काठमाडौं १४ जेठ/नेपालमा विशेष शिक्षा प्रवद्र्धनका निम्ति दक्षिण कोरियाली सरकारले थप सहयोग र सहकार्यको निम्ति प्रतिबद्धता जनाएको छ । छाङवन नेसनल युनिभर्सिटीको निमन्त्रणामा आएको त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको टोलीसित कोरिया सरकारका प्रतिनिधिले उक्त प्रतिबद्धता जनाएका हुन् ।
छाङवन युनिभर्सिटीअन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट इन्टनेसनल कोअपरेसन (लुपिक) ले त्रिविसित सन् २०१४ देखि विशेष शिक्षामा सहकार्य गर्दै आएको छ । कोरियाली शिक्षा मन्त्रालयका इन्टरनेसनल कोअपरेसन ब्युरोका महानिर्देशक योनघाम चोइसित भएको औपचारिक भेट तथा छलफलबाट थप सहयोगको प्रतिबद्धता पाएको नेपाली टोलीको नेतृत्व गरेका त्रिवि उपकुलपति तीर्थराज खनियाँले बताए ।
विभिन्न प्रकारका अपांगता भएका बालबालिकाको शिक्षाका निम्ति कोरियाले सहयोग गर्दै आएको छ । ‘विशेष शिक्षामा कोरियाले गरेको विकासलाई हामी सबैले प्रशंसा गर्नैपर्छ,’ उपकुलपति खनियाँले कान्तिपुरसित भने, ‘शारीरिक, मानसिकजस्ता कुनै न कुनै प्रकारले ठगिएका मानिसलाई विशेष शिक्षामार्फत पूर्णजीवन जिउन यहाँको प्रगतिले सघाउ पुगेको देखिन्छ । त्यस अर्थमा दक्षिण कोरियासित सहकार्य गरी नेपालका अपांगता भएका बालबालिका र नागरिकलाई शिक्षा दिनु उपयुक्त छ । त्यसनिम्ति कोरिया सरकारबाट सहयोगको संकेत पाइएको छ ।’ त्रिविमा विशेष शिक्षालाई प्राज्ञिक कार्य अगाडि बढाउन छाङवन युनिभर्सिटीसित सहकार्य भइरहेको छ । भ्रमणका क्रममा कोरियाकै उत्कृष्ट देगु युनिभर्सिटीसँग सहकार्य गरी नेपाललाई विशेष शिक्षाको क्षेत्रीय रूपमा महत्त्वपूर्ण केन्द्रको रूपमा अगाडि बढाउने सोच बढेको समेत खनियाँले जनाए ।
नेपाली टोलीले छाङओन नेसनल युनिभर्सिटीका प्रेसिडेन्ट चोई हायबेअमसँग भेट गरी सुचारु रहेको लुपिक प्रोजेक्टको मूल्यांकन समीक्षा गरेको थियो । ‘प्रोजेक्टले त्रिविलाई चाहिने जनशक्ति उत्पादन गर्नमा ठूलो योगदान पुगेको छ । ६ जना पीएचडी गर्दै छन् । प्रेसिडेन्टले नेपालको विशेष शिक्षा नीति र गुरुयोजना चाँडै आउनुपर्छ भनेका छन् । विशेष शिक्षालाई संस्थागत रूपमा अघि बढाइनुपर्छ भन्ने छ । यो आधारमा त्रिविले संस्थागत विकास गर्नेछ । छुट्टै विभाग गठन गरिनेछ,’ खनियाँले भने । उनले दक्षिण कोरियामै विशेष शिक्षामा योगदान दिँदै आएको पहिलो देगु युनिभर्सिटीका प्रेसिडेन्ट डुकरयल होङले त्रिविसित सम्झौता (एमओयू) गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको र औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।
भ्रमण टोलीमा संलग्न त्रिवि शिक्षाशास्त्र संकाय डिन प्राध्यापक कृष्णप्रसाद गौतमका अनुसार लुपिकको सहयोगमा विशेष आवश्यकता शिक्षा दुईवर्षे एमएड पाठ्यक्रम निर्माण भएको छ । चारवर्षे बीएडको निम्ति पूरै लगानी गरेको छ । शिक्षक तयारीका निम्ति कोरियामा ७ जना नेपाली छात्रवृत्तिमा एमएड र पीएचडी अध्ययनरत छन् । त्यसैगरी छोटो अवधिको शिक्षक तालिम तथा कम्प्युटर शिक्षा सञ्चालन गरिँदै आएको छ । विशेष आवश्यकता शिक्षाको गुरुयोजना निर्माण र दूरशिक्षा शिक्षणको व्यवस्थापनामा पनि कोरियाले सहयोग गरेको छ ।
पाठ्यक्रम पाठ्यसामग्री निर्माण, कीर्तिपुर केन्द्रीय विभागमा स्नातकोत्तर तह सुचारु छ । सानोठिमी क्याम्पसमा स्नातक तहमा विशेष आवश्यकता शिक्षाको विकास तथा पठनपाठन भइरहेको क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जनाएका छन् ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा मन्त्रालयको नेतृत्वमा तयार हुँदै गरेको विशेष शिक्षासम्बन्धी गुरुयोजना (मास्टर प्लान) को सही कार्यान्वयनका दिशामा यो भ्रमण कोसेढुंगा सावित हुन सक्ने बताए । विशेष शिक्षालाई संस्थागत रूपमा व्यवस्थापन गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन भइरहेको उल्लेख गर्दै उनले भने, ‘यसको दिगोपनका लागि मन्त्रालय र विभागले थप कदम अघि बढाउनेछ । सहयोग गर्दै आएको छाङवन युनिभर्सिटी छ । अब देगु युनिभर्सिटीले विशेष शिक्षा प्रवद्र्धनको लागि कोइकामार्फत छुट्टै केन्द्र स्थापना गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यसनिम्ति चाँडै विभागले प्रस्ताव अघि बढाउनेछ ।’ लुपिक परियोजना प्रमुख प्राध्यापक दायङ जङले विशेष शिक्षाको निम्ति हार्डवेयर र सफ्टवेयर दुवै पक्षको विकासमा सहयोगी रहने प्रतिबद्धता जनाए ।
कान्तिपुरमा गणेश राईले लेखेको खबर ।
प्रतिक्रिया