Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

डा. केसी अनशन बस्न दाङ

आइतबार, १४ जेठ २०७४

काठमाडौं १४ जेठ/त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका प्राध्यापक डा. गोविन्द केसी अनशन बस्न शनिबार घोराही आइपुगेका छन् । शनिबारै देखि अनशन बस्ने गरी आएका उनी आइतबार दुई बजेसम्म पर्खने भएका छन् ।
स्वास्थ्यमन्त्री गगन थापाले फोन गरी मागहरू सम्बोधन हुने आश्वासन दिएपछि डा. केसी दुई बजेसम्म पर्खन तयार भएका हुन् ।फेरि पनि माग सम्बोधन नभए घोराहीस्थित सिरडी सत्य साई मन्दिरको प्रांगणमा अनशन बस्ने तयारी गरेको उनले जानकारी दिए । डा. केसीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनशन बस्ने मनसाय राखे पनि उपयुक्त ठाउँ र चर्पीको समस्याले साई मन्दिरमा बस्ने व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. जनार्दन पन्थीले बताए । पन्थीले त्यसो भने पनि विभिन्न बहाना गरेर अस्पतालमा अनशन बस्न नदिने षड्यन्त्र भएको अस्पताल स्रोतले बताएको छ । १० वटा अनशन काठमाडौंमै बसेका डा. केसीले राजधानी बाहिरको स्वास्थ्य सेवालाई महत्त्व दिन दाङ आएको बताए । ‘म ७५ वटै जिल्ला पुगेको छु । राजधानी बाहिरको स्वास्थ्य सेवा दयनीय छ । दुई तिहाइ नेपाली आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्,’ उनले भने, ‘ग्रामीण क्षेत्रको स्वास्थ्य समस्यालाई प्रतिनिधिमूलक रूपले उठाउन दाङ आएको हुँ । दाङबाटै प्रदेश स्तरको मेडिकल कलेज सुरुवात गर्ने भनेको दुई वर्ष बितिसक्यो तर अहिलेसम्म केही काम भएको छैन । मेडिकल कलेजको शिलान्यास नभएसम्म अनशन जारी रहन्छ ।’
सरकारले यसअघि घोषणा गरे अनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाएर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने लगायतका माग राखी केसी घोराहीमा अनशन बस्न लागेका हुन् । सरकारले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने र त्यसको सुरुवात दाङबाट गर्ने निर्णय गरी यसअघि सम्झौता पनि भइसकेकाले उक्त कुरा सम्झाउन अनशन बस्न लागेको उनले बताए ।
स्वास्थ्य सेवा नाफामुखी नभएर सेवामुखी हुनुपर्नेमा नेपालमा त्यस्तो नभएको उनले गुनासो गरे । ‘नेपालमा नेताहरू नै स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेका छन्,’ उनले भने ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया