Edukhabar
शनिबार, ०३ माघ २०८२
अन्तैवाट

चुल्ठे मुन्द्रे नै डिसिप्लेन इन्चार्जः विद्यार्थी आचारसंहिता किन हुँदैन कार्यान्वयन ?

शुक्रबार, ०१ बैशाख २०७४

काठमाडौं १ बैशाख/कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी सरकारले बनाएको आचारसंहिता कलेज र विद्यार्थीले पालना गरेका छैनन् । विद्यार्थीले मोबाइल, मोटरसाइकल प्रयोग गर्न नपाउने, छात्राले छोटा स्कर्ट लगाउन नपाउनेलगायतको व्यवस्था गरी आचारसंहिता बनाइएको छ । तर, आचारसंहिता बनेको लगभग ४ वर्ष बित्न लागिसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को संयोजनमा शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी २८ असोज २०६९ देखि लागू हुने गरी ६३ बुँदे उच्च माध्यमिक तह आचारसंहिता बनाइएको थियो ।

विद्यालय शिक्षाको अन्तिम परीक्षालाई विगतका वर्षहरूमा एसएलसी भनिन्थ्यो भने अहिले एसइई भनिन्छ । सो परीक्षा उत्तीर्ण गरेपछि प्रायः विद्यार्थीले आफ्ना अभिभावकसँग विभिन्न माग राख्छन् । त्यसमध्येमा धेरैजसोको रोजाइमा मोबाइल, बाइक पर्ने गर्छन् । विद्यार्थीको पढाइमा नराम्रो असर परिरहेको, दुर्घटना हुने, उच्छृंखलता बढ्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाइएको थियो । तर, केही विद्यार्थी भने आचारसंहिताले आफूहरूलाई अन्याय गरेको बताउँछन् । हेराल्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल नारायण उपाध्याय आफूहरूले पूर्ण रूपमा आचारसंहिता कार्यान्वयन गर्न नसकेको स्विकार्छन् । ‘हामीले केही हदसम्म आचारसंहिता कार्यान्वयन गरेका छौँ, तर यसको प्रभावकारी कार्यान्वयनमा भने चुकेकै हौँ’, उनले भने ।

आचारसंहिता उल्लंघन गरे यस्तो छ कारबाही
कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय-कलेज परिसरमा मोबाइल चलाउन प्रतिबन्ध लगाइएको छ । मोबाइलजस्तो कुरा टिनएजका विद्यार्थीको रवाफ देखाउने साधन भएको भन्दै निषेध गरिएको थियो । विद्यार्थीले मोबाइल प्रयोग गरेमा विद्यालयले जफत गरी पहिलोपटकका लागि चेतावनी पत्रसहित अभिभावकलाई बुझाउने, पुनः विद्यार्थीबाट सो आचरण भएमा विद्यालयले मोबाइल जफत गरी तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । तर, यसमा कलेजहरू जिम्मेवार नबनेको अभिभावक संघका अध्यक्ष केशव पुरीको आरोप छ ।

त्यस्तै, मोटरसाइकल प्रयोग गर्न नपाउने प्रावधान पनि आचारसंहितामा उल्लेख छ । यसरी कक्षा ११ र १२ का विद्यार्थीले मोटरसाइकल चलाउँदा एकातर्फ विकृति देखापरेको र अर्कोतर्फ अत्यधिक दुर्घटना हुन थालेपछि विद्यार्थीलाई कलेज ड्रेसमा मोटरसाइकल चलाउन प्रतिबन्ध लगाइएको थियो । यदि विद्यार्थीले अटेर गरी चलाएमा पहिलोपटक अभिभावलाई जिम्मा लगाउने र पुनः प्रयोग गरे प्रत्येकपटक ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था छ । ‘शिक्षा मन्त्रालय र शिक्षा विभागले अनुगमन गर्न नसक्दा आचारसंहिताको उल्लंघन भइरहेको छ’, अध्यक्ष पुरीले भने ।

कलेजमा छात्राहरूले अत्यधिक छोटो स्कर्ट लगाउँदा विकृति फैलन थालेपछि यसको मापदण्ड तय गरिएको थियो । जसमा छात्राहरूले स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तीमा २ इन्च तल हुनुपर्ने प्रावधान रहेको छ । यदि उल्लंघन गरेमा कलेज प्रशासनले कारबाही गरी निष्कासनसमेत गर्न सक्नेछ ।

कक्षा ११ र १२ का विद्यार्थी विद्यालय÷कलेजको पोसाकमा कुनै पनि होटेल, सिनेमाहल, पार्क, सपिङ मललगायतको स्थानमा गएको पाइएमा सरोकारवाला निकायले प्रहरीको जिम्मा लगाउने व्यवस्था छ । विद्यालय÷कलेजको अनुशासन विभागको जिम्मा लगाई आवश्यक कारबाही गर्न सक्नेछ ।

त्यस्तै, विद्यार्थीले कक्षा बंक गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने प्रावधान रहेको छ । हाजिर भइसकेपछि विद्यार्थीले कक्षा बंक गरेको पाइएमा विद्यालयले विभिन्न किसिमको कारबाही गर्न पाउने व्यवस्था पनि रहेकाले पहिलोपटक बंक गरेमा विद्यार्थीलाई चेतावनी दिई अभिभावकलाई जानकारी दिने, दोस्रोपटक बंक गरेमा पाँच सय जरिवाना गरी अभिभावकलाई जानकारी दिने, तेस्रोपटक बंक गरेमा एक हजार जरिवाना गरी अभिभावकलाई जानकारी दिने, चौथोपटक बंक गरेमा अभिभावकलाई समेत कडा चेतावनी दिई दुई हजार जरिवाना गर्ने र पाँचौँपटक बंक गरेमा विद्यालयबाट निष्कासन गरी बोर्ड परीक्षामा समेत सामेल नगराउन सक्नेसम्मको व्यवस्था रहेको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टकी विद्यार्थी एलिसा लामिछाने आफूहरूले पूर्ण रूपमा आचारसंहिता पालना गरेको बताउँछिन् । भन्छिन्, ‘विद्यार्थीले आचारसंहिता पालना गरे वा गरेनन् भने अनुगमन हुनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । जसले गर्दा यसको प्रभावकारी कार्यान्वयन नभएको हो ।’

यसरी भयो आचारसंहिताको उल्लंघन
राजधानीका निजी क्याम्पसमा प्रायः बाहिरी जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । जसले गर्दा धेरैजसो आफ्नो अभिभावकको निगरानीभन्दा बाहिर हुन्छन् । त्यस्ता विद्यार्थीले आफू स्वतन्त्र भएको महसुस गर्छन् । विशेषगरी निजी कलेजका विद्यार्थी आफूलाई बिन्दास मुडमा राख्न रुचाउँछन् । त्यही बिन्दास हुने चाहनामा उनीहरूले आफ्नो संस्कृतिलाई भुल्दै र आधुनिक संस्कृतिलाई प्रोत्साहन गरिरहेका छन् भन्दा कुनै अत्युक्ति नहोला ।

साथै, छात्राले स्कर्ट लगाउँदा छात्र आकर्षित हुने भएकाले विद्यार्थी संख्या बढाउन कलेजहरू स्कर्टमा बढी प्रतिस्पर्धी भएको विद्यार्थी संकेत आचार्य आरोप लगाउँछन् । ‘विद्यार्थीलाई अनुशासनमा राख्ने बहानामा कतिपय कलेजले आन्तरिक नियम पनि बनाउँछन्, तर त्यो नियमको पनि उल्लंघन गर्दै विद्यार्थी आफूखुसी कलेज पोसाकमै खुलेआम रूपमै खाने, खेल्ने, घुम्ने, रमाइलो गर्ने उद्देश्यले सिनेमा हल, पार्क, रेस्टुरेन्टलगायतका स्थानमा भेटिन्छन्,’ उनी भन्छन्, ‘तर त्यसको अनुगमन कतैबाट हुन सकेको छैन । न त यस्तो गर्नेलाई कारबाही नै भएको छ ।’

पछिल्लो समय काठमाडौंका चर्चित सिनेमा हल, पर्यटकीय स्थल, पार्क, गुम्बा एवं रेस्टुरेन्टमा चुरोटको धुवाँ उडाइरहेका, कलेज ड्रेसमै ब्वाइफ्रेन्ड एवं गर्लफ्रेन्ड एक–आपसमा रमाइरहेका र चलचित्र हलमा ड्रेसमै भेटिन्छन् विद्यार्थी । यसरी खुलेआम रूपमा विद्यार्थी यस्तो स्थानमा देखिनुमा सम्बन्धित निकाय, कलेज र अभिभावक नै गैरजिम्मेवार भएको हिसानका अध्यक्ष रमेश सिलवाल बताउँछन् । आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन भएन भन्ने प्रश्नमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल आफूहरू कडाइका साथ आचारसंहिता कार्यान्वयन गराउने बाटोमा लागिसकेको बताउँछन् । भन्छन्, ‘आचारसंहिता कार्यान्वयनलाई चुस्त बनाउने योजना बनाइसकेका छौँ, अब चाँडै नै त्यसको रिजल्ट आउँछ ।’

मोटरसाइकल चढ्नेहरू कारबाहीमा
मोटरसाइकल चलाएर आचारसंहिता उल्लंघन गर्ने केही विद्यार्थीलाई भने प्रहरीले कारबाही गरेको छ । आर्थिक वर्ष ०७२÷७३ मा एक हजार नौ सय एकजना र चालू आर्थिक वर्ष ०७३-७४ मा चार सय ४४ जना विद्यार्थीलाई कारबाही गरिसकेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए । तर, कलेजहरूमा अझै पनि बाइक लिएर जाने विद्यार्थी थुप्रै छन् । उनीहरूलाई कलेज प्रशासनको भने कुनै रोक छैन ।

विद्यार्थी तह लगाउन चुल्ठे मुन्द्रे ?
विद्यार्थीलाई अनुशासनमा राख्न भन्दै कलेजहरूमा डिसिप्लिन इन्चार्ज (डिआई) राख्न थालिएको छ । तर, डिआईमा राखिएका व्यक्तिहरूको आफ्नै पृष्ठभूमि भने खराब हुने गरेको छ । प्रहरी अधिकारीहरूका अनुसार धेरैजसो कलेजमा गुन्डागर्दी पृष्ठभूमिका व्यक्तिहरू डिआईमा नियुक्त हुने गरेका छन् । राम्रो अध्ययनसमेत नगरेका व्यक्तिहरूलाई कलेजहरूले अनुशासन हेर्ने जिम्मेवारी दिएको हुन्छ । जसका कारण कतिपय कलेजमा पटक–पटक विवादसमेत भएका छन् । विद्यार्थीस“ग राम्रो व्यवहार नगर्ने र कतिपय डिआईहरूले गलत गतिविधिमा संलग्न विद्यार्थीहरूलाई सघाउने गरेका छन् । तीन वर्षअघि जेभियर्स एकेडेमीका एक विद्यार्थीले डिआईकै यातनाका कारण आत्महत्या गरेका थिए । विद्यार्थी सुस्किन गैरेले डिआई प्रकाश श्रेष्ठको यातनाका कारण आत्महत्या गरे । पछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत वैशाखमा बालुवाटारस्थित इन्टरनेसनल कलेजका डिआई सुदीप गुरुङले आफ्नै विद्यार्थीलाई सट्टेबाजी खेलाउने गरेको खुलेको थियो । प्रहरीले गुरुङसहित विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । गत वर्ष ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजका डिआई दीपेन्द्र श्रेष्ठले कानको जाली फुट्ने गरी विद्यार्थी सलन श्रेष्ठलाई कुटेका थिए । जुन घटनामा उनी पक्राउसमेत परे । स्रोतका अनुसार डिआई नियुक्तिमै टोले गुन्डाहरूले आफ्नो मान्छे राख्न दबाब दिने गरेका छन् । त्यसरी नियुक्त भएका डिआईबाट अनुशासन कायम हुन सकेको छैन । कलेजमा डिआईका रूपमा काम गर्ने कतिपय व्यक्तिहरू गलत पृष्ठभूमिका हुने गरेको काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले बताए । डिआई नियुक्त गर्दा पृष्ठभूमि हेरेर राख्नुपर्ने उनको भनाइ छ ।

के­–के छ आचारसंहितामा ?
–विद्यालयले तोकेबमोजिमको पोसाक लगाउनुपर्ने । चुज पाइन्ट लगाउन नपाइने । पाइन्टको मोता १६ इन्चभन्दा कम हुनुपर्ने । केटीहरूको स्कर्टको तल्लो भागको हकमा घुँडाभन्दा कम्तीमा २ इन्च तलसम्म हुनुपर्ने ।

–पहिलो कक्षा सुरु हुनुभन्दा १० मिनेटअघि कक्षाकोठामा प्रवेश गरिसक्नुपर्ने र अन्तिम कक्षा नसकी विद्यालय–कलेज हाताबाहिर जान नपाउने

–विद्यार्थीले मोटरसाइकल प्रयोग गर्न नपाउने ।

–विद्यालय कलेजको हाताभित्र मोबाइल प्रयोग गर्न नपाइने ।

–विद्यार्थी कलेज पोसाकमा कुनै पनि होटेल, रेस्टुरेन्ट, सिनेमा हल, पार्क, सपिङ मललगायतका स्थानमा जान नपाउने ।

–विद्यार्थीले विद्यालय समयमा र विद्यालयको पोसाकमा मादक पदार्थ सेवन, धूम्रपान गर्न नपाउने ।

–विद्यार्थीले कक्षा बंक गर्न नपाउने ।

–विद्यार्थीले विद्यालय परिसर, कक्षाकोठा वा विद्यालय पोसाक लगाएर विद्यालयबाहिरसमेत यौनजन्य क्रियाकलाप गर्न÷गराउन वा अन्य साथीलाई प्रोत्साहित गर्नसमेत पाउने छैनन् । त्यसो गरेको पाइएमा विद्यालयले कसुर हेरी निष्कासन गर्न सक्नेछ ।

–विद्यार्थीले प्राचार्य, शिक्षक, कर्मचारी र सहपाठीलाई गालीगलौज गर्न पाउने छैनन् ।

–नियमितता, आचारसंहिता, अनुशासन, पठनपाठन आदि जस्ता विषयमा विद्यालयले दिएको निर्देशनअनुसार पालना गर्नुपर्नेछ ।

–विद्यालयले सञ्चालन गर्ने आन्तरिक परीक्षामा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

–कुनै पनि विद्यार्थीले आफू अध्ययन गर्ने क्याम्पसको भौतिक सम्पत्ति नष्ट गर्न पाउनेछैन ।

– विद्यार्थीले अस्वाभाविक रूपमा फेसन, मेकअप, कपाल रंगाउन, मेहन्दी लगाउन, लामा–लामा नङ पाल्न, केटाहरूले मुन्द्रा लगाउन र लामो–लामो कपाल पाल्न एवं हातमा बाला लगाउन पाउने छैनन् । त्यसो गरेमा विद्यालयले सो विद्यार्थीलाई दण्ड जरिवाना गर्न सक्नेछ ।

कुनै पनि विद्यार्थी कक्षामा ९० प्रतिशत हाजिरी हुनुपर्नेछ । यदि ९० प्रतिशत हाजिरी नभएमा बोर्ड परीक्षामा सामेल गराइने छैन ।

–क्याम्पसको अनुमतिबेगर क्याम्पस हाताभित्र आइपोड, आइप्याड, ल्यापटपलगायतका सामान प्रयोग गर्न पाउने छैन । यदि स्वीकृतिबेगर प्रयोग गरेमा क्याम्पसले सजाय र जरिवाना दुवै गर्न सक्नेछ ।

साथै भर्ना प्रक्रिया, विज्ञापन शुल्क, ड्रेसकोड, विदेशी नामाकरण, नाम र ठाउँ परिवर्तनलगायतका ६३ बुँदे आचारसंहिता बनाएको थियो । सो आचारसंहिता बनेपछि केही क्याम्पसले पालना गरे तापनि पछिल्लो समयमा धेरैजसो निजी कलेजले यसको उल्लंघन गरेको पाइएको छ ।

के भन्छन् कलेजहरू ?
आचारसंहिता पालना गरेका छौँ
अम्बादत्त जोशी, प्रिन्सिपल
ग्लोबल कलेज अफ म्यानेजमेन्ट
तत्कालीन उमाशिपले बनाएको आचारसंहिता कलेजहरूले पूर्ण रूपमा पालना गर्नुपर्छ । आचारसंहिता पालना गर्ने विषयमा हामी सकारात्मक छौँ साथै पालना पनि गरेका छौँ । हाम्रा विद्यार्थीले कलेज आउँदा मोबाइल ल्याए उनीहरूले कक्षाकोठामा जाँदा मोबाइल लाँदैनन् । अटेर गर्ने विद्यार्थीलाई कारबाहीसमेत गरेका छौँ । यो वर्ष मात्र नियमलाई पूर्ण पालना नगरी कक्षाकोठामा मोबाइल लैजाने करिब २२ जना विद्यार्थीको मोबाइल कब्जामा लिएका छौँ । अब हामीले उनीहरूको मोबाइल कक्षा १२ को परीक्षा सकिएपछि मात्र उनीहरूका अभिभावकलाई बुझाउँछौँ । जसले गर्दा अहिले हाम्रा विद्यार्थीले कक्षाकोठामा मोबाइल लैजान छाडेका छन् । त्यस्तै, मोटरसाइकल भने प्रयोग गरेको पाएका छैनौँ । यसरी आचारसंहिताको उल्लंघन गर्ने कि कार्यान्वयनमा सघाउ पु¥याउने भन्ने विषयमा क्याम्पस प्रशासन र अभिभावकहरू नै जिम्मेवार हुन जरुरी छ ।

शतप्रतिशत कन्ट्रोल गर्न सकिएन
राजन खतिवडा, प्रोगाम डाइरेक्टर,
गोल्डेनगेट इन्टरनेसनल कलेज
आचारसंहिताको कार्यान्वयन गर्नु सबैको कर्तव्य हो । त्यसैले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी बनाइएको आचारसंहिता कार्यान्वयन गर्न हाम्रो कलेज प्रशासनले मात्र सम्भव हुँदो रहेनछ । त्यसका लागि अभिभावक, विद्यार्थी र सम्बन्धित निकाय सक्रिय हुन जरुरी छ । हाम्रो कलेजको हकमा हामीले मोबाइल ल्याउन दिएका छौँ । उनीहरूका अभिभावकका लागि आफ्ना छोराछोरी कहाँ छन् भनेर जानकारी लिनका लागि पनि उनीहरूलाई मोबाइल ल्याउन भने दिएका छौँ । तर, कलेजको हाताभित्र चलाउन भने दिएका छैनौँ । यो विषयमा हामीले सबै विद्यार्थीलाई जानकारी गराएका छौँ । साथै निगरानी पनि बढाएका छौँ । त्यस्तै, हामीले ठूलो सिसी भएका मोटरसाइकललाई रोक लगाएका छौँ । तर, विद्यार्थीलाई कलेज आउनका लागि समस्या पर्ने भएकाले हाम्रा विद्यार्थीले सामान्य मोटरसाइकल भने चलाएका छन् । हामीले देखे पनि नदेखेजस्तो गर्नुपर्ने बाध्यता छ । त्यसैले, हामीले शतप्रतिशत कन्ट्रोल गर्न भने सकेका छैनौँ । यसमा अभिभावक, विद्यार्थीको साथ जरुरी छ ।

सम्बन्धित निकायले चासो दिएन
नारायण उपाध्याय, प्रिन्सिपल,
हेराल्ड इन्टरनेसनल कलेज
आचारसंहिता पालना गर्नुपर्छ भन्नेमा हामी सकारात्मक छौँ । जसले केही हदसम्म कमी
आएको छ । हामीले आचारसंहिता पालना गर्नका लागि धेरै पहल गरेका छौँ । तर, प्रभावकारी कार्यान्वयन गर्नमा हामी पनि चुकेका छौँ । आचारसंहिता पालना गर्ने कुरा कलेजले मात्र चाहेर गर्न सक्ने कुरा होइन । यसमा अभिभावक र सम्बन्धित निकाय पनि जिम्मेवार हुन जरुरी छ । तर, यसमा कुनै चासो नदेखाएको कारण यो अवस्था आएको हो ।

मोबाइल, मोटरसाइकल र छोटो स्कर्टमा प्रतिबन्ध लगाएका छौँ
भेषराज पोखरेल, उच्च शिक्षा निर्देशक,
टेक्सस इन्टरनेसनल कलेज
हाम्रो कलेजमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीलाई हामीले आचारसंहिता पालना गर्न, गराउन निकै पहल गरेका छौँ । मोबाइल, मोटरसाइकल र स्कर्ट हाम्रो कलेजमा प्रतिबन्ध नै लगाइएको छ । तर, कतिपय कलेजले अझै पनि आचारसंहिताको पालना नगरेको पाइन्छ । यसो हुनुमा नियमनकारी निकायको प्रभावकारी अनुगमन नहुनुले यो अवस्था आएको हो ।

विद्यार्थीको आफ्नै गुनासो आचारसंहिताले हामीलाई अन्याय गरेको छ
सन्देश गौतम, गोल्डेनगेट इन्टरनेसनल कलेज
उमाशिपले कक्षा ११ र १२ पढ्ने विद्यार्थीले मोबाइल, मोटरसाइकलजस्ता कुराको प्रयोग गर्न नपाइने भनेको छ । यसले कतिपय हामीजस्ता विद्यार्थीलाई अन्याय गरेको छ । किनभने, कतिपय विद्यार्थीको घर टाढा छ, जहाँ यातायातको व्यवस्था राम्रो छैन । त्यस्तो ठाउँबाट विद्यार्थी कसरी आउने त ? यसमा ध्यान पु¥याउन जरुरी छ । र, विद्यार्थीले पनि नियमानुसार साधनको सही सदुपयोग गर्न जान्नुपर्छ । साथै, मोबाइलको हकमा पनि अहिले यत्रो सूचनाप्रविधिको विकास भइसकेको छ । यस्तो अवस्थामा विद्यार्थीलाई मोबाइल बोक्नबाट वञ्चित गर्नु भनेको विद्यार्थीमाथि घोर अन्याय गरेको जस्तो लाग्छ ।

आचारसंहिताले हामीलाई अनुशासित बनाएको छ
एलिसा लामिछाने, ग्लोबल कलेज अफ म्यानेजमेन्ट
मेरो विचारमा प्रविधि खराब कहिल्यै हुँदैन । त्यसलाई कसले प्रयोग ग¥यो र कसरी प्रयोग ग¥यो भन्नेमा भरपर्छ । जस्तैः कलेजमा मोबाइल चलाउन नपाउने भन्ने छ, तर यसलाई विद्यार्थी साथीहरूले सही सदुपयोग गर्नुभयो भने यसबाट धेरै कुरा जान्न सकिन्छ । त्यसैले यो कुरामा विद्यार्थी स्वयंले पनि बुझ्न जरुरी छ । त्यस्तै, कक्षा ११ र १२ का विद्यार्थीले कलेज पोसाकमा मोटरसाइकल चलाउन नपाइने भन्ने छ । यो पनि निकै राम्रो कुरा हो । विद्यार्थी उमेर भनेको जोसिलो उमेर हो । यो उमेरमा अरूलाई कसरी उछिन्ने भन्ने ध्याउन्न हुने हुँदा साथीहरूले मोटरसाइकल तीव्र गतिमा चलाउँदा दुर्घटना हुने सम्भावना धेरै हुन्छ । हामीलाई कलेज प्रशासन एवं सम्बन्धित निकायले बनाएको आचारसंहिता पालना गर्दा आफू नै अनुशासनमा भइन्छ र आफूलाई नै राम्रो हुन्छ भने विद्यार्थीले पालना गर्न र गराउन अत्यन्तै जरुरी छ ।

आचारसंहिता कार्यान्वयन नभएको बारेमा सरोकारवाला निकायहरू यसो भन्छन्ः

कलेज प्रशासन र अभिभावक जिम्मेवार हुन जरुरी छ
रमेश सिलवाल, अध्यक्ष, हिसान
आचारसंहितालाई सही कार्यान्वयन गर्ने कुरामा पहिले त कलेज प्रशासन र अभिभावक स्वयं जिम्मेवार हुन जरुरी छ । यिनै पक्ष जिम्मेवार नहुँदा यस्तो समस्या आएको हो । त्यस्तै, अहिले आचारसंहिताको कार्यान्वयन भएको छ कि छैन ? भन्ने कुरामा कसले अनुगमन गर्ने भन्नेमा पनि अन्योलता छाएको छ । गत वर्ष तत्कालीन उमाशिपको नेतृत्वमा हामीले पनि वर्षमा दुईपटक अनुगमन गरेका थियौँ । जसले गर्दा धेरैजसो कलेजले कार्यान्वयन गरेको पाइएको थियो । तर, अहिले उमाशिप खारेज भएर राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएको हुँदा अनुगमनको कुरा मात्र नभएर कक्षा ११ र १२ को सम्बन्धन कसले दिने, पाठ्यक्रम कसले बनाउने भन्ने कुरा अन्योल छ । त्यसैले गर्दा पनि कलेजहरूले यसलाई बेवास्ता गरेको हुन सक्छ । साथै हामीले बनाएको आचारसंहिता र नेपालको संविधानमा केही कुरा बाझिएकाले पनि यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न समस्या भएको हो । त्यसैले यी सबै अन्योलतालाई प्रस्ट पार्दै गल्तीकमजोरीलाई पनि मूल्यांकन गरेर यसको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सबै सकारात्मक हुन जरुरी छ ।

सम्बन्धित निकाय निष्क्रिय हुँदा कार्यान्वयन हुन सकेन
केशव पुरी, अध्यक्ष, अभिभावक संघ
कक्षा ११ र १२ मा अध्ययन गराउने कलेज र गर्ने विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को संयोजनमा शिक्षा मन्त्रालयले शिक्षा विभागलाई आचारसंहिता अक्षरशः कार्यान्वयन गराउनका लागि निर्देशन गरेको थियो । सो निर्देशनपश्चात् कलेजहरूले आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएका थिए । तर, केही कलेजले त्यसको पालना गरे तापनि पछिल्लो समयमा अधिकांश कलेजले त्यसको ठाडो उल्लंघन गरेको पाइन्छ । यो आचारसंहिता बनाउनका लागि हामी अभिभावकले पनि विशेष जोड गरेका छौँ । कलेजमा सो आचारसंहिता पालना गर्दा विद्यार्थी घट्ने डरले कलेजहरूले पालना नगरेका हुन् । अचारसंहिता बनाउने क्रममा पनि हामी सक्रिय भएर लागेका थियौँ । यसलाई कार्यान्वयन गराउन हाम्रा पनि केही कमीकमजोरी छन्, तर हामी चुप बसेका भने छैनौँ । आचारसंहिताको पूर्ण रूपमा पालना भएको छ या छैन भनेर अनुगमन गर्ने जिम्मा शिक्षा मन्त्रालय र शिक्षा विभागको हो । यसमा हाम्रो कुनै अधिकार छैन । तर, तिनै सम्बन्धित निकाय नै मौन हुनाले यो समस्या आएको हो । हामी त अहिले पनि आचारसंहिता पूर्ण रूपमा पालना हुनुपर्छ भन्ने पक्षमा छौँ । पालना गर्न गराउन हामी जस्तोसुुकै काम गर्न तयार छौँ, तर सम्बन्धित निकाय सक्रिय हुनुपर्छ ।

आचारसंहितामा केही परिमार्जन हुन जरुरी छ
डा. हरि लम्साल, प्रवक्ता, शिक्षा मन्त्रालय
तत्कालीन उमाशिपले बनाएको आचारसंहिता र शिक्षा नियमावलीमा भएको आचारसंहितामा फरक छ । उमाशिपले बनाएको आचारसंहितामा जरिवानाको कुरा पनि राखिएको छ । तर, आचारसंहितामा के गर्न हुने, के गर्न नहुने भन्ने कुरा आउनुपर्ने हो । जसले गर्दा जुन आचारसंहिता अक्षरशः कार्यान्वयन गर्न गाह्रो भएको हो । साथै, शिक्षा मन्त्रालय, शिक्षा विभाग र सम्बन्धित निकायबाट जति अनुगमन हुनुपर्ने हो त्यति नभएर पनि कार्यान्वयनको पाटो फितलो भएको देखिन्छ । त्यसैले यसबाट शिक्षा मन्त्रालय उम्कन मिल्दैन । विगतमा मन्त्रालयले निर्णय गरेकाले नियमावलीसँग मेल खानेगरी अब थप छलफल गरेर समयानुकूल परिमार्जन गरेर प्रभावकारी कार्यान्वयनमा ल्याइनेछ ।

आचारसंहिता पालना गर्ने कुरालाई चुस्त बनाउने योजना बनाएको छु
बाबुराम पौडेल, महानिर्देशक, शिक्षा विभाग
आचारसंहिता कार्यान्वयन गर्ने, गराउने कुरामा म सक्रिय भएर लागेको छु । यस विषयमा शिक्षा मन्त्रालयले पनि पहिलो निर्देशन शिक्षा विभागलाई नै गरेको हुनाले हामी यसमा सकारात्मक छौँ । अघिल्ला वर्षमा कार्यान्वयन गराउन कस्ता जटिलता आए, के कारण कार्यान्वयन भएन भन्ने समीक्षा गरेर शिक्षा विभाग अघि बढ्नेछ । साथै आचारसंहिताको पालना गर्ने­ गराउने कुरामा शिक्षा विभाग मात्र लागेर हुँदैन । यसका संयन्त्रहरू जस्तै जिशिका, क्षेशिनि, स्रोतकेन्द्रलगायतका निकाय सक्रिय हुन जरुरी छ । त्यसैले यी निकायलाई पनि सक्रिय बनाएर अघि बढ्ने योजना विभागले बनाएको छ । साथै, आचारसंहिता बनाउने वेलामा को–को हुनुहुन्थ्यो उहाँहरूसँग पनि एक चरण छलफल गरी तत्काल कार्यान्वयनका लागि शिक्षा विभाग अघि बढ्नेछ ।
गज्जब साप्ताहिकमा महेश तिमल्सिनाले लेखेको खबर ।

प्रतिक्रिया