Edukhabar
शनिबार, ०७ चैत्र २०८२
खबर/फिचर

चुनावमा बन्द हुने विद्यालयहरु अन्य विदामा समायोजन गरिने, शिक्षक परिचालन कम गर्न ध्यानाकर्षण

शनिबार, १२ चैत्र २०७३

काठमाडौं - आसन्न स्थानीय निर्वाचनका बेला बन्द हुने विद्यालयहरु अन्य सार्वजनिक विदामा समायोजन गर्ने गरी ब्यवस्थापन गरिने भएको छ । चुनावका बेला विद्यालयहरु बन्द गर्ने तयारीको आलोचना भईरहेका बेला शिक्षा विभागले यस्तो तयारी गरेको हो । विभागले उक्त तयारीलाई औपचारिक सूचना मार्फत् सार्वजनिक गर्ने महानिर्देशक बाबुराम पौडेलले बताएका हुन् ।

बैशाख २६ देखि ३१ गतेसम्म विद्यालय बन्द गरिने निर्वाचन आयोगको प्रस्ताव सार्वजनिक भएसँगै उक्त कार्यले बालबालिकाको पढ्न पाउने अधिकार हनन् हुने भन्दै आलोचना भईरहेको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) तथा नागरिक समाजको तर्फबाट तयार ध्यानाकर्षण पत्र बुझ्दै पौडेलले चुनावका दिनहरुमा बन्द भएको विद्यालयहरु अन्य सार्वजनिक विदामा समायोजन गर्ने र यस सूचनालाई गोरखापत्रमा प्रकाशित गरिने प्रतिबद्धता जनाएका छन् । अभियानले बुझाएको ध्यानाकर्षण पत्रका आधारमा पौडेलले फेरी निर्वाचन आयोगक पदाधिकारीसँग छलफल गर्ने प्रतिवद्धता समेत जनाएका अभियानका अध्यक्ष कृष्ण सुवेदीले बताए ।

नेपाल सरकारले बालबालिका सम्बन्धि महासन्धिलाई अनुमोदन गर्नुका साथै बालबालिका तथा विद्यालय शान्तिक्षेत्र घोषणा गरी विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र यसको कार्यन्वयन निर्देशिका २०६८ जारी गरीसकेको सन्दर्भ स्मरण गराउँदै अभियानले छुट्टा छुट्टै तीन बुँदा मार्फत् ध्यानाकर्षण गराएको छ । विद्यालयलाई कम प्रयोग गरी विद्यालय बन्द हुने दिनमा न्यूनिकरण गर्न, निर्वाचनमा शिक्षक परिचालनमा यथासक्य कम गर्न र विद्यालय पुर्वाधारको संरक्षण तथा सम्बद्र्धन गर्न अभियानले ध्यानाकर्षण गराएको हो ।

विद्यालयलाई कम भन्दा कम प्रयोग गर्ने गरि मतदान केन्द्र निर्धारण गर्दा सकेसम्म वैकल्पिक स्थान छनौट गर्न निर्वाचन आयोगलाई पत्रचार गर्न तथा मतदान केन्द्र तोकिएका विद्यालयहरु बढिमा पाँच दिन बन्द गर्ने व्यवस्था हुन  र मतदान केन्द्र नतोकिएका विद्यालयहरु निर्वाचनको दिन एक दिनमात्र बन्द गर्ने व्यवस्था गर्ने उपाय सुझाईएको छ ।  निर्वाचनको क्रममा मानव संशाधन परिचालन गर्दा सकेसम्म वैकल्पिक उपाय अपनाई शिक्षक परिचालनमा कमी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न तथा निर्वाचनमा परिचालन नभएका शिक्षकहरुद्वारा मतदान केन्द्र नतोकिएका विद्यालयमा शैक्षणिक एवं अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउन भनिएको छ ।

यसैगरी विद्यालय तथा प्राङ्गणमा कुनै पनि चुनाव सम्बन्धी प्रचार सामग्रीहरुको प्रयोग नगराउन तथा मतदान केन्द्र भएका विद्यालयको भौतिक सम्पत्ति चुनावको सिलसिलामा नष्ट तथा क्षति भएमा सम्बन्धित निकायले भरताल गराउन भनिएको छ ।  उक्त ध्यानाकर्षण पत्र अभियान सहित कन्र्सोटियम नेपाल, स्थानीय तह निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियान, शिक्षा पत्रकार समूह, समावेशी शिक्षा मञ्च, विश्व शिक्षा तथा वल्र्ड भिजनका प्रतिनिधिहरु सहितको टोलिले बुझाएको हो ।

यस अघि उक्त समूहले निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराईसकेको छ ।

प्रतिक्रिया