काठमाडौं ३१ बैशाख/तानसेनको एक निजी विद्यालयमा पढेकी समीक्षा रोका जनता नमुना माविमा भर्ना हुन आएकी छन् । कक्षा ८ सम्म निजीमा पढेकी उनलाई अंग्रेजी माध्यमबाट सरकारी विद्यालयमै पढ्न पाउने भएपछि यहाँ भर्ना हुन आएकी हुन् । निजी विद्यालयमा अध्ययन गर्ने तानसेनकै असिम पन्थी, शिशिर पन्त, मनिष अर्याल, कल्याण न्यौपाने पनि निजी छाडेर सरकारीमा भर्ना भएका छन् । अंग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने भएपछि उनीहरू सरकारीमा पढ्न लागेका यी केही उदाहरण मात्र हुन् । जिल्लाको केही सरकारी विद्यालयमा बोर्डिङको पढाइ छाडेर भर्ना हुन आउनेको हरेक वर्ष संख्या बढदो छ । तानसेनको जनता नमुना माविबाहेक कसेनीको दिव्यज्योति मावि, मदनपोखराको दमकडा मावि, रामपुरको रामतुल्सी मावि, रामपुरकै दरैठाँटी र गंगा मावि उदाहरणीय बन्दै गएका छन् । रामपुरको बेझाडस्थित रामतुल्सी माविमा १ हजार ६ सय विद्यार्थी पुगेका छन् । बोर्डिङ् नै नभएको समयमा ४ सय विद्यार्थी भएको यस विद्यालयमा अहिले ह्वात्तै बढेको हो । ‘हाम्रो विद्यालयको नजिकमा ३/४ वटा बोर्डिङ् छन्,’ विद्यालयका प्रअ बालकृष्ण लम्सालले भने, ‘प्रत्येक वर्ष १ सय ५० जना नयाँ विद्यार्थी बढेका छन् ।’ यहाँ हरेक वर्ष ५० जना बोर्डिङ् छाडेर भर्ना हुन आउने उनले बताए । लेकको बस्तीबाट बसाइसराइ साथै बोर्डिङ छाडेर यहाँ आउछन् । अंग्रेजी माध्यममा नर्सरीदेखि ९ कक्षासम्म पढाइ हुन्छ । ‘विद्यालयलाई विश्वास गरेर पढ्न आउने हुन्,’ उनले भने । एसईई पासपछि कृषि विज्ञान पढाइ हुन्छ । यस्तै ११ र १२ मा विज्ञान विषयको यहाँ पढाइ भइरहेको छ । तानसेनको जनता नमुना माविमा पनि १ हजार ८ सय विद्यार्थी छन् । नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । हरेक वर्ष ३ सय बढी निजी तथा अन्य सरकारी विद्यालय छाडेर यहाँ भर्ना हुन आउने गर्छन् । ‘अहिलेसम्म विद्यार्थी र अभिभावकले माया गरेको विद्यालय हो,’ विद्यालयका प्रअ मेघराज पौडेलले भने, ‘निजी छाडेर आउनेको संख्या सय भन्दा बढी नै हुन्छ ।’ तानसेनमा नाम चलेका निजी विद्यालय छाडेर कक्षा, ८ र ९ मा भर्ना हुन आउने गर्छन् । ‘नेपाली र अंग्रेजी दुबै माध्यममा पढाइ हुन्छ,’ उनले भने । रामपुरको दरैठाँटी माविमा १ हजार विद्यार्थी छन् । कक्षा १० सम्म ७ सय ४० जना छन् । बाँकी ११ र १२ का विद्यार्थी हुन् । तीन वर्ष अघिसम्म ४ सय विद्यार्थी भएकामा अहिले यहाँ विद्यार्थी संख्या बढेको छ । नजिकका बोर्डिङ् छाडेर यहाँ भर्ना हुन आउने हरेक वर्ष ५० जना हुन्छन् । यस वर्ष पनि ४५ जना निजी छाडेर भर्ना भइसकेका छन् । कतिपय विद्यार्थी अझै भर्ना हुन बाँकी छन् । ‘विद्यार्थीले पढाइ राम्रो देख्यो र अभिभावकले विश्वास गर्यो भने हुँदो रहेछ,’ विद्यालयका प्रअ सुन्दरप्रसाद देवकोटाले भने, ‘विद्यार्थी, अभिभावक र शिक्षकको सहयोगले विद्यालय सुध्रियो र विद्यार्थी संख्या पनि बढेको छ ।’ पछिल्लो एसईइको नतिजाले पनि विद्यालयमा भर्ना हुन आउने विद्यार्थी संख्या बढेको उनले बताए । कसेनीस्थित दिव्यज्योति माविमा यसवर्ष २ सय ४ जना नयाँ विद्यार्थी भर्ना हुन आए । विद्यालयका प्रअ नारायणप्रसाद अधिकारीका अनुसार अझै केही विद्यार्थी भर्ना हुन आउन बाँकी छन् । यस वर्ष नर्सरीमा अंग्रेजी संचालन गर्दा फरक देखिएको छ । गतवर्ष १० जना भएको बालकक्षामा यसवर्ष ३० जना आएका छन् । ‘यसवर्ष नर्सरीमा अंग्रेजी माध्यम चलाउँदा भर्ना हुन आउनेको संख्या पनि धेरै भयो,’ उनले भने, ‘अर्को वर्ष कक्षा बढाउँदै लग्न पर्ने अवस्था छ ।’ यहाँ १ हजार ५० विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले निजी विद्यालयमा चर्को शुल्क वृद्धिले अभिभावकको ढाड सेकिएपछि सरकारी विद्यालयमा भर्ना गर्न ल्याएको बताए । ‘पढाइको गुणस्तर वृद्धि गर्नलाई हामी तत्पर छौं,’ उनले भने, ‘त्यसैले विद्यार्थी संख्या पनि बढेको छ ।’ सरकारी विद्यालयमा आकर्षण गर्नलाई पढाइको गुणस्तर बढाउनुपर्छ भन्ने बुझेको उनले बताए । रामपुरको गंगा माविमा ७ सय विद्यार्थी छन् । नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी सुरु गरेपछि निजी विद्यालयबाटसमेत आकर्षण बढेको छ । ५ वर्षअघिसम्म ३ सय विद्यार्थी थिए । विद्यालयले नतिजामा सुधार गरेकाले नै विद्यार्थीको आकर्षण भएको विद्यालयका प्रअ देवराज देवकोटाले बताए । विद्यार्थी र अभिभावकले विद्यालयलाई पत्याएकाले नै अहिले संख्या पनि बढेको उनले बताए । ‘शैक्षिक वातावरण राम्रो गराउदै लगेका छौं,’ उनले भने, ‘त्यसमाथि सबै विद्यार्थी र अभिभावको विश्वास पनि जित्न सक्नुपर्ने रहेछ ।’ आगामी शैक्षिक वर्षदेखि पशु विज्ञान चलाउने योजना रहेको उनले बताए । पश्चिममा भने थोरै विद्यार्थी भएपनि प्रभात माविको नतिजा हरेक वर्ष राम्रो छ । यहाँबाट सतप्रतिशत विद्यार्थी पास हुने गरेका छन् । ‘हाम्रो विद्यालयको कार्य क्षेत्र थोरै भएपनि पढाइ गुणस्तरीय छ,’ विद्यालयका प्रअ रमेश भट्टराईले दाबी गरे, ‘त्यसैले सबैले विश्वास गरेको अवस्था छ ।’ जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदीले सरकारी विद्यालयको पनि गुणस्तर बढै गएको बताए । उनका अनुसार रामपुरका केही विद्यालय, कसेनी, तानसेनको जनता र पश्चिमको प्रभातको नतिजा राम्रो भएको बताए । ‘शिक्षक, विद्यार्थी, अभिभावकको सम्बन्ध राम्रो भयो भने पढाइको गुणस्तर पनि सुध्रिन्छ भन्ने देखिएको छ,’ उनले भने । कान्तिपुरमा माधव अर्यालले पाल्पाबाट लेखेको खबर ।
प्रतिक्रिया