Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

फेरियो विद्यालय

शुक्रबार, २९ बैशाख २०७४

काठमाडौं २९ बैशाख/पाँच कक्षासम्म एउटै विद्यार्थी भर्ना भएनन् । जिल्ला शिक्षा कार्यालयले विद्यालयमा कार्यरत दुई शिक्षकलाई अन्यत्र सरुवा गरेर नजिकैको विष्णुपादुका माविमा मर्ज (समायोजन) गर्‍यो । त्यही विद्यालय अहिले नमुनामा दरिएको छ ।
पोखरा–लेखनाथ २५ याम्दीको बालकल्याण आधारभूत विद्यालय नमुना बनेको हो । विद्यार्थी अभावमा बन्द विद्यालय फेरि सञ्चालनमा आएको छ । विद्यार्थी भर्ना पनि उल्लेख्य मात्रामा बढेको छ । यस वर्ष ८३ विद्यार्थी भर्ना भए । घरनजिकैको स्कुल बन्द भएपछि मर्माहत अभिभावक जुर्मुराएसँगै रूप फेरिएको हो । ८ कक्षासम्मको अनुमति भए पनि अहिले बालविकास केन्द्रदेखि तीन कक्षासम्म पढाइ हुन्छ । ‘शिक्षक–अभिभावकको चाहना भएपछि विद्यालय परिवर्तन हुन समय नलाग्दो रहेछ,’ शिक्षक श्रीराम त्रिपाठीले भने, ‘विद्यार्थी संख्या बढेसँगै हामीमा उत्साह थपिएको छ । पढाउने जाँगर पनि चलेको छ ।’
शिक्षा कार्यालयले औपचारिक रूपमा शैक्षिक सत्र २०७१ देखि नै स्कुल बन्द गरेको हो । त्यसपछि २०७२ सालमा पनि बन्द रह्यो । २०७३ मा आएर विद्यालयलाई ब्युँताइयो । शिक्षा कार्यालयले पनि २ शिक्षक दरबन्दी दियो । सबैको साथ र सहयोग मिलेपछि स्कुलको स्वरूप फेरिएको प्रधानाध्यापक रोहिन्द्रप्रसाद पौडेलले बताए । ‘अंग्रेजी माध्यम शिक्षक–अभिभावकको मेहनतको परिणाम हो,’ उनले भने, ‘पर्याप्त शैक्षिक सामग्री, भौतिक पूर्वाधारले पनि विद्यार्थी आकर्षित गर्न सफल भएका छौं ।’
पहिलो वर्ष नै २ कक्षासम्म ६८ विद्यार्थी भर्ना भएका थिए । अहिले १५ थपिएका छन् । अझै केही विद्यार्थी आउने अपेक्षा विद्यालयको छ । बालविकास केन्द्रमा २३, यूकेजीमा १९, एक र दुई कक्षामा १६/१६ र तीन कक्षामा ९ विद्यार्थी छन् । बालविकास केन्द्रलाई असल छिमेकी सहयोग संघ (गोनेसा) ले सहयोग गरेको छ । सबै विद्यार्थीलाई स्कुलमै दिवा खाजा खुवाइन्छ । खाजाका लागि बालविकास केन्द्रबाहेक अरू कक्षाका विद्यार्थीबाट जनही १० रुपैयाँ दैनिक संकलन गरिन्छ । दुई/दुई कोठे दुईवटा भवन बनेका छन् । खेल मैदान पनि प्रशस्त छ । कक्षाकोठा व्यवस्थित छन् ।
दुई शिक्षक दरबन्दीका छन् । एक शिक्षक र कार्यालय सहयोगी विद्यालयले निजी स्रोतमा राखेको छ । कार्यालय सहयोगीले पनि पढाउँछिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फिरोज साईले बन्द स्कुल पुन: सञ्चालन गरी यति धेरै विद्यार्थी भर्ना गर्न सकिएकोमा खुसी व्यक्त गरे । ‘सरकारी निकाय र स्थानीयको सहयोगले यस्तो अवस्थामा आएका हौं,’ उनले भने, ‘विद्यालयलाई नमुना बनाउने योजना छ । सबै पक्षबाट सहयोग निरन्तर आवश्यक छ ।’ समुदायकै पहलमा स्कुल ब्युँतिएको उनले बताए ।
विद्यालय सात रोपनी क्षेत्रफलमा फैलिएको छ तर सेती नदीमा अव्यवस्थित रूपमा गिटी, ढुंगा र बालुवा निकाल्दा बर्सेनि स्कुलको जग्गा कटानमा परेको छ । यसलाई रोक्न जिल्ला समन्वय समिति तथा अन्य निकायले सहयोग गर्नुपर्ने विद्यालयले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले विद्यार्थी अभावमा बन्द स्कुल पुन: सञ्चालन हुनु सुखद भएको बताए । ‘कास्कीमा विद्यालय मर्जको अवस्थामा पुगेका बेला उक्त स्कुलले पुनर्जीवन पाएको छ,’ उनले भने, ‘अभिभावक र शिक्षकले अपनत्व लिएमा नहुने केही छैन ।’ कास्कीमा गत वर्षसम्म ५ वर्षको अवधिमा ४२ विद्यालय बन्द भएका थिए । त्यसमध्ये बालकल्याण ब्युँतिएको हो ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया