Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

विद्यालय पुग्दै थाक्छन् विद्यार्थी

आइतबार, ३१ बैशाख २०७४

काठमाडौं ३१ बैशाख/प्यूठान नगरपालिका ५, जुम्रीकाँढा चान्जाका बलबहादुर घर्ती सिद्ध मावि जुम्रीकाँढा कक्षा ५ मा पढ्छन् । भर्खर ११ वर्षमा लागेका उनलाई विद्यालय पुग्न दुई घण्टा लाग्छ । अप्ठ्यारो जंगलको बाटो विद्यालय पुग्दा नै थकाइ लागेर पढ्न जाँगर नलाग्ने बताए । जंगलको बाटो हुँदै विद्यालय जान र फर्कन निकै समस्या हुने घर्ती बताउँछन् ।
उनी मात्र होइन, गाउँमा विद्यालय नहुँदा प्रावि तह अध्ययनकै लागि चान्जाका सबै बालबालिकालाई जुम्रीकाँढा ठूलोगाउँ पुग्नुपर्छ । विद्यालय जान आउन समस्याले धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको स्थानीय अगुवाहरू बताउँछन् ।
 गाउँको बाल विकास केन्द्रमा पढाइ सक्काएर ठूलोगाउँको विद्यालयमा पढ्न थालेको तीन वर्ष भएको कक्षा ६ मा अध्ययनरत छात्र डोटे घर्तीले बताए । ‘बिहान ७ बजे खाना खाएर स्कुल हिँड्छौं,’ घर्तीले भने, ‘जंगलको बाटो डराउँदै स्कुल पुग्छौं ।’ हिजोआजको दिन लामो भएकाले बेलुका घरमा फर्कंदा उज्यालै भए पनि पुस(माघको दिनमा झमक्कै रात पर्ने घर्तीले बताए ।
 गाउँमा पढ्ने उमेरका धेरै बालबालिका भए पनि चार जनाले मात्र प्रावि तह अध्ययनका लागि भर्ना भएको घर्तीले बताए । उनका अनुसार बलबहादुर र उनीबाहेक हुमा घर्ती कक्षा ५ र मसान्ते खडका कक्षा ५ मा जुम्रीकाँढा ठूलोगाउँको माविमा भर्ना भएका छन् ।
 साना छोरा/छोरीलाई जंगलको बाटो विद्यालय पठाउनुपर्दा सधैं चिन्ता लागिरहने स्थानीय किमबहादुर घर्तीले बताए । ‘बेलुका घरमा फर्केपछि मात्र मन ढुक्क हुन्छ । खडकाले भने, ‘कतै भीरमा लड्ने, जंगली जनावरको आक्रमणमा पर्ने डर लाग्छ ।’
गाउँमै विद्यालय नहुँदा धेरै विद्यार्थीले पढाइ छाड्ने गरेको चान्जा बाल विकास केन्द्रका अध्यक्ष टेकबहादुर खडकाले बताए । ‘जेनतेन बाल विकास केन्द्र खोलेका छौं,’ खडकाले भने, ‘त्यसभन्दा माथि पढ्न जुम्रीकाँढा पुग्नुपर्छ । धेरैले पढदापढदै विद्यालय छाड्छन् ।’ उनले यस वर्ष बाल विकास केन्द्रमा ४० जना विद्यार्थी भर्ना भएको बताए । गाउँलेले चन्दा उठाएर एक जना निजी स्रोतबाट शिक्षक राखेर बाल विकास कक्षामै तीनसम्मको पढाइ सञ्चालन गरेको खडकाले बताए । ‘चार कक्षामा पढ्ने विद्यार्थी निकै साना हुन्छन्,’ खडकाले भने, ‘दुई/तीन घण्टा हिँडेर आउजाउ गर्न समस्या छ ।’
प्यूठान नगरपालिकाको सबैभन्दा दुर्गम चान्जाबाट जुम्रीकाँढाको ठूलोगाउँ पुग्न रोल्पा र प्यूठानको सिमानाको लिस्ने लेक पार गर्नुपर्छ । जंगलको बाटो भएर विद्यालय पुग्न साना केटाकेटीलाई समस्या हुने बाल विकास केन्द्रका शिक्षक वसन्त भुसालले बताए । ‘धेरैलाई कक्षा दोहोर्‍याएर पढाउने गरेको छु,’ खडकाले भने, ‘हिँड्न सक्ने मात्र ठूलोगाउँ जान्छन् ।’
 जुम्रीकाँढा चान्जाका बालबालिकालाई प्रावि अध्ययनका लागि समस्या रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दुर्गाबहादुर खडकाले बताए । उनले यस वर्ष चान्जाको बाल विकास केन्द्रलाई सामुदायिक सिकाइ केन्द्रका लागि आएको केही रकम सहयोग गरेको बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया