यही कारण पनि शिक्षामा सिप भित्र्याउनै पर्छ । हाम्रो जस्तो देशमा अन्य सिपभन्दा कृषिलाई प्रवद्धन गर्ने सिपको जरुरी छ । शिक्षामा सिप भित्र्याउन सरकारले पहल नगरेकै कारण औपचारिक अध्ययन सकाएका वा शैक्षिक बेरोजगारको संख्या बढेको हो । शिक्षासँगै हामीले सिप दिएको खण्डमा विदेश नभएर स्वदेशमै पसिना चुहाउने थिए । र, उत्पादकत्व बढ्ने थियो
ढिलै भए पनि कृषिलाई विद्यालय शिक्षामा समावेश गरीसक्दा पनि अझै कसरी व्यावसायिक बनाउने भन्ने प्रश्नको जवाफ पेचिलो बनेको छ । कृषिमा पनि औपचारिक अध्ययन वा सैद्धान्तिक ज्ञान हुने तर सिप भने नहुने हो कि भन्ने चिन्ता सर्वत्र फैलिएको छ ।
हुन त कृषि पढेको व्यक्ति कहिल्यै भोको बस्नु पर्दैन, बेरोजगार भएँ भनेर पुर्पुरोमा हात राख्नु पर्दैन, उसले रोजगारीको लागि विदेश पनि जानु पर्दैन । आफ्नो हातमा सिप हुने भएकोले सिपले उसको आत्मबल बढाउँछ । तर, अहिले पनि किसानहरुले समयमा बिउ पाएका छैनन्, पानी पाएका छैनन्, मल पाएका छैनन्, बजार पाउन सकेका छैनन्, यस्तो अवस्था यदि लामो समयसम्म रहिरहने हो भने त्यसको असर अहिले कृषि पढिरहेका र कृषि पढेर केही गर्नुछ भन्ने भावना भएका विद्यार्थीमा पर्ने छ । अहिले सिपविहीन तर सर्टिफिकेटले युक्त शैक्षिक बेरोजगार उत्पादन भएजस्तै भोलि सिपयुक्त बेरोजगार उत्पादन नहोला भन्न सकिन्न । यसैले राज्य वा सरकारले नीतिगत रुपमा के कसरी हुन्छ ? ती समस्याको यथासिघ्र समाधान गर्नुपर्छ ।
यसबाहेक हाम्रोजस्तो प्राकृतिक स्रोत साधनले धनी तर विकासका दृष्टिले भर्खर घिस्रिरहेको र भूपरिवेष्ठित मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि कृषिको विकास सबैभन्दा उत्तम र दीगो विकल्प हुनेछ । यसैले कृषि कर्म गर्नु गर्वको विषय हो भन्ने भावना सर्वत्र पुग्ने पाठ्यक्रम बनाउन पनि जरुरी छ ।
कैलाली, धनगढीका चन्द काभ्रेको टुकुचा गाविस ७ घिमिरे गाउँस्थित श्वेतबराह माविमा बाली विज्ञान पढाउँछन् ।
प्रतिक्रिया